काठमाडौं । अमेरिकी सेनाको १६ सदस्यीय टुकडी नेपाल आएको छ । सोमबार क्याप्टेन ब्याक डुकेटलको कमाण्डमा आवश्यक सैन्य सामग्रीसहित अमेरिकी सेना नेपाल आइपुगेको नेपाली सेनाले जनाएको छ।
नेपाली सेनासँगको एक महिना लामो संयुक्त तालिमका लागि अमेरिकी सेना नेपाल आएको हो । नेपाली सेना र अमेरिकी सेनाबीच यही साउन ३१ देखि भदौ ३१ गतेसम्म तालिन सञ्चालन हुने जंगी अड्डाले जनाएको छ ।
विसं २०६० सालदेखि नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबीच सञ्चालन हुँदै आएको ‘एक्स ब्यालेन्स नेल’ को यो उनन्चालिसौँ संस्करण हो ।
नेपाल सरकार, रक्षा मन्त्रालयको स्वीकृतिमा नेपाली सेनाको श्री सिंह महावीर योजना तथा समन्वय महाशाखा अन्तर्गत रहेका रेञ्जर गणहरू र अमेरिकी सेनाको टुकडीबीच ‘एक्स ब्यालेन्स नेल’ सञ्चालन हुनेछ ।
तालिममा नेपाली सेनाबाट ८० जना तथा अमेरिकी सेनाका १६ जना गरी जम्मा ९६ जना सम्मिलित हुनेछन् ।
उक्त संयुक्त तालिम र अभ्यास ‘ल अफ आर्मड कन्फ्लिक्ट (एलओएसी), मिलीटरी डिसिजन मेकिङ प्रोसेस (एमडीएमपी)’ लगायतका विषयहरुमा केन्द्रित रही छाउनी र नगरकोट इलाकामा सञ्चालन गर्ने योजना रहेको छ ।