काठमाडौँ । पूर्व प्रधानमन्त्री झलनाथ खनालले चियाको गुणस्तर मापन गर्ने यन्त्र तत्काल स्थापना गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधि सभाको २०७९ साउन ५ गतेको बैठकमा विशेष समयमा उहाँले चिया निर्यात गरेर नेपालले आर्थिक उपार्जन गर्न सक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘चियाको गुणस्तर मापका लागि तत्काल स्वदेशमा नै यन्त्र स्थापना गर्नुपर्छ । चिया कारखाना बनाउन चाहनेलाई ५० प्रतिशत सहुलियत दिनुपर्छ ।’
सांसद खनालले चियाबगान निर्माणलाई राज्यले उच्च प्राथमिकतामा राखी चिया विकास बोर्डको भूमिका प्रभावकारी बनाउन र साना चिया किसानलाई कारखाना खोल्न सहकारीमार्फत् प्रोत्साहन गर्नुपर्छ भन्नुभयो ।
‘नेपाली चियाको इतिहासमा इलामलाई बिर्सनुहुँदैन† बढीभन्दा बढी किसानलाई चियाखेतीमा लाग्न प्रोत्साहन गर्नुपर्छ’ उहाँले भन्नुभयो– ‘चियाको उत्पादन, सङ्कलन र प्रशोधनमा लागेका उद्यमीलाई पनि राज्यले सहयोग गर्नुपर्छ ।’
सांसद खनालले १६ हजार साना किसान चियाखेतीमा संलग्न रहेको उल्लेख गर्दै इलाममा चियाको सङ्ग्रहालय बनाउनुपर्ने मागसमेत गर्नुभयो ।