काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले २०६२/०६३ सालको जनआन्दोलनमा संघीयताको नारा नलागेको स्मरण गर्नुभएको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संघीयता गए राजतन्त्र आउने भनेर दिएको अभिव्यक्तिप्रति जवाफ दिँदै बास्कोटाले जनआन्दोलनको स्मरण गराउनुभएको हो ।
बास्कोटाले गणतन्त्रसँग संघीयता मिसाउनुलाई ‘अप्राकृत्रिक गर्भाधानको ठिम्मन’ को संज्ञा दिनुभएको छ ।
‘सुप्रिमोले भनेछन् संघीयता ठीक छैन भन्नु राजतन्त्र फर्काउने कुरा हो’ बास्कोटाले सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘२०६२/६३ मा दुई बन्दुके मिलेर सत्ता बाँड्ने तारतम्य मिलाउने काम भैरहेको बेलामा सडकमा आम जनताले गणतन्त्रको नारा धन्काउँदै थिए, संघीयताको थिएन। यो अप्राकृतिक गर्भाधानको ठिम्मन हो।’
पछिल्लो समय देशभरिबाट संघीयता खारेजीको आवाज उठिरहँदा बास्कोटालगायत कतिपय एमाले नेताहरुले संघीयताविरुद्ध कडा अभिव्यक्ति दिइरहेका छन् ।
हाल जारी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा समेत संघीयता खारेजीको एजेण्डा प्रवेश गराइएको छ ।