राम प्रकाश पुरी
कम्युनिस्ट आन्दोलन क्रान्ति र परिवर्तनको आन्दोलनका साथसाथै विचारको आन्दोलन हो । सर्वप्रथम त यो विचारको नै आन्दोलन हो । त्यसैले यसमा वैचारिक कारणले विभाजन आउने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । त्यसरी विभाजन ल्याउनका लागि वैचारिक भड्काव नै मुख्य जिम्मेवार हुन्छ । कम्युुुनिस्ट आन्दोलनमा बाहेक जहाँ विचारका क्षेत्रबाट काम गरिन्छ, त्यहाँ पनि भड्काव आउने कुरा त्यत्तिकै सम्भावना हुन्छ । त्यस प्रकारका वैचारिक भड्कावका घटना विश्वव्यापी रूपमा रहेका छन् ।
कम्युनिस्ट आन्दोलनमा आउने भड्कावले कुनै देशको कम्युनिस्ट आन्दोलन वा विश्वव्यापी रूपमा नै असर पार्दछन् । खासगरी कम्युनिस्ट पार्टी माक्र्सवादी–लेनिनवादी सिद्धान्तबाट विचलित हुन्छन् र उनीहरू क्रान्तिको मार्गबाट पतन भएर जान्छन् । उनीहरू आफू मात्र विचलित वा पतन भएमा त कम्युनिस्ट आन्दोलनलाई कुनै फरक पर्दैनथ्यो, तर उनीहरूले सामाजिक रूपले पनि असर पार्ने भएकाले जनताको क्रान्तिप्रतिको दृष्टिकोण नै नकारात्मक बन्न जान्छ । यस प्रकारको अवस्थामा कुनै पनि प्रकारका भड्कावको विरुद्ध माक्र्सवादी–लेनिनवादले सङ्घर्ष गर्नुको विकल्प नै छैन । कम्युनिस्ट आन्दोलनमा आउने भड्कावसम्बन्धी अध्ययन निम्नानुसार गर्न सकिन्छ ।
क. भड्कावका लक्षण
१. पूर्व मान्यताको परित्याग
कम्युनिस्ट आन्दोलनमा भड्काव हुनु भनेको स्वीकार गरिँदै आएका माक्र्सवादी–लेनिनवादी सैद्धान्तिक मान्यताबाट विचलन आउनु हो । जस्तै– वर्गसङ्घर्षप्रति अविश्वास पैदा हुनु, सशस्त्र सङ्घर्षप्रति अविश्वास पैदा हुनु, सङ्गठनात्मक प्रणालीको विघटन गर्नु, रणनीतिक विषयलाई अपरिपक्व परिस्थितिमा कार्यनीतिक बनाउनु (व्यवहारमा नै भड्काव), रणनीतिक विषयलाई कार्यनीतिक विषय बनाएर वास्तविक कार्यनीतिक प्रश्नलाई उपेक्षा गर्नु (वैचारिक भड्काव), सशस्त्र सङ्घर्षलाई क्रान्तिको कार्यक्रमको रूपमा अथ्र्याउनु, ठोस स्थितिको ठोस विश्लेषण गर्ने कुराप्रति उदासिन रहनु, शान्तिपूर्ण आन्दोलनलाई नै अन्तिम लक्ष्य बनाउनु वा शान्तिपूर्ण आन्दोलनलाई पूरै उपेक्षा गर्नु आदि माक्र्सवादी–लेनिनवादी मान्यताको परित्याग हो । भड्कावमा द्वन्द्ववादी तरिकाबाट विचार गर्ने परम्परालाई एक प्रकारले पूरै लत्याइएको हुन्छ । कम्युनिस्ट पार्टीको रूपमा रहुञ्जेल कम्युनिस्ट आचरण ग्रहण गरिएको हुन्छ वा कम्युनिस्ट आचरणलाई आत्मसात गर्ने प्रयास भइरहेको हुन्छ । तर भड्काव आउन थालेपछि ती पूर्व मान्यतामा विचलन आउन थाल्दछ । अस्वाभाविक निर्णय, कार्यशैली र व्यवहार अगाडि आउन थाल्दछ । सुरुसुरुमा माक्र्सवादी–लेनिनवादी सिद्धान्तको पक्षबाट वकालत गरेजस्तो देखिए पनि पछि पछि ती सबै कुरा परित्यक्त हुँदै जान्छन् ।
