कपिलवस्तु । राष्ट्रिय जनमोर्चा, कपिलवस्तुले किसानका समस्या समाधान गर्न माग गर्दै जिल्लाका विभिन्न स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ ।
बुधबार बाणगंगा र शिवराज नगरपालिकामा ज्ञापन पत्र बुझाएको हो ।
सुकुम्बासी र किसानका समस्या तथा जनजिविकाका सवालमा स्थानीय तहले चासो दिनुपर्ने राजमोको आग्रह छ ।
भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गा उपलब्ध गराउन भूमी आयोग तयार भएपनि नगरपालिकाबाट बेवास्ता र ढिलासुस्ती भइरहेको राजमोको आरोप छ ।
ज्ञापन पत्रमा महंगी, भष्ट्राचार र कालोबजारी नियन्त्रण गर्नुपर्ने, किसानलाई मल बीऊको व्यवस्था गर्नुपर्ने, प्रकोप पीडित किसानलाई राहत उपलब्ध गराउनुपर्ने लगायतका माग राखिएको छ ।
यस्तै, हालै संसदबाट पारित नागरिकता विधेकले विदेशीहरुलाई नेपालको नागरिकता वितरण गर्ने र देशको राष्ट्रियतामाथि ठूलो संकट पार्ने अवस्था सिर्जना भएको भन्दै विरोध गरिएको छ ।
बाणगंगा नगरपालिकामा नगर अध्यक्ष डबलसिंह जिसी र नगर सचिव राम प्रसाद बेल्वासेको नेतृत्वमा गएको टोलीले ज्ञापन पत्र बुझाएको हो ।
यता, शिवराज नगरपालिकामा नगर अध्यक्ष केरसिंह पुनको नेतृत्वमा गएको टोलीले ज्ञापन पत्र बुझाएको हो ।
प्रतिनिधिमण्डलमा जातीय समता समाजका केन्द्रीय सल्लाहकार दिल बहादुर विक, बुद्धिजिवी संघका जिल्ला सदस्य छन्द बहादुर केसी लगाएतको सहभागिता रहेको थियो ।
जिल्लाका अन्य पालिकामा पनि ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको र २४ गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापन बुझाउने राष्ट्रिय जनमोर्चा कपिलवस्तुका अध्यक्ष दधिराम आचार्यले बताउनुभएको छ ।