काठमाडौं । काठमाडौंबाट नेपालीसहित विदेशी नागरिक अपहरण गरी एक करोड फिरौती माग्ने गिरोहका ६ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गोरखा आरुघाटका ३७ वर्षीय कर्णबहादुर गुरुङ, गोरखा सिरानचोकका २८ वर्षीय लक्ष्मण गुरुङ, सर्लाही लालबन्दीका २९ वर्षीय रोहित मगर, प्यूठान बागदुलाका २८ वर्षीय विशाल मगर, नुवाकोट शिवपुरीका २७ वर्षीय विनोद केसी र बर्दिया राजापुरका २८ वर्षीय शिव सुनार रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले चिनियाँ भाषाका दोभासेसमेत रहेका ओखलढुङ्गाका २६ वर्षीय सूर्यबहादुर राईलाई बोलाएर चिनियाँ नागरिक याङलाई बोलाउन लगाई नयाँ बसपार्कस्थित मित्रनगरको न्यू स्वर्गद्वारी प्यूठान होटल एण्ड लजमा बन्धक बनाएकाले पक्राउ गरिएको जानकारी दिनुभयो ।
पक्राउ व्यक्तिले चिनियाँ व्यक्तिसँग रु एक करोड फिरौती मागेकोसमेत अनुसन्धानमा खुलेको प्रवक्ता मैनालीले बताउनुभयो । प्रहरीले पक्राउ परेका व्यक्तिसँग रु आठ लाख १४ हजार ९०० नगद, २६ थान मोबाइल र हतकडी एक थान बरामद गरेको छ ।
पक्राउ परेका व्यक्तिलाई मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद–१७ को अपहरण वा शरीर बन्धकसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँबाट आज पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताउनुभयो ।
चिनियाँ नागरिकलाई अपहरण गर्ने मध्ये उच्च अदालत पाटनको एकजना न्यायाधीशका पीएसओ ३७ वर्षीय हवलदार कर्ण गुरुङ र महानगरीय प्रहरी वृत्त बालाजुका घुमुवा २८ वर्षीय शिव सुनुवार रहेका छन्। ती दुवै जनालाई प्रहरीले पक्राउ गरेको छ ।