२. क्रान्तिप्रतिको तीव्र भोक
माक्र्सवादी–लेनिनवादी सिद्धान्तबाट विचलित हुने बेलामा जुनसुकै पनि भड्काव पैदा हुन सक्दछ । त्यो भड्काव क्रान्ति–भोक भएर पनि प्रकट हुन सक्दछ । त्यसैले त्यो क्रान्ति–भोकले भड्कावतिर लैजानका लागि आधार प्रदान गर्दछ । सामान्यतया नियमानुसार क्रान्ति हुनका लागि निश्चित आधार तयार हुनुपर्दछ । ती आधार हुन्– वस्तुगत वा बाह्य आधार र आत्मगत आधार । यीमध्ये कुनै एउटा मात्र आधार तयार भएको भएपनि क्रान्ति हुँदैन ।
समाजमा भएको अन्याय अत्याचार, भ्रष्टाचार, विभेद आदि विषयका विरुद्ध मानवजातिको लामो सङ्घर्ष चल्दै आएको छ । विभिन्न समयमा सङ्घर्ष, आन्दोलन र क्रान्तिसमेत भएका छन् । नयाँ नयाँ युग अगाडि आएका छन् । तर ती सबै कार्य सम्पन्न हुनका लागि सबै परिस्थितिको आवश्यक संयोजन भएको वा हुनुपर्ने कुरालाई भड्कावमा जाने पक्षले देख्न सक्दैन । क्रान्तिलाई आफ्नो इच्छाको कठपुतली सम्झिने प्रवृत्तिले त्यसमा घर गर्न थाल्दछ । त्यसरी क्रान्तिप्रतिको तीव्र भोकबाट प्रताडित भएर त्यसको भड्काववादी प्रवृत्ति प्रकट हुन थाल्दछ ।
३. क्रान्तिप्रति उदासिनता
भड्काव भनेको खालि क्रान्तिप्रतिको तीव्र आशक्तिबाट पैदा हुने आकङ्क्षा र त्यस आकाङ्क्षाबाट प्रकट हुने मनोगत व्यवहार, उग्रवामपन्थी गतिविधि मात्र होइन, भड्काव भनेको माक्र्सवादी–लेनिनवादी सिद्धान्तप्रतिको छोटो होस् वा लामो समयावधिसम्म टिक्न सफल भएर पनि क्रान्ति हुने कुनै सम्भावना नदेखिएपछि त्यसप्रतिको विश्वास गुमाउनु पनि हो । त्यसरी विश्वास गुमाइसकेपछि पूर्व मान्यतालाई छोड्दै क्रान्तिप्रति नकारात्मक धारणा निर्माण गर्दै जानु वा क्रान्तिप्रति उदासिनता राख्दै जानु पनि भड्काव हो ।
क्रान्तिका लागि काम गर्नुको अर्थ क्रान्ति नै हुनुपर्छ भन्ने अर्थमा मात्र लिनु हुँदैन । क्रान्तिका लागि काम गर्नुको अर्थ क्रान्तिको वातावरण निर्माण गर्दै जाने अभियानको रूपमा पनि बुझ्नुपर्दछ । क्रान्तिको आत्मगत तथा वस्तुगत आधार निर्माण हुने कुरा खास खास परिस्थितिमा निर्भर हुन्छ । मानिसको चाहनाले मात्र क्रान्ति हुने भएको भए सभ्यताको सङ्घर्षमा मानवजातिले हजारौँ–लाखौँ वर्ष गुजार्नुपर्ने थिएन । खास–खास परिस्थितिमा क्रान्ति हुनुको कारण यति हो कि क्रान्तिका लागि वस्तुगत तथा आत्मगत आधार निर्माण हुनुपर्छ । जति बढी क्रान्तिका लागि काम हुँदै जान्छन्, त्यति नै बढी क्रान्तिका वस्तुगत तथा आत्मगत आधार निर्माण हुँदै जान्छन् । क्रान्तिका लागि त्यस प्रकारको आधार तयार हुनका लागि खालि क्रान्तिकारीले गर्ने काम मात्र काफी हुँदैन ।
