काठमाडौं । नवनिर्वाचित भारतीय राष्ट्रपति द्रौपदी मुर्मुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई दिनुभएको छ ।
सामाजिक सञ्जालमार्फत राष्ट्रपति भण्डारीले बधाई दिँदै मुर्मुको कार्यकालमा नेपाल भारत सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
‘मित्रराष्ट्र गणतन्त्र भारतका पन्ध्रौँ राष्ट्रपति निर्वाचित हुनुभएकोमा महामहिम द्रौपदी मुर्मूज्यूलाई म हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्न चाहन्छु’ राष्ट्रपति भण्डारीले भन्नुभएको छ, ‘यहाँको कार्यकालमा हाम्रा दुई देश बिचको सहकार्यले नयाँ उचाई प्राप्त गर्नेमा म पूर्ण विश्वास व्यक्त गर्दछु।’
यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले पनि नवनिर्वाचित भारतीय राष्ट्रपति द्रौपदी मुर्मुलाई बधाई दिनुभएको छ ।
‘नेपाल सरकार र नेपाली जनताका तर्फबाट भारतको १५ औं राष्ट्रपति निर्वाचित भएकोमा द्रौपदी मुर्मुलाई हार्दिक बधाई दिन चाहन्छु’ देउवाले ट्विटरमा लेख्नुभएको छ, ‘आगामी दिनमा नेपाल र भारतबीच रहिआएको उत्कृष्ट सम्बन्धले नयाँ उचाई प्राप्त गर्नेमा म विश्वस्त छु।’
सत्तारुढ नेसनल डेमोक्रेटिक एलायन्सकी उम्मेदवार मुर्मु बिहीबार भएको निर्वाचनबाट प्रतिद्वन्द्वी यसवन्त सिन्हालाई भारी मतले हराएर राष्ट्रपति निवार्चित भएकी हुन्।