• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

चक्रव्यूहमा राष्ट्र : नेपालका सात समस्या के हुन् ?


  •   बिहिबार, साउन २६, २०७९ मा प्रकाशित
  • भीष्म जोशी ##
    महाभारत पूर्वीय दर्शनको महत्त्वपूर्ण पुस्तक हो । महाभारत आजभन्दा करिब पाँच हजार वर्षपहिला महर्षि वेव्यासले लेखेका हुन् । उनी नेपालकै तनहुँ जिल्लाका हुन । महाभारत संसारकै सबभन्दा ठुलो महाकाव्य हो । यो नपढ्ने सायद कमै होलान् । लाग्छ, श्रीमदभागवत् गीतापछि पूर्वीय दर्शनमा बढी पढिएको पुस्तक महाभारत हो । महाभारतलाई धर्म, अर्थ, साहित्य, राजनीति, संस्कार÷संस्कृति, राष्ट्रियता, मानवीयता, न्याय जुनसुकै कोणबाट हेर्दा पनि यो पुस्तक उत्तिकै गहन र बृहत् लाग्छ ।

    Advertisement

    महाभारतमा एउटा चर्चित प्रसङ्ग छ, अर्जुनपुत्र अभिमन्युको मृत्यु प्रकरण । अभिमन्यु पन्ध्र वर्षका नाबालक थिए । नाबालक भए पनि उनी आफ्ना पिता अर्जुनभन्दा पनि शक्तिशाली थिए । उनी एक्लै युद्व लड्छु भनी कौरव सेनासँग युद्ध गर्न निस्किन्छन् । उनी द्रोणाचार्यले रचेको भयानक सैनिक व्यूह (चक्रव्यूह) भित्र पस्छन् तर चक्रव्यूहभन्दा बाहिर निस्कन नजानेर उनले त्यो चक्रव्यूहभित्रै मृत्युवरण गर्न पुग्छन् । उनको मृत्यु युद्धको नियम विपरीत कौरवका सातओटा महारथीबाट हुन्छ । उनलाई त्यहाँबाट उम्कनै नदिई क्रुर ढङ्गले चक्रव्यूहभित्रै उनको हत्या गरिन्छ । सातओटा महारथीले उनको हत्या गरेको प्रसङ्ग महाभारतमा चर्चित छ ।

    यो लेखमा यसै चर्चित चक्रव्यूहको प्रस्गको उल्लेख गर्नुको कारण के हो भने हाम्रो देश पनि अहिले चक्रव्यूहरूपी सात घेराभित्र पसिसकेको छ । अब ती घेराभित्र बाट हाम्रो देश युद्ध जितेर अर्जुन बनेर बाहिर निस्कन्छ वा अभिमन्यु बन्छ ? कौरवरूपी सातओटा महारथी जस्तै यहाँ हाम्रो देशका अगाडि रहेका सातओटा चक्रव्यूहका महारथीको बारेमा छोटकरीमा उल्लेख गर्न खोजिएको छ ।

    भ्रष्टाचार
    हाम्रो देशका लागि भ्रष्टाचार चक्रव्यूहको पहिलो बाह्य घेराको रूपमा रहेको छ । देशमा भ्रष्टाचार यति धेरै बढेर गएको छ कि यसको हिसाबकिताब नै निकाल्न सकिने अवस्था छैन । हालै सार्वजनिक भएको महालेखा परीक्षकको प्रतिवेदनमा चार खर्ब बढी रकम बेरुजु देखिएको छ । यो बेरुजुलाई भ्रष्टचारको रूपमा त लिइन्न तर यो भ्रष्टाचारको सङ्केत हो ।

    ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपाल भ्रष्ट मुलुकमध्ये अगाडि रहेको बताउँछ । नेपालमा सुशासन कायम गर्ने भनी गठित सार्वजनिक निकायले नै आर्थिक अनुशासन कायम गर्न नसक्नुले यति धेरै बेरुजु बढ्न गएको पुष्टि हुन्छ । बेरुजुको अन्तर्यभित्र कहिँ न कहिँ भ्रष्टाचार गर्ने निहित स्वार्थ लुकेको थियो भन्ने कुरा प्रमाणित हुन जान्छ ।

