बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका वडा नं ४ किरीदोभान निवासी पूर्ववडाअध्यक्ष डिलबहादुर सेरबुजाको निधन भएको छ ।
लामो समयदेखि मिर्गौला, निमोनिया र कलेजोलगायतका रोगबाट ग्रसित सेरबुजाको यही साउन ७ गते निधन भएको हो ।
सेरबुजा साविक खुङ्गा गाविस वडा नं ९ मा राष्ट्रिय जनमोर्चाको तर्फबाट २०४९ र २०५४ सालमा वडाअध्यक्ष निर्वाचित हुनुभएको थियो । त्यसको साथै उहाँ पार्टीका विभिन्न जिम्मेवारी र समाजसेवामा पनि सक्रिय हुनुहुन्थ्यो ।
उहाँको पार्थिव शरीरमा राष्ट्रिय जनमोर्चाको झण्डा ओढाएर सम्मान गरिएको छ । ढोरपाटन नगरपालिकाका कार्यपालिका सदस्य एवम् राजमो ढोरपाटन नगरपालिका वडा नं ४ का वडासचिव कूलबहादुर छन्त्यालले पार्टीको झण्डा ओढाएर सम्मान गर्नुभएको हो ।
सो क्रममा आयोजित श्रद्धाञ्जली सभाको अध्यक्षता राजमो नेता गौरीप्रसाद अर्गेजा र सञ्चालन इन्द्रमान छन्त्यालले गर्नुभएको थियो ।

सेरबुजाको जीवन रक्षाका लागि हङकङ नेपाली एकता समाजका अध्यक्ष शक्तमान बुढाथोकी, युरोप नेपाली एकता समाज (आयरल्याण्ड) का सदस्य अमर छन्त्याल, पोर्चुगलका राजेश छन्त्याल, डेनमार्कबाट खगेन्द्र श्रेष्ठले आर्थिक सहयोग गर्नुभएको थियो ।
यस्तै, ढोरपाटन–१ का गंगबहादुर सेरबुजा, प्रेम खत्री, नरिश्वर कँडेल, देववीर विक, टंक बहादुर सेरबुजा, ढोरपाटन–४ का कूल बहादुर छन्त्याल, जसमाया अर्गेजा, गौरी प्रसाद अर्गेजा, माया अर्गेजा, गोमबहादुर र हर्क सुनारलगायतको पहलमा लाखौँ रुपैयाँ जुटे पनि उहाँको जीवन बचाउन नसकिएको राजमो नेता इन्द्रमान छन्त्यालले बताउनुभयो ।