समाज विकासको गति, सामाजिक व्यवस्था, विश्व राजनीतिक व्यवस्था, राज्यबिचको आपसी व्यवहार, स्वार्थबिचमा हुने सङ्घर्ष, मानिसका बिचमा हुने व्यवहार, भेदभाव आदि विषयले पनि क्रान्तिका लागि आधार निर्माण गरिरहेका हुन्छन् । ती सकारात्मक तथा नकारात्मक भूमिकामा रहेका पक्षको सङ्घर्षको निर्णायक क्षणको अवधि क्रान्तिको अवस्था हो । यी सबै कुरालाई ध्यानमा राखेर विचार गर्ने हो भने क्रान्ति एउटा कठिन र लामो प्रक्रिया एवम् सङ्घर्षपूर्ण यात्रा हो भन्ने कुरा स्पष्ट छ । यस्तो लामो प्रक्रियाबाट हिड्न आँट गुमाएपछि उत्पन्न हुने कुरा भनेको क्रान्तिप्रति अविश्वास नै हो ।
क्रान्तिप्रति अविश्वास पैदा हुनु भनेको विद्यमान व्यवस्थालाई स्वीकार गर्नु वा त्यसमा केही सुधार गर्नेतर्फतिर नै ढल्किनु हो । यो भनेको चिजलाई हेर्ने दृष्टिकोणमा रहेको खोट नै हो । कम्युनिस्ट आन्दोलनमा भड्काव आउनु भनेको माक्र्सवादी–लेनिनवादी सिद्धान्तमा आएको विचलन भएकाले क्रान्तिप्रति अन्य सैद्धान्तिक दृष्टिकोणको तरिकाले विचार गर्दा भड्काव आउनु स्वभाविक हुन्छ । माक्र्सवादी–लेनिनवादी दृष्टिकोणबाट विचार गर्ने तरिका द्वन्द्ववादी हुने भएकाले विश्लेषण र निष्कर्ष बढी सही हुन्छन् । क्रान्तिसम्बन्धी विचार गर्ने तरिकाबारे पनि ठिक त्यस्तै हो । यसरी लामो समयसम्म क्रान्ति नहुनाले क्रान्तिप्रतिको विश्वास गुम्न पुग्दछ र निराशा आउन थाल्दछ । त्यस्तै क्रान्तिको महत्वाकाङ्क्षाबाट उठाइएको गतिविधिले पनि क्रान्तिको फल प्राप्त हुन सकेन भने पनि क्रान्तिप्रति उदासिन नीति अपनाउने परिस्थिति अगाडि आउन थाल्दछ । यस्ता विभिन्न भड्कावले क्रान्तिप्रति उदासिन बनाउँदै लैजान्छन् ।
४. गलत निर्णय
गलत निर्णयको शिकार हुनु नै कम्युनिस्ट आन्दोलनमा भड्कावको प्रारम्भिक प्रस्थानविन्दु हो । आन्दोलनभित्र हमेशा विभिन्न प्रकारका भड्काव आइरहेका हुन्छन् । पार्टीभित्र पनि त्यो कुरा सत्य हो । तर माक्र्सवादी–लेनिनवादी सैद्धान्तिक पद्धतिलाई दृढतापूर्वक आत्मसात गरेर मात्र सबै प्रकारका भड्कावका विरुद्ध लड्न सकिन्छ । माक्र्सवादी–लेनिनवादी पद्धति र सिद्धान्तलाई जति बुझिएको छ, त्यति रूपमा भए पनि तर सही ढङ्गले कार्यान्वयन गरेर नै भड्कावमाथि विजय हासिल गर्न सकिन्छ । त्यसका साथै कम्युनिस्ट आन्दोलन वा कम्युनिस्ट पार्टीभित्र ध्यान दिइनुपर्ने सबैभन्दा महत्वपूर्ण कुरा हो– संस्थागत निर्णय । संस्थागत निर्णय सही भएन भने पूरै सङ्गठन भड्कावको शिकार बन्न पुग्दछ । त्यसैले निर्णय वस्तुपरक भएर गरिनुपर्दछ ।