    अर्कोतिर, आज नीतिगत रूपमा हुने भ्रष्टाचारका कारण देशको समग्र अर्थव्यवस्था नै धरापमा परेको भान हुन्छ । नीतिगत भ्रष्टाचार भनेको नीतिनिर्माण गर्ने तहमा नै हुने भ्रष्टाचार हो । यसमा सार्वजनिक नीतिहरू देश र जनतालाई केन्द्रबिन्दुमा नराखी सीमित स्वार्थ समूहको हितरक्षाका लागि सार्वजनिक नीति बनाइन्छ । सोहीअनुरूप देशको अर्थतन्त्र परिचालन गरिन्छ । देश र जनताका निम्ति हुनुपर्ने सार्वजनिक नीति अर्कैको निम्ति हुने हुँदा जनता यसको मारमा पर्ने गरेका छन् । नीतिगत भ्रष्टाचार देश र जनताप्रतिको अक्षम्य अपराध हो । यो अदृश्य रूपमा गरिने भयङ्कर ठुलो भ्रष्टाचार हो । नीतिगत भ्रष्टाचारमा देशको कानुन पनि काम नलाग्ने बनाइएको हुन्छ । यस्तोमा देशको कानुन प्रभावकारी बन्न सक्दैन वा भनौँ, नीति नै कानुन बनेर आइदिन्छ ।

    अर्कोतिर रहेको तथ्य के छ भने सार्वजनिक पदको व्यापक दुरूपयोग हाम्रो देशमा राजनीतिक नेतृत्वदेखि कर्मचारी सम्मलेसार्वजनिक पदको व्यापक दुरूपयोग गरिरहेका हुन्छन् । सार्वजनिक निकायमा बसेका पदाधिकारीले आफ्नो पदीय जिम्मेवारीलाई आफ्नो व्यक्तिगत ढुकुटी सम्झेर पदको व्यापक दुरूपयोग गरिरहेका हुन्छन् ।

    हाम्रो समाजमा प्रतिष्ठा र सम्मानको विषय बनेको छ, भ्रष्टाचार गरी पैसा कमाउनु । पैसा कमाउनु नै सामाजिक प्रतिष्ठा र सम्मानको विषय बनेको छ । पैसा कमाउनु मात्र प¥यो यसको स्रोतको कहिँ कतै कसैले खोजिनीति गर्दैनन् र यसलाई संस्कृतिकै रूपमा विकास गर्न खोजिएको छ । दैनिक लाखौँ घुस लेनदेनका समाचार त आजभोलि सामान्य बन्न थालेका छन् । यसरी भ्रष्टाचारले सिङ्गो राष्ट्रलाई नै खोक्रो बनाउँदै लगेको जगजाहेर छ।

    सार्वजनिक खर्च
    हाम्रो अर्थतन्त्रको आकार सानो छ । सीमित स्रोतसाधन छ र सोहीअनुरूपको सानै पैमानामा हाम्रो सार्वजनिक खर्च पनि छ । सरकारले यस वर्ष करिब १८ खर्बजतिको बजेट बनाएको छ† जसमध्ये अधिकांश खर्च तलबभत्तामा खर्च गर्ने, करिब ४२ प्रतिशत रकम चालु (प्रशासनिक) खर्च, करिब १३ % वित्तीय व्यवस्थापन (ऋणको साँवाब्याज तिर्न) तर्फ खर्च गर्छौं । प्रदेश र स्थानीय तहलाई २४ प्रतिशत दिएको छ भने पुँजीगत खर्च करिब २१ % (२१.२) रहेको छ । यो देशको अनिवार्य बाध्यता हो किनकि हामीसँग स्रोतसाधन सीमित छ । यसमा पनि करिब ५ खर्ब रुपैयाँ ऋण र थोरै मात्रामा अनुदान ल्याउने अपेक्षा राखेर बजेट बनाएको छ ।

