सन्तोस सुनार, अर्घाखाँची ।
‘राष्ट्रघाती’ नागरिकता विधेयकविरुद्ध राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले विरोध प्रदर्शन गरेको छ ।
सोमबार सन्धिखर्क नगरपालिकाको भक्तिटोलमा आयोजित विरोध सभालाई राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले सम्बोधन गर्नुभएको थियो ।
त्यसक्रममा कार्यकारी अध्यक्ष नेपालीले नागरिकता विधेयक नेपाली जनताको आवश्यकता नभइ भारतीय दबावमा ल्याइएको बताउनुभयो । उहाँले निकट भविष्यमै नेपालमा नेपाली जनतालाई अल्पमतमा पार्ने योजनाका साथ नागरिकता विधयेक आएको स्पष्ट पार्दै सत्ताका लागि देउवा र प्रचण्डले देशघात गरेको बताउनुभयो ।

राजमोले प्रतिनिधि सभाबाट पारित नागरिकता विधेयक खारेजीको मागसहित बढ्दो महँगी र भ्रष्टाचार नियन्त्रणको माग गर्दै प्रदर्शन गरेको हो । कार्यक्रमलाई नेकपा (मसाल) का जिल्ला प्रवक्ता पशुपति ढकालले पनि सम्बोधन गर्नुभएको थियो ।
विरोध प्रदर्शनमा राजमो प्रदेश सल्लाहकार शेरबहादुर बिसी, जिल्ला अध्यक्ष थम्मन केसी, अखिल नेपाल शिक्षक संघका महासचिव चक्रपाणि पौडेल, अखिल नेपाल महिला संघका केन्द्रीय उपाध्यक्ष कल्पना पोख्रेल, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक)का केन्द्रीय उपाध्यक्ष गोबिन्द बिसीलगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन राजमो नेता सुदिप पन्थीले गर्नुभएको थियो ।