नवराज पौडेल, कपिलवस्तु ।
कपिलवस्तुको चन्द्रौटामा नेपाल रिक्सा युनियन शिवराज नगर समिति गठन गरिएको छ । मंगलबार चन्द्रौटामा पैदल रिक्सा चालकहरुको भेलाले समिति गठन गरेको अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) जिल्ला समिति कपिलवस्तुले जनाएको छ ।
भेलाले सफिक अलि दर्जिको अध्यक्षतामा ७ सदस्यीय अखिल नेपाल रिक्सा युनियन शिवराज नगर समिति गठन गरेको हो । जसको उपाध्यक्षमा रोजन मियां, सचिव रामचन्द्र गुप्ता, कोषाध्यक्ष मुन्हर रहिदास, र सदस्यहरुमा कादिर हुसेन, मोटेलु रहिदास लगायत चयन हुनुभएको छ ।
भेलाले सल्हाकार पछि थप्ने र यही पौष २९ गते बैठक बस्ने, प्रत्येक महिनाको ८ गते युनियनले विविध विषयमा छलफल गर्ने निर्णय गरेको छ । यसैगरि आगामी बैठकले निति नियम तर्जुमा गरि सदस्यहरुलाई प्रशिक्षणको व्यावस्था गर्ने समेत निर्णय गरेको छ ।
भेलालाई सम्बोधन गदै अन्टुकका केन्द्रीय सदस्य केयर सिंह अदैले पैदल रिक्सा चालकहरुको पेशा नै धरापमा पर्दै गएको बताउँदै सिमेन्ट, छड, समेत ई रिक्साले बोक्न थालेपछि पैदल रिक्सा मारमा परेको बताउनु भयो । पैदल रिक्सा चालकहरुको अवस्था दयनीय भएकाले उनीहरुको हक हितका लागी रिक्सा सघं गठन गर्नु परेको अदैले बताउनु भयो ।
भेलामा चालकहरुले दिनमा बढीमा २०० रुपैयाँ कमाई हुने गरेको भन्दै यसले गर्दा आफूहरुसँग विहान बेलुकाको छाक टार्न समेत समस्या हुने गरेको गुनासो गरेका थिए । उनीहरुले आफूहरुले इ रिक्सा किन्न पनि नसक्ने र इ रिक्सासँग प्रतिष्पर्धा पनि गर्न नसक्ने अवस्था आएको बताएका थिए ।