    विकासको सामान्य नियम के हो भने प्रशासनिक खर्च हामीले २० प्रतिशतको हाराहारीमा गर्नुपर्ने हो । विकास खर्च ६०–७० प्रतिशत गर्नुपर्ने हो तर हाम्रोमा बिडम्बना विकास खर्च २० प्रतिशत, प्रशासनिक र अन्य खर्च ८० प्रतिशत हुन्छ । यसले के देखाउँछ भने हामी उल्टो बाटो हिँडिरहेका छौँ । हामीले बनाएको आर्थिक संरचना नै उल्टो छ । हाम्रो बाध्यता वा वास्तविकता यही हो । यसको अर्थ हो– हामीले हाम्रो आर्थिक जग नै खडा गर्न सकेका रहेनछौँ । हामीले गर्ने विकास खर्च २० प्रतिशत हो । योभन्दा बढी त बार्षिक बजेटमा ऋण नै छ । यसमा पनि पूरै बजेटखर्च गर्न सक्दैनन् । विकास गर्न छुट्याइएको यो २० प्रतिशतलाई १०० प्रतिशत मानेर हेर्ने हो भने यसको पनि हामी करिब ६० % मात्रै खर्च गर्न सक्छौँ । भएको खर्चमा पनि वास्तविक खर्च कम र भ्रष्टाचार बढी भएको पाइन्छ । विकास खर्चमा पनि भ्रष्टाचार बढी र वास्तविक खर्च कम हुने गरेको छ, जसका कारण गुणस्तरीय ढङ्गले इच्छित काम सम्पन्न हुन सक्दैन । यसमा अधिकांश रकम वैदेशिक सहायता र ऋणबाट प्राप्त भएको हुन्छ । हाम्रो राजस्वबाट उठ्ने रकम पूरै प्रशासनिक खर्च गर्न नै पुग्दैन । ऋणबाट प्राप्त रकमको पनि सही उपयोग हुँदैन । यसरी सार्वजनिक खर्च गरेर पुँजी उत्पादन र आर्थिक वृद्धि गर्नुपर्नेमा पुँजी उत्पादन नै हुने स्थितिकै अभाव छ । विकास निर्माण गर्ने रकम सानो हुनु, यसमा पनि सार्वजनिक खर्चमा अनियमितता र भ्रष्टाचार बढी हुनुले देशलाई समस्याको भुङ्ग्रोमा हाल्ने काम गरिरहेको छ ।

    अर्कातिर, राज्यले थुप्रै सामग्री बाह्य देशबाट आयात गर्नु परिरहेको छ । यसमा राज्यको ठुलो रकम खर्च हुन्छ किनकि हामीसँग आफ्नो उत्पादन केही छैन । सबै बाहिरबाटै खरिद गर्नुपर्ने हुन्छ । यसमा राज्यको ठुलो धनराशि खर्च भइरहेको छ । यसरी सार्वजनिक खर्चरूपी चक्रब्यूहमा देश घुमिरहेको छ । यसलाई सुधार्न जरुरी देखिन्छ । प्राथमिकताप्राप्त र सही ढङ्गले सार्वजनिक खर्च गरिनुपर्दछ। उत्पादन र निर्यातमा जोड दिनुपर्दछ ।