आत्मपरक भएर निर्णय गर्दा अधिभूतवादी सोचाइ अगाडि आउँछ र ठोस स्थितिको ठोस विश्लेषण हुन सक्दैन । त्यो समयमा ठोस स्थितिको ठोस विश्लेषण भन्दै आत्मपरक सोचाइलाई संस्थागत निर्णय बनाएर अगाडि सार्ने काम सुरु हुन्छ । यो भड्काव आउने लक्षण हो । निर्णयका आधारमा सङ्गठन चल्दछ, त्यसरी गलत निर्णय भएपछि पूरै सङ्गठन गलत बाटोतर्फ बढ्न थाल्दछ । सैद्धान्तिक, वैचारिक विचलनले गलत निर्णय गर्नका लागि पूर्वधार बनाइसकेका हुन्छन्, तैपनि ठोस रूपमा निर्णयमा त्यो गलत प्रवृत्ति वा भड्कावलाई देख्न सकिन्छ । निर्णय अस्वाभाविक, अवस्तुवादी, परिस्थितिसित मेल नखाने प्रकारले अगाडि आए भने भड्काव आउँदै छ भन्ने कुरा अनुमान गर्न गाह्रो पर्दैन ।
ख. भड्कावको व्यवहार
१. अराजकतावादी गतिविधि
का. स्तालिनले अराजकतावादीको आलोचना गर्दै द्वन्द्ववादी तरिकाबारे लेख्नुभएको छ : “द्वन्द्ववादी तरिकालाई किन अघि सार्ने ? जसले जीवनलाई अराजकतावादले झैँ दुबै आँखा चिम्लेर हेर्दैन, जसले जीवनको ढुकढुकी छाम्छ र स्पष्ट रूपले भन्छ : जीवन गतिशील र परिवर्तनशील भएकोले जीवनको प्रत्येक क्षेत्रमा दुई प्रवृत्ति हुन्छन् : सकारात्मक र नकारात्मक । पहिलोलाई हामीले अँगाल्नुपर्छ, दोस्रोको विरोध गर्नुपर्छ” (स्तालिन, पृ. १७) । अराजकतावादले जीवन र जगत्लाई अधिभूतवादी तरिकाले हेर्ने भएकाले का. स्तालिनले त्यसको आलोचना गर्दै द्वन्द्ववादी तरिकाको महत्वबारे प्रष्ट पार्नुभएको थियो । यस सिलसिलामा का. मोहनविक्रम सिंहले लेख्नुभएको छ– “अराजकतावादीले एकै समयमा एउटै कुरालाई राम्रो पनि, अर्कातिर नराम्रो पनि बताउने, एकैसाथ त्यसलाई उपयोग पनि गर्ने, अर्कातिर विरोध पनि गर्ने कुरालाई गलत बताउँछन्” (सिंह, पृ. ९) । अराजकतावादीले चिजलाई द्वन्द्ववादी ढङ्गले हेर्ने कुरालाई पूरापूर अस्वीकार गर्दछन् भन्ने कुरातर्फ का. सिंहले सङ्केत गर्नुभएको छ । उनीहरूले क्रान्तिलाई आफ्नो चाहनानुसार सम्पन्न हुने घटनाको रूपमा लिने भएकाले क्रान्तिका संवाहक र सम्पन्न गर्ने सम्पूर्ण शक्तिका रूपमा आफूलाई मात्र बुझ्न पुग्दछन् । यसको परिणामस्वरूप उनीहरू अराजकतावादी गतिविधि गर्न थाल्दछन् ।
२. माक्र्सवादी–लेनिनवादी सैद्धान्तिक मूल्यमाथि आक्रमण
