काठमाडौं । चल्ला उत्पादक कम्पनीहरुले केही साता अघि करिब ४० लाख चल्ला नष्ट गरे । त्यसले गर्दा अहिले बजारमा ब्रोइलर कुखुराको अभाव भएको छ, परिणाम मासुको मूल्य ह्वात्तै बढेको छ ।
ह्याचरी उद्योगीले गरको आन्दोलनलगत्तै बजारमा ब्रोइलरको मासुको मूल्य आकासिएको हो । बजारमा ब्रोइलर कुखुरा पर्याप्त नरहेको राष्ट्रिय कुखुरा व्यवसायी संघको भनाइ छ।
मागअनुसार आपूर्ति कम भएको जनाउँदै व्यवसायीले एक सातामै ब्रोइलर कुखुराको मासुमा प्रतिकिलो ३५ रुपैयाँ मूल्य वृद्धि गरेका छन् । यस्तै, नेपाल अण्डा उत्पादक संघले पनि अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँ बढाएको छ ।
ह्याचरी उद्यमीको राष्ट्रिय भेलाले पोल्ट्रीले सेटर मेसिनमा सेट गरिएका ह्याचिङ अण्डा मंसिर २९ देखि पुस ६ गतेसम्म नष्ट गर्ने निर्णय गरेको थियो ।
मंसिर २९ देखि पुस ८ गतेसम्म कुनै पनि ह्याचरीबाट उत्पादित ब्रोइलर चल्ला, क्रोइलर चल्ला बिक्री वितरण तथा ओसारपसार बन्द गर्ने निर्णय गरेका थिए । यसो गर्नु उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत भए पनि सरकारलाई चुनौती दिँदै उनीहरूले उत्पादन बन्द गरेका थिए । त्यसलगत्तै बजारमा कुखुराको मासु महँगिएको हो ।
चार दिनअघि ब्रोइलर कुखुराको मासुको मूल्य प्रतिकिलो २५० रहेकोमा बजारमा प्रतिकिलो २६० रुपैयाँमा बिक्री भएको थियो ।
आन्दोलनलगत्तै संघले प्रतिकिलो २७० रुपैयाँ निर्धारण गरेको थियो। बजारमा भने २८० रुपैयाँमा बिक्री भएको थियो। संघले अहिले पुनः प्रतिकिलो १५ रुपैयाँ बढाउने निर्णय गरेको छ ।