काठमाडौं। राष्ट्रिय जनमोर्चाले सीमा अतिक्रमण र भारतीय हस्तक्षेपविरुद्ध काठमाडौंको कलंकीमा विरोध सभा गरेको छ । रष्ट्रिय जनमोर्चा र रक्तिम सांस्कृतिक अभियान काठमाडौंको संयुक्त आयोजनामा सञ्चालन भइरहेको एक महिने अभियान अन्तर्गत मंगलबार कलंकीमा सभा सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य लालबहादुर थापाले भारतलाई जाली नक्सा तत्काल सच्याउन चेतावनी दिनुभयो । वहाँले जनस्तरबाट लगातार दबाब भइरहँदासमेत सरकारले सीमा अतिक्रमण विरुद्ध कुटनीतिक प्रयास नगरेको भन्दै आपत्ति पनि जनाउनुभयो । कार्यक्रममा राजमो केन्द्रीय सदस्य घनश्याम न्यौपाने, नेकपा (मसाल) काठमाडौं जिल्ला प्रवक्ता जगतप्रसाद रेग्मी, राजमो नेत्री ऋतु केसीलगायत नेताहरुले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा अखिल नेपाल महिला संघका अध्यक्ष मीना पुन, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का अध्यक्ष नारायण सापकोटा, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकी, राजमो वैकल्पीक केन्द्रीय सदस्य लक्ष्मी केसी, रक्तिम साँस्कृतिक अभियानका केन्द्रीय कोषाध्यक्ष विष्णु केसी, राजमो जिल्ला अध्यक्ष झवेन्द्र बेल्बासेको पनि आतिथ्यता रहेको थियो ।
नेकपा (मसाल)का प्रदेश नम्बर ३ का प्रवक्ता समिर सिंहको सञ्चालनबाट अघि बढेको कार्यक्रमको अध्यक्षता रोशन दानीले गर्नुभएको थियो । सीमा अतिक्रमण विरुद्ध राजमो र रक्तिमको काठमाडौं जिल्ला समितिको संयुक्त आयोजनामा गत मंसिर २८ गतेदेखि विरोध प्रदर्शन भइरहेको छ।