माक्र्सको समयमा प्रथम इन्टरनेसनलमा सर्वहारा वर्गको सत्ता, दर्शन र राजनीतिसम्बन्धी विवाद भएको थियो । त्यतिबेला माक्र्सवादको संस्थागत विकास भइसकेको अवस्था थिएन । तर पनि आन्दोलन, क्रान्ति, राज्य र मुक्तिका विषयमा प्रथम इन्टरनेसनलमा विवाद हुनुको साथै भड्काव आएका थिए । सर्वहारा वर्गको सङ्गठन, सत्ता, राज्य आदि विषयलाई अस्वीकार गरेर अराजकतावादी र सुधारवादीले प्रथम इन्टरनेसनलमा समस्या उत्पन्न गरेका थिए । माक्र्स–एङ्गेल्सले अर्थवाद र सुधारवादका विरुद्ध तत्कालीन समयमा सङ्घर्ष गर्नुपरेको थियो । त्यस्ता अराजकतावादी र अवसरवादी विचारमा मुख्यतः लासालवाद, पु्रधोवाद, ब्लाङ्कीवाद, बाकुनिनवाद थिए । प्रुधोले ‘दरिद्रताको दर्शन’ को पुस्तक लेखेर आफ्नो अराजकतावादी एवम् अवसरवादी विचारलाई मूर्त रूप दिन खोजेका थिए । त्यसका विरुद्ध माक्र्सले ‘दर्शनको दरिद्रता’ पुस्तक लेखेर पु्रधोका गलत विचारको आलोचना गर्नुपरेको थियो ।
त्यस्तै, ब्लाङ्की, लासाल, वाकुनिनका ‘क्रान्तिकारी’ अराजकतावादका विरुद्ध पनि माक्र्स–एङ्गेल्सले कडा सङ्घर्ष गर्नुपरेको थियो । माक्र्स—एङ्गेल्सको सङ्घर्षको परम्परालाई माक्र्सवादी–लेनिनवादीले अगाडि बढाउँदै आएका छन् । लेनिन, स्तालिन र माओले पनि अराजकतावादका विरुद्ध कडा सङ्घर्ष गरे । नेपालमा त्यो परम्परालाई दृढतापूर्वक अगाडि बढाउनुका साथै रिममा आएका भड्कावका विरुद्ध समेत का. मोहनविक्रम सिंहले विभिन्न सैद्धान्तिक तथा आधार प्रदान गर्नुभएको थियो । कम्युनिस्ट आन्दोलनमा आउने भड्कावले सबैभन्दा पहिले आक्रमण गर्ने क्षेत्र भनेको माक्र्सवादी–लेनिनवादी सिद्धान्त नै हो ।
त्यो चाहे कथित क्रान्तिकारीताका नाममा अगाडि आओस् वा कुनै सृजनात्मक विकासका नाममा आएको दक्षिणपन्थी अवसरवादी विचार होस्, त्यसको विरोध र आक्रमणको तारो भनेकै माक्र्सवादी–लेनिनवादी सैद्धान्तिक मूल्य नै हुन्छन् । किनभने भड्काव आउनुपूर्व उक्त तत्वको सम्बन्ध माक्र्सवाद–लेनिनवादसँग नै हुन्छ, तर जब भड्काव आउँछ, त्यसले आफूलाई फरक र सही देखाउन माक्र्सवादी–लेनिनवादी सैद्धान्तिक मूल्यलाई भत्काउने प्रयत्नमा केन्द्रित हुन्छ ।
३. व्यक्तिगत गुणगान वा चरित्रहत्याको राजनीति
आफूलाई मन प¥यो भने व्यक्तिपूजाको राजनीति गर्ने र मन परेन भने व्यक्तिको चरित्रहत्या गरेर राजनीति गर्ने भड्काव आएपछि प्रकट हुने व्यवहार हो । उग्रवामपन्थी तत्वमा यस प्रकारको चरित्र बढी मात्रामा हावी रहेको हुन्छ । वामपन्थी सङ्कीर्णवादी तत्वले पनि व्यक्तिको अवमूल्यन हुनेगरी गालीगलौजको राजनीतिलाई अगाडि बढाउँछन् । त्यस प्रकारको राजनीतिले उनीहरूलाई सही ठाउँमा त पु¥याउँदैन नै, तर त्यसका साथै आरोपित पक्षबाट सही ढङ्गबाट खण्डन आउन सकेन भने उनीहरूको गालीगलौजको राजनीतिले भ्रम उत्पन्न गर्दछ । जताबाट भए पनि कम्युनिस्ट आन्दोलनमा क्षति पुग्न सक्ने स्थिति रहेकाले व्यक्तिपूजा वा व्यक्तिचरित्र हत्याको राजनीति सैद्धान्तिक र व्यावहारिक दुबै रूपले नै गलत हुन्छ । यस प्रकारको राजनीति माक्र्सवादी–लेनिनवादी सिद्धान्तबाट विचलित भइसकेपछि देखिन सक्दछ । तर त्यो दीर्घकालीन हुँदैन, क्षणिक मात्र हुन्छ ।