    श्रमशक्तिको पलायन
    आज हाम्रो देशबाट दैनिक दुई हजार बढी युवा श्रमशक्ति विदेश पलायन भइरहेको छ । विश्वमा यस्तो देश बिरलै होला, जसले आफ्ना सम्पूर्ण युवालाई विदेश पठाउँछ । यो बाध्यता यति खतरनाक रूपमा देखा परेको छ कि यसको परिणामले आज पूरै नेपाली समाज हायलकायल अवस्थामा पुगेको छ । यसले पारिवारिक बिछोड, नैराश्यता, सामाजिक विशृङ्खलता, आत्महत्या, हत्या, सम्पत्तिप्रतिको अचाक्ली मोह, परिवारका सदस्यमा अल्छिपना, विदेशी आयातमा चरम वृद्धि, घरखेत बाँझो र उजाड बन्नु र हिजोका सुन्दर हराभरा गाउँ आज मानवशून्य भएका छन् । देशको जनसङ्ख्या सीमित क्षेत्र र सहरमा बसाइँ सरेको छ र बसाइँ सारेको ठाउँमा अव्यवस्थित जनसङ्ख्याको चाप बढिरहेको छ । देश वृद्धाश्रममा परिणत भएको छ । देशमा उत्पादन वृद्धि गर्ने, रोजगारी सृजना गरी आफ्नो अमूल्य मानवश्रमलाई देशको विकास निर्माणमा लगाउने कसैले सोच्नसम्म सकेका छैनन् ।

    सामाजिक र पारिवारिक खुसीको संवाहक युवाहरूको यो बेहाल बनाउने को हो ? सोध्न मन लाग्छ । आज हाम्रा युवाका पाखुराले कैयौँ देश विकसित र सम्पन्न भइसके तर तिनै युवा स्वदेश आफ्नो घरमा फर्किदा, घरमा पानी खाने धारोसम्म बनेको छैन । विकासको आँधीहुरी ल्याउने युवावर्ग नै बाहिर छन् र अझै पलायन भइरहेका छन् । यसले देशलाई क्षणिक रूपमा सीमित आर्थिक लाभ पुर्याए जस्तो देखिए पनि भित्रभित्रै खोक्रो बनीरहेछ देश । हामीले यसैबाट पनि बुझ्न सक्छौं कि अरूलाई नै आफ्नो देश समृद्ध बनाउन बाहिरबाट समेत युवा मगाउनुपर्छ भने हामीले हामीसँग भएको क्रिम युवा जनशक्ति बाहिर पठाइरहेका छौं र भन्दै छौँ, समृद्ध नेपाल बनाउँछौँ ।

    यसरी युवाहरू विदेश पठाएर देश कसरी समृद्ध बन्छ ? त्यसैले युवा निर्यात/पलायन गर्ने नीति बन्द गरिनुपर्दछ र युवालाई देशनिर्माणमा सहभागी गराउने नीति ल्याउनुपर्छ ।

    पश्चगामी राजनीतिक चिन्तन
    मानव सोच, चिन्तन, विचार निरन्तर परिवर्तन भइरहन्छन् । आदिमानवदेखि लिएर हालसम्म मानिसको चिन्तनमा भएको व्यापक परिवर्तनकै कारण मानव समाज आजको यो अत्याधुनिक अवस्थामा आइपुगेको हो । हाम्रो समाजमा रहेका विगतका पुराना सोच र ती सोचबाट सृजित प्रथा जस्तो सतीप्रथा, दासप्रथा, सामन्तीप्रथा, हलीप्रथा आदि र अहिले ती सोच र प्रथाको अन्त मानव सोचकै परिवर्तनका उपज हुन् । यी पुरानो मध्ययुगिन समाजको चिन्तनानुकूल थियो, जसलाई अहिले हामी पिछडिएको चिन्तन भन्छौँ । हाम्रो चिन्तनमा अहिले पनि यसका केही अवशेष बाँकी नै रहेका छन् ।

    अहिले सामन्ती व्यवस्थाका उपजका रूपमा रहेको छाउपडी प्रथा, दाइजो, भूतप्रेत, बोक्सी, अन्धविश्वास आदि कुप्रथा पुराना चिन्तन हुन् । हाम्रो समाजमा अझै छिटफुट रूपमा यिनलाई देख्न सकिन्छ । यस्तो समाजको मुख्य नेतृत्व गरेको राजनीतिक चिन्तन हो, पश्चगामी चिन्तन वा सामन्ती चिन्तन, जसको राजनैतिक नेतृत्व राजा–महाराजाहरूले गर्थे। राजाहरू विष्णुको अवतारको रूप हुन् भनी जनताले ठान्दथे । हाम्रोमा अहिले पनि एउटा धार र चिन्तन राजतन्त्र पुनःस्थापनामा लागिपरेको देखिन्छ । यदि यो पश्चगामी राजनीतिक चिन्तन बलियो भयो भने देश फेरि त्यही पश्चगामी चिन्तन र राजनीतिमा फर्किन्छ र हिजोको जस्तै निरङ्कुशतामा बाच्न विवश हुन्छ ।

