काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि सुरक्षा व्यवस्था चुस्त बनाउन सरकारलाई निर्देशन दिएको छ ।
बुधबार आयोगले गृह मन्त्रालयलाई चार बुँदे निर्देशन दिँदै प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन भनेको छ ।
यस्तै, प्रमुख जिल्ला अधिकारीसहित सम्पूर्ण सुरक्षा निकायका प्रमुखहरूको पदास्थापना गरी विवरण पठाउन पनि आयोगले निर्देशन दिएको छ ।
आयोगले आगामी भदौ २० गतेसम्म स्वीकृत दरबन्दी बमोजिम प्रमुख जिल्ला अधिकारी लगायत सम्पूर्ण सुरक्षा निकायका प्रमुखहरूको पदस्थापना गरीे आगामी भदौ २५ गते भित्र आयोगमा विवरण उपलब्ध गराउन गृह सचिवलाई निर्देशन दिएको छ।
आयोगको निर्देशनसँगै सबै सुरक्षा निकायको चुनाव केन्द्रित सुरक्षा योजना बनाएर गृह मन्त्रालयले आयोगलाई जानकारी गराउनुपर्ने छ ।
आयोगको ४ बुँदे निर्देशनमा भनिएको छ,
१. निर्वाचन आयोग ऐन, २०७३ को दफा ४ बमोजिमको सुरक्षा योजना तयार गरी आयोगमा उपलब्ध गराउने।
२. मिति २०६४ सालदेखि २०७९ साल वैशाख ३० गतेसम्म सम्पन्न विभिन्न निर्वाचनबाट उपलब्ध तथ्य, तथ्यांक समेतका आधारमा मतदान कार्यमा विभिन्न खालका अवरोध सृजना भएका अति संवेदनशील तथा संवेदनशील मतदान स्थल तथा मतदान केन्द्रहरूको तथ्यगत विवरण तयार गरी सोही अनुसारको सुरक्षा योजनाको प्रबन्ध गरी कुनै पनि मतदान केन्द्रमा मतदान कार्यमा अवरोध नहुने अवस्थाको सुनिश्चितता हुने गरी विस्तृत सुरक्षा योजना तयार गरी तदनुसार सुरक्षाकर्मी खटनपटनको प्रभावकारी व्यवस्था मिलाउने।
३. विशेष कारणबस कुनै पनि मतदान केन्द्रमा मतदान कार्यमा अवरोध हुने वा गर्ने स्थिति सिर्जना हुन गएमा निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ५० बमोजिम आवश्यक कारबाही हुने व्यहोराको जानकारी सबै सुरक्षा निकायलाई अग्रिम रूपमा दिने।
४. सुरक्षा व्यवस्थापनमा सुरक्षाकर्मी कम हुने अवस्था भएमा सुरक्षाको थप व्यवस्थाको लागि सेवा निवृत्त तालिम प्राप्त नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी वल नेपाल, राष्ट्रिय सेवादल र स्थानीय तहका नगर प्रहरी तथा स्थानीय तह निर्वाचन, २०७९ मा भर्ना गरिएका तालिम प्राप्त जनशक्तिलाई निजहरू सेवा निवृत्त हुँदाका तत्तत् पद अनुसार नियुक्ति दिई परिचालन गरी निर्वाचन सुरक्षा व्यवस्था मिलाउने ।