धनगढी । अखिल नेपाल युवक संघले राष्ट्रघाती नागरिकता विधेयक र भ्रष्टाचार विरुद्ध ‘मेची महाकाली खबरदारी अभियान’ सञ्चालन गर्ने भएको छ । सोमबारदेखि धनगढीमा सुरु भएको युवक संघको राष्ट्रिय परिषद बैठकले आगामी माघ १५ देखि २९ गतेसम्म १५ दिने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
कार्यक्रम माघ १५ गते कंचनपुरमा उद्घाटन भइ २९ गते झापाको बिर्तामोडमा समापन हुने युवक संघले जनाएको छ । दुईदिन सम्म चलेको राष्ट्रिय परिषद बैठक मंगलबार सम्पन्न भएको हो । बैठकका निर्णय युवक संघले मंगलबारै धनगढीमा सार्वजनिक गरेको छ ।
सीमा अतिक्रमण विरुद्ध कोणसभा
यसैबीच, युवक सघले सीमा अतिक्रमण तथा भारतीय जाली नक्सा खारेजीको माग गर्दै मंगलबार धनगढीको एलएन चोकमा कोणसभा गरेको छ । कोणसभालाई युवक संघका अध्यक्ष अनिल किशोर घिमिरे, युवक संघका पूर्व अध्यक्ष तिलक थापा तथा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य लाल बहादुर जाग्रीले सम्बोधन गर्नुभएको थियो भने सञ्चालन केन्द्रीय सचिव प्रसान्त थापाले गर्नुभएको थियो ।