    राजनीतिमा निरन्तर उतारचढाव भइराख्छ । पुराना शक्ति इतिहासको मञ्चबाट त्यतिकै ओर्लिन चाहँदैनन् र आफ्नो गुमेको स्वर्ग फिर्ता ल्याउन निरन्तर प्रयत्नशील भइराख्छन् । यसैले हामीले ल्याएको गणतन्त्र र महान् आन्दोलनका उपलब्धिको रक्षा र संस्थागत विकास गर्न सचेतताका साथ निरन्तर प्रयत्नशील रहनुपर्दछ ।

    अहिले पनि अग्रगामी गणतन्त्र र पश्चगामी राजतन्त्र मान्ने राजनीतिक चिन्तनबिच लडाइँ जारी रहेको छ । पश्चगामीले जनताको धर्मको संवेदनशीलतामा खेलेर आफ्नो राजनीतिक रोटी सेक्ने प्रयत्न गरिरहका छन् । पश्चगामी राजनीतिक चिन्तनलाई (राजतन्त्रको ठाउँमा गणतन्त्रको स्थापना) अग्रगामी राजनीतिक चिन्तनले विस्थापन गरेता पनि अहिले देशीविदेशी शक्तिबाट पश्चगामी चिन्तनलाई फर्काउने कोसिस भइरहेको छ । यसलाई हाबी हुन दिनुहुन्न । आज पश्चगामी चिन्तनलाई हाबी हुनबाट रोक्न सशक्त आवश्यकता रहेको छ ।

    सङ्घीयता
    सङ्घीयता आफैमा राजनीतिक व्यवस्था र राजनीतिक चिन्तन होइन । यो जुनसुकै राजनीतिक विचारमा पनि लागु गरिन्छ । चाहे कम्युनिस्ट शासन व्यवस्था होस्; तानाशाही व्यवस्था होस्† लोकतन्त्र, सैनिकतन्त्र, निरङ्कुश तन्त्र आदि जुनसुकै व्यवस्थामा पनि सङ्घीयता लागु भएको हुन सक्छ र लागु गरिन सक्छ किनकि यो राजनैतिक व्यवस्था नभई राज्यको संरचना हो । सङ्घीयता शासन सञ्चालनको संरचनाको विषय हो ।

    हामीले घर बनाउँदा ठुलो बुर्ज खलिफा बनाउने कि सानो झुप्रो वा एकदुई तलाको बनाउने ? यो हाम्रो आफ्नो क्षमता र रुचिमा भर पर्ने कुरा हो । आफ्नो घर कत्रो र कस्तो बनाउने भने जस्तै हो सङ्घीयता । यो राज्यको आर्थिक, भौगोलिक, जनसाङ्ख्यिक क्षमतामा भर पर्ने विषय हो ।
    सङ्घीयता बेग्लाबेग्लै सार्वभौमसत्ता भएका मुलुकबिच आपसी समझदारीको आधारमा सँगै मिलेर जान र एउटै महासङ्घ बनाउने अवधारणा हो; जस्तो : युएसए, युएसएसआर, इयु आदि सङ्घीयताका उदाहरण हुन् । त्यस्तै, नेपालमा यसलाई राजनीतिक व्यवस्था र अधिकार प्राप्तिसँग जोडियो; केन्द्रीकृत शासनको विकल्प भनियो† अधिकार प्राप्तिको द्योतकको रूपमा व्याख्या गरियो ।

    वास्तविक रूपमा भन्नुपर्दा आजको नेपाली र यसलाई क्षमताको आधारमा हेरिनुपर्दछ सङ्घीयतालाई । नेपालमा सङ्घीयतालाई अधिकार प्राप्तिसँग मात्र जोडिएन, योसँगै जातिवादलाई जोडियो । यो राष्ट्र विखण्डनको सोचसहित अगाडि बढ्यो र राष्ट्रियतालाई नै खतरा उत्पन्न हुने गरी आयो । विगतका दिनमा उठेका जातीय राज्यका माग यसका उदाहरण हुन् ।

    राष्ट्रियता संवेदनशील विषय हो, जुन कुनै पनि बेला ससानो इस्युले पनि राज्यमा खतरा उत्पन्न गराउन सक्दछ ।

    नेपालमा सङ्घीयता खतरनाक रूपले आगोको झिल्कोको रूपमा ल्याइयो । सङ्घीयता लागु नगर्ने हो भने देश नै टुक्र्याउने धम्की दिइए र त्यस्तै गतिविधि गर्न थालियो । नेपाललाई सङ्घीयतामा जबरदस्त विदेशीहरूको इसारामा लादियो, जुन हाम्रो जस्तो सानो भूगोल र कमजोर अर्थतन्त्र भएको देशका लागि न हिजो आवश्यक थियो, न यो प्रयोग भएको सात वर्षसम्म राम्रो थियो भन्ने पुष्टि नै गर्न सकियो । यही सङ्घीयता कार्यान्वयन गर्ने नाममा लिइएको विदेशी ऋण आज खर्बौं पुगेको छ । यदि यो निरन्तर रहिरहने हो भने देश कति बर्बादीको खाडलमा जाने हो ? भन्न सकिन्न । देश र जनताको कस्तो दुर्दशा हुने हो ? थाहा छैन । त्यसैले अहिले यसका विरुद्ध नेपाली जनता स्वतःस्फूर्त आन्दोलनमा छन् । जनताको आन्दोलनले सफलता कहिले प्राप्त गर्छ ? हेर्न बाँकी छ ।

    बाह्य हस्तक्षेप
    एउटा राष्ट्रको जीवनमा बाह्य र आन्तरिक हस्तक्षेप सानोतिनो रूपमा सधैँ भइरहन्छ । राष्ट्र राष्ट्रबिचमा आपसी सहयोगको आदानप्रदान भइरहन्छन् किनकि एकार्का राष्ट्रको आपसी सहयोगबिना जतिसुकै सम्पन्न र शक्तिशाली राष्ट्र पनि बाच्न सक्दैनन् तर बाह्य हस्तक्षेप नजानिँदो किसिमले जुनसुकै राष्ट्रमा पनि भइरहेको हुन्छ । यसलाई स्वाभाविक र निरन्तर प्रक्रियाको रूपमा लिइन्छ । नेपालको सन्दर्भमा अहिले भइरहेको अति र अचाक्ली रूपमा बाह्य हस्तक्षेप बढिरहेको छ; जस्तो ः सङ्घीयताका नाममा, नागरिकताका नाममा, विकास मामिलाका नाममा, विदेशी सहयोगका नाममा अहिले जुन किसिमका बाह्य दबाब हाम्राअगाडि आइरहेका छन्, यी गम्भीर र देशकै परराष्ट्र सम्बन्धलाई नै मात दिने खालका छन् । यदि हामीले यी बाह्य हस्तक्षेपलाई नियन्त्रणमा राख्न सकेनौँ भने देश गम्भीर दुर्घटनातर्फ जान सक्छ । त्यसैले बाह्य हस्तक्षेप निम्त्याउने व्यक्ति, समूह र राजनैतिक दल र बाह्य शक्तिबाट नेपाललाई जोगाउनुपर्दछ ।

    राष्ट्रिय भावनाको अभाव
    छोटोमा भन्दा देशलाई सम्पन्न र शक्तिशाली बनाउनु हो राष्ट्रिय भावना; देशलाई माया गर्नु हो राष्ट्रिय भावना । संसारमा केही चिज सत्य हुँदा रहेछन्, जस्तो कि जन्मपछि मृत्यु, सूर्य उदाउनु, दिन र रात हुनु, समाज निरन्तर गतिशील हुनु आदिइत्यादि । त्यस्तै अर्को धु्रवसत्य के हो भने सार्वभौम र स्वतन्त्र राष्ट्र हुनु पनि सत्य कुरा हो ।

    नेपाल विश्व मञ्चमा एउटा स्वतन्त्र, स्वाभिमानी देश हो । हामीले हाम्रो देशलाई सधैँ अटल रूपमा स्वतन्त्र बनाइराख्नुपर्दछ, तब मात्र हामी स्वाभिमानी र स्वतन्त्र हुन सक्छौँ । हाम्रो पहिचान विश्व मानचित्रमा नेपाली बनाएर राख्न सफल तब हुन्छौँ, जब देशको शिर उचो राख्न सक्छौँ । यसका लागि देश नै पहिलो र अकाट्य सत्य हुन आउँछ । हामीले हाम्रो देशमाथि हुने विभिन्न खाले भौतिक, अभौतिक, बाहिरी, आन्तरिक हस्तक्षेपबाट देशलाई सधैँ जोगाई राख्नुपर्दछ । यसका लागि राष्ट्रिय भावनाको विकास प्रत्येक नागरिकमा हुन जरुरी छ ।

    हाम्रो राष्ट्रिय भावनाको विकास गर्ने तत्त्व हाम्रो भूगोलप्रतिको माया र ज्ञान, इतिहासप्रतिको गौरवबोध र ज्ञान, जाति, धर्म, भाषा, संस्कृति आदिको बारेमा ज्ञान हुनु हो, राष्ट्रिय भावनाको विकास भनेको तर हामीमा आज यो बिरलै भेटिने गरेको छ । यसको अभाव छ । आज यी विषयमा न कतै अध्ययन हुन्छ, न त अध्यापन नै गराइन्छ । यी कुरा अहिले एकादेशका कथा जस्तै बन्न पुगेका छन् । यिनको ठाउँमा बाह्य कुराले स्थान लिइरहेका छन् ।

    अहिलेसम्म हामीले आफ्नो नागरिकतालाई व्यवस्थित गर्न नसक्नु यसको बलियो उदाहरण हो । वि.सं. २००९ सालदेखि अहिलेसम्म नागरिकताको विवाद आइरहेकै छ । बाहिरकाले पनि सबैले वंशज नागरिक हुनुपर्ने । सबैले रैथाने हुनुपर्ने । नागरिकताको समस्या संवेदनशील भएर समाधान गरिनुपर्छ । नेपाली कोही वञ्चित नहुन र बाहिरकाले कसैले नेपाली नागरिकताका नपाउन् भनेर सचेत हुनैपर्छ ।
    हामीले हाम्रो राष्ट्रिय एकताको भावना बलियो बनाइराख्न यस्ता विषयमा संवेदनशील बन्नैपर्छ । हामी सबैले देशप्रतिको भावनात्मक एकतालाई बलियो बनाएर राख्न आआफ्नो ठाउँबाट भूमिका निभाउनैपर्छ । हाम्रो जन्मभूमि हामीभन्दा पहिला हो भनेर आफ्नो ज्यानभन्दा बढी देशको माया गर्न सक्नुपर्दछ । देशको रक्षा र संरक्षण गर्न प्रत्येक नागरिकमा जागरुकता हुन जरुरी छ ।

    समग्रमा, हामीले यी उल्लेखित तत्त्वमा संवेदनशील र जागरुक बन्ने अवसर र मौका यही हो । यसमा हामीलाई चुक्ने छुट कदापि छैन । होइन भने इतिहासले हामीलाई धिक्कार्ने छ ।

    बिहिबार, साउन २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.