काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू र आफ्नी पत्नी बिरामी परे अरुको सहयोगबिना उपचार नपाउने दाबी गर्नुभएको छ ।
ओलीले आफू र श्रीमतीको नाममा रहेको सबै सम्पत्ति राज्यको नाममा गरिसकेको भन्दै उपचारका लागि राज्यको सहयोग आवश्यक पर्ने बताउनुभएको हो ।
सबै सम्पत्ति राज्यको नाममा गरिसकेकाले आफू बिरामी हुँदा घर बेचेर खर्च गर्न नसक्ने ओलीको भनाई छ ।
आइतबार बिहान काठमाडौंमा राष्ट्रिय युवा सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो निजी सम्पत्ति नभएको जिकीर गर्नुभयो ।
‘म बाँचुञ्जेल मेरो घरमा बस्न पाउँछु, तर बन्धक राख्न सक्दिनँ, बिरामी हुँदा उपचार खर्चका लागि बेच्न पनि सक्दिनँ’, उहाँले भन्नुभयो ।
नातावाद कृपावादको आरोप छैन
ओलीले आफूलाई अहिलेसम्म नातावाद, कृपावादको आरोप नलागेको दाबी गरेको छन्।
‘उहाँले भन्नुभयो, ‘म नातावाद, कृपावादको आरोप नलागेको मानिस हुँ । नत्र मेरी श्रीमती दुई विषयमा डिग्री गरेकी हुन्। बैंकबाट रिटायर्ड भएकी हुन्।’
तर पनि आफूले राजनीतिमा उनलाई नतानेको अध्यक्ष ओलीले बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै ओलीले आफू बुहारी, छोराछोरी, साला, सालीलाई पार्टीमा ल्याउने प्रवृत्तिको मान्छे नभएको व्यंग्य गर्नुभयो ।
‘मेरो आफ्नै भाइ वडा कमिटीमा छ किनभने उसले गरेकै काम त्यति हो, जसले जे काम गर्छ त्यही पाउने हो’,उहाँले भन्नुभयो ।
म सँग काम गर्ने युवा थाक्छन्
ओलीले आफूसँग काम गर्ने युवा थाक्ने भन्दै आफू युवाभन्दा कम सक्रिय नरहेको बताउनुभयो ।
‘म युवाहरु भन्दा कम सक्रिय छैन’, उहाँले भन्नुभयो, ‘मसँग काम गर्ने युवाहरु थाक्छन, म थाक्दिनँ।’