खिमराज चालिसे, चंडिगढ ।
भारतको हरियाणा राज्यको हिसारस्थित सूर्य नगर रेलवे फाटकमा रेलले कुल्चेर एक नेपालीको ज्यान गएको छ ।
हिसार गणेश नगरमा बिगत ३२ वर्षदेखि परिवारसहित बस्दै आइरहेका कपिलवस्तुको बाणगंगा नगरपालिका–९ का ५५ वर्षीय पुरन बहादुर केसीको मृत्यु भएको हो ।
आज (१८ साउन) विहान करिब ८ बजे घरेलु सामान लिन घरदेखि निस्केका पुरन समयमा घर नपुगेपछि उनको खोजी सुरु भएको थियो । विहान करिब ११ बजे रेल दुर्घटनामा एक नेपालीको मृत्यु भएको भन्ने खबर पाएपछि शंकाको आधारमा सूर्यनगर फाटकमा पुगी मृतककी श्रीमती सुनिता केसी हेर्न गएकी थिइन् । सो क्रममा क्षतविक्षत अवस्थामा पाइएको पुरनको शव पहिचान भएको थियो ।
त्यसपछि रेलवे जिआरपी थानाले आवश्यक कानुनी प्रकृया पुरा गरि पोष्टमार्टम पश्चात शव परिवारलाई हस्तान्तरण गरेको थियो । मृतकका परिवारिक सदस्यहरु, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज र प्रवासी संघको सहभागितामा आजै मृतकको दाहसंस्कार गरिएको छ।
घटनाबारे हिसार रेलवे पुलीसले अनुसन्धान गरिरहेको मूल प्रवाहका वैकल्पिक केन्द्रीय सदस्य तारा सोमरेले बताउनु भएको छ ।