काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाउनुभएको छ । उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।
पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गर्नुभएको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गर्नुभएको हो । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिनुभएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिनुभएकाले उहाँ रामायणलाई नेपालीमा रचना गर्न प्रेरित हुनुभएको थियो ।
‘बधुशिक्षा’ उहाँको अर्को प्रसिद्ध कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’ का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेख्नुभएको थियो– ‘भोलिभोलि भन्दैमा सव घर बितिगो बक्सियोस् आज झोली’ ।
नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ ।
भानुभक्तको निधन विसं १९२५ असोजमा भएको थियो ।
त्रिभुवन विश्वविद्यालयबाट भानुभक्तबारे स्नात्तकोत्तरमा थुप्रै शोधग्रन्थ लेखिएका छन् ।
घरघरमा उहाँले नेपाली भाषामा भावानुवाद गर्नुभएको रामायण पाठ गरी भानुजयन्ती मनाइन्छ । यस अवसरमा भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले आज विभिन्न कार्यक्रम गरी भानुजयन्ती मनाउँदै छन् ।
भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी रहेका देश एवं स्थानमा समेत मनाउने गरिएको छ ।