४. व्यक्तिगत आतङ्कवाद
व्यक्तिगत आतङ्कवाद उग्रवामपन्थी भड्कावको विकृत अभिव्यक्ति हो । व्यक्तिगत आतङ्कको स्थिति सृजना गर्ने तथाकथित क्रान्तिकारी व्यवहार व्यक्तिगत आतङ्वाद हो । माक्र्सवादी–लेनिनवादी आतङ्कको सापेक्षिक विरोधी हुन् । तर आतङ्कवादका विरोधी नै हुन् । आतङ्कको कतिपय अवस्थामा क्रान्तिकारी महत्व हुने कुरालाई लेनिनले पनि स्वीकार गर्नुभएको छ, तर सिद्धान्तका रूपमा नै त्यसलाई ग्रहण गर्ने कुरामा उहाँ सहमत हुनुहुन्न । उहाँले भन्नुभएको छ :
“कम्युनिस्टको…. एउटा सबैभन्दा ठुलो घातक भुल यो धारणा हुन्छ कि क्रान्ति खालि क्रान्तिकारीले नै ल्याउन सक्दछ । यसको विपरीत सशस्त्र क्रान्तिकारी कार्यको सफलताका लागि यो जरूरी हुन्छ कि तपाईले यो सम्झनुस् र यो कुरा व्यवहारमा ल्याउनुहोस् कि क्रान्तिकारीले एक विकसित र सक्रिय वर्गको अग्रिम दस्ताको भूमिका मात्र नै पूरा गर्न सक्दछन् । अग्रगामी दस्ताले अग्रगामी दस्ताको भूमिका त्यो बेला नै पूरा गर्न सक्छन्, जब उसले त्यो जनसमूहलाई अगाडि ल्याउन सक्छ र त्यसबाट काटिएर अलग हुने कुराबाट बच्दछ, जसको उसले नेतृत्व गर्दछ” (लेनिन, माक्र्सवादको झण्डाको मुन्तिर) ।
का. मोहनविक्रम सिंहले भन्नुभएको छ– “त्यो जनसमूह, जसको उसले नेतृत्व गर्दछ, उनीहरूबाट काटिएर ‘क्रान्ति खालि क्रान्तिकारीले मात्र गर्दछन्’ भन्ने धारणा नै व्यक्तिगत आतङ्कवाद हो” (सिंह, पृ. २३१) । व्यक्तिलाई त्रसित तुल्याएर आफ्नो पक्षमा पार्ने व्यवहारका कारण त्यसरी आफ्नो पक्षमा आएको व्यक्तिको सैद्धान्तिक एवम् वैचारिक प्रतिबद्धता, वर्गीय चरित्र वा जनताका बिचमा उसले गर्ने कार्यव्यवहारबारे भड्कावमा उछिट्टिएको पक्षले विचार गर्न सक्दैन । त्यसले आफ्नो पक्षमा समर्थन मात्र खोज्ने भएकाले के–कस्ता तत्वले सङ्गठनभित्र प्र्रवेश गरेका छन् ? भन्ने प्रश्नलाई उपेक्षा मात्र गरिरहन्छ । त्यसरी व्यक्तिगत आतङ्कवादबाट गलत तत्व चुपचापले उक्त भड्काववादी पक्षमा सामेल भइदिन्छन् र आफ्नो वर्गीय चरित्र र स्वार्थअनुसार काम गरिरहन्छन्। त्यस प्रकारको अवस्थामा भ्रष्टाचारी, जनविरोधी तत्व, दुश्मनका एजेन्टले त्यहाँ घर जमाएर बस्न थाल्दछन् ।
व्यक्तिगत आतङ्कवादको आडमा राजनीति गर्नेहरूको शक्ति रहुञ्जेल उनीहरू चुपचाप समर्थन गरिदिएर वा केही दिएजस्तो वा गरेजस्तो गरेर आफ्नो स्वार्थ पूूरा गरिरहन्छ । तर जब व्यक्तिगत आतङ्कवादको आडमा राजनीति गर्न सम्भव भइरहँदैन र उनीहरूको पतन हुन थाल्दछ, तब त्यहाँ आश्रय लिएका तत्व शक्तिमा आउन थाल्दछन् र उनीहरूले जनतालाई गर्नसम्मको दोहन गर्दछन् । व्यक्ति आतङ्कवादी राजनीति गर्नेले त्यो समयमा मित्रशक्तिबाट भएका टिप्पणी वा आलोचनालाई सम्पूर्ण रूपमा आफ्नो विरोधीको रूपमा सम्झन पुग्दछन् । यसरी भड्कावको व्यवहार व्यक्ति आतङ्कवादमा प्रकट हुँदा शत्रुलाई मित्र र मित्रलाई शत्रु सम्झिने तहमा झर्दछ ।
५. अस्वाभाविक साँठगाँठ
उग्रवामपन्थी तत्व कम्युनिस्ट आन्दोलनमा आएको भड्कावका परिणाम हुन् । त्यसैगरी सङ्गठनलाई विर्सजन गर्ने र सुधारवाद तथा दक्षिणपन्थी दिशामा प्रवेश गर्ने तत्व पनि भड्कावकै परिणाम हुन् । उनीहरूले माक्र्सवादी–लेनिनवादी सिद्धान्त र त्यसलाई मान्ने शक्तिबाहेक कहाँ कोसित साँठगाँठ गर्ने हुन्, त्यसको कुनै निश्चित हुँदैन । दुश्मन शक्तिसितको सम्बन्ध वा मित्रशक्तिसितको सम्बन्धको प्रश्न उनीहरूका लागि कुनै सैद्धान्तिक प्रश्नको रूपमा रहेको हुँदैन । जुन मित्रशक्तिले उनीहरूको गलत नीतिको दृढतापूर्वक आलोचना र विरोध गर्दछ, त्योसित दुश्मनको व्यवहार गर्ने र उनीहरूलाई समर्थन गर्ने पक्ष, जो भए पनि हुन्छ, त्योसित मित्रवत् व्यवहार रहने वा कुनै प्रकारको साँठगाँठ हुन सक्ने सम्भावना कम्युनिस्ट आन्दोलनको भड्कावमा गएका पक्षमा हुने गर्दछ ।
दोस्रो इन्टरनेसनलमा काउत्स्कीमा भड्काव आयो । पछि स्पष्ट हुँदै गयो कि काउत्सीको प्रतिक्रियावादमा पतन भयो र कम्युनिस्ट आन्दोलनका विरुद्धमा प्रतिक्रियावादी वर्गसित साँठगाँठ गर्न पुगे । त्यस प्रकारको भड्काव सोभियत सत्ताको विकासको क्रममा रूसमा पनि देखा परेको थियो । खासगरी ट्राटस्कीमा सोभियत सत्तालाई विघटन गर्नुपर्छ भन्ने भड्काव अगाडि आयो । त्यसका विरुद्ध स्तालिनले सुझबुझपूर्ण र दृढतापूर्वक सङ्घर्ष गरेकाले सोभियत सत्तामाथि त्यसको असर पर्न सकेन । त्यसैगरी उग्रवामपन्थी तत्वले पनि साम्राज्यवादी एजेन्टसित आन्तरिक साँठगाँठ गर्न सक्ने, घरेलु प्रतिक्रियावादी वर्गसित गोप्य साँठगाँठ गर्ने र अरू दक्षिणपन्थीले पनि सत्ताप्राप्तिका लागि जुनसुकै सम्झौता गर्न सक्दछन् । विभिन्न अवधिमा भड्कावका विविध व्यवहार सतहमा आउन सक्दछन् । त्यस सन्दर्भमा त्यसको साँठगाँठको अस्वाभाविक चित्र पनि अगाडि आउन सक्दछ ।
६. मित्रशक्तिमाथि आक्रमण
मित्रशक्तिले आत्मसात गरेको सैद्धान्तिक मान्यताभन्दा भड्कावमा गएको पक्षको बेग्लै मान्यता हुने भएकाले फरक विचार र कार्यशैलीमाथि आक्रमण गर्नुपर