काठमाडौं । समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको छ । मंगलबार बसेको पार्टीको पदाधिकारी बैठकले सरकार छाड्ने निर्णय गरेको हो ।संविधान संशोधनसम्बन्धी अध्ययन समिति प्रस्ताव मन्त्रिपरिषदमा लैजाँदा प्रधानमन्त्री केपी ओलीले रोकेपछि संघीय समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको हो । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादवले संविधान संशोधन अध्ययन समिति बनाउने प्रस्ताव राखेका थिए ।
उपप्रधानमन्त्री तथा कानूनमन्त्री उपेन्द्र यादवले सोमबार साँझ मन्त्रिपरिषद् बैठकमा संविधान संशोधन प्रस्ताव दर्ता गर्न चाहेका थिए । नियमित एजेण्डामा छलफलपछि बैठक सकिने बेला मन्त्री यादवले ‘प्रधानमन्त्रीज्यू, मेरो एउटा प्रस्ताव छ’ भन्दै बन्द खाम टेबुलमा राखेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले के प्रस्ताव हो ? भनेपछि उपप्रधानमन्त्री यादवले संविधान संशोधनबारे भएको जवाफ दिए । त्यति भन्नासाथ प्रधानमन्त्री ओलीले ‘स्टप इट’ भन्दै मन्त्री यादवलाई खाममा बन्द रहेको प्रस्ताव नै खोल्न दिएनन् ।यादवले मन्त्रिपरिषदमा दर्ता गराउन चाहेको प्रस्तावमा संविधानमा संशोधन गर्नुपर्ने विषयहरु पहिचान गर्न संविधानविद् वा सर्वोच्चका पूर्वन्यायाधीशको अध्यक्षमा विज्ञ समूह बनाउने प्रस्ताव गरिएको छ । समितिलाई चार महिनाको समय दिने र त्यसका आधारमा संविधन संशोधन प्रस्ताव बनाउने उल्लेख छ ।
गत मंसिर ४ मा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा समाजवादी पार्टीलाई कुनै परामर्श नगरी जिम्मेवारी हेरफेर गरेको भन्दै उक्त पार्टीका नेताहरु असन्तुष्ट थिए । प्रधानमन्त्रीले स्वास्थ्य मन्त्रालयका जिम्मेवारी सम्हालेका उपेन्द्र यादवलाई कानुन मन्त्रालयको जिम्मा दिएका थिए ।
स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवलाई भने उनले पदबाटै हटाइदिएका थिए ।सो पार्टीबाट हाल सरकारमा कानुनमन्त्री यादव र सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई मात्र छन्।