रूकुम पश्चिम । रूकुम पश्चिमको आठबीसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीलाई वडा नं ३ का वडाअध्यक्ष केशरमान विकले कुटपिट गरेका छन् । कुटपिटबाट केसीको टाउकोमा चोट लागेको छ ।
प्रशासकीय अधिकृत केसीसँगै सूचना प्रविधि अधिकृत गणेश चन्दमाथि पनि कुटपिट भएको छ। चन्दलाई सामान्य चोटपटक लागेको छ भने केसीको टाउकोमा पाँच टाका लगाइएको छ ।
कार्यालयको काम सकेर आवासतर्फ फर्कंदै गर्दा बुधबार साँझ ६ बजेतिर आठबीसकोट–९, राडीज्युलामा आफूहरुमाथि कुटपिट भएको उनीहरुले बताएका छन्।
प्रमुख प्रशासकीय अधिकृत केसीले वडाध्यक्ष केशरमान बिकको योजनामा उनका दुई भाइ नेतृत्वको समूहले आफूहरुमाथि कुटपिट गरेको बताएका छन्।
आठबीसकोट नगरपालिका–३ मा पर्ने बसेरा–खदी सडक खण्ड निर्माणका क्रममा महालेखापरीक्षकको कार्यालयले देखाएको २९ लाख बेरुजुपछि केशरमानसँग आफ्नो विवाद भएको र त्यसकै रिस फेर्न बुधबार आक्रमण भएको केसीले बताए।