बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एक घर भाडामा लिएर कल सेन्टर सञ्चालन गरी ठगी धन्दा भइरहेको पाइएको छ ।
तिलोत्तमा नगरपालिका जानकीनगरमा रहेको कल सेन्टरबाट ठगी धन्दा भइरहेको प्रहरीले जनाएको छ ।
४ तल्लाको घरमा ३ वटा फ्ल्याट भाडामा लिइ ३ सय जति कम्प्युटर राखी त्यसकै माध्यमबाट सर्वसाधारणलाई म्यासेज पठाई ट्र्यापमा पारेको प्रहरी अनुसन्धानबाट भेटिएपछि कल सेन्टरमा छापा मारिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।
सो कल सेन्टरबाट प्रहरीले १५० बढी युवायुवतीलाई नियन्त्रणमा लिएको छ। कल सेन्टरबाट भारतीय नागरिकलाई विभिन्न प्रलोभनमा पारी ठगी गर्ने गरेको उजुरीका आधारमा छापा हानेको प्रहरीले जनाएको छ।
चिनियाँ र भारतीय नागरिक समेतको लगानीमा खोलिएको उक्त ठगी कार्यालयबाट सर्वसाधारणको मोबाइलमा ह्वाट्सएप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिट्ठा पर्यो भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।





