तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं ११ मूलपानी क्षेत्रका बासिन्दा गाउँमा चुन उद्योगले बसिनसक्नु भएपछि आन्दोलित भएका छन् । सो क्षेत्रमा करिब ६ महिना अघि स्थापना भएको ‘कृषि चुन’ उद्योगले प्रदुषण फैलाएको छ ।
करिब ४ हजार घरधुरीलाई प्रत्यक्ष प्रभावित पार्ने सो उद्योग बन्द गर्न पटक पटक स्थानीयले दबाब दिएपनि सुनुवाई नभएपछि संघर्ष समिति नै बनाएर आन्दोलन थालेका हुन् । संघर्ष समितिका संयोजक भरतबहादुर घर्तीले उद्योगका कारण गाउँ नै छाड्नुपर्ने अवस्था आएको बताउनुभयो ।
‘कालो धुवाँको मुस्लो फाल्ने गरेको छ । गाउँमा बसिसक्नु अवस्था छैन । सम्बन्धित निकायलाई समस्या समाधान गर्न पटक पटक आग्रह गरेपनि सुनुवाई भएको छैन’ संयोजक घर्तीले भन्नुभयो । उहाँका अनुसार वडा कार्यालयले गाउँलेको कुरा नसुनेपछि स्थानीयले व्यास नगरपालिकालाई गुहारेका छन् ।
त्यसै क्रममा सोमबार (पुस ७ गते) नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको थियो । मेयर न्यौपानेकै सल्लाह बमोजिम समस्या समाधान बारे अध्ययन गर्न ७ सदस्यीय अनुगमन समिति बनाइएको छ ।
मंगलबार वडा अध्यक्ष निर बहादुर खड्काको अध्यक्षतामा गठन भएको समितिका सदस्यहरुमा कम्पनीको प्रतिनीधि १ जनासहित नगरपालिकाको प्रतिनिधि , समाजसेवी हरि बहादुर खड्का विनायक भट्टराई, भरत बहादुर घर्ती र उद्योग वाणिज्य संघका प्रतिनिधि बैकुण्ठ मिश्र रहनु भएको छ। समितिले वातावरण प्रदुषणबारे अनुगमन गर्नेछ ।
अन्यत्रबाट चुनढुंगा ल्याएर सो स्थानमा धुलो बनाउने काम गरेका संघर्ष समितिका संयोजक रहेका राष्ट्रिय जनमोर्चाका तनहुँ जिल्ला सदस्य घर्तीले बताउनुभयो । तत्कालिन घाँसीकुवा गाविससँग अनुमति लिएर कम्पनीले सो क्षेत्रमा उद्योग खोलेको बताइएको छ । तर, स्थानीयबासीलाई प्रत्यक्ष असर पुर्याइरहेका चुन उद्योग तत्काल त्यहाँबाट अन्यत्र सार्नुपर्ने स्थानीयको माग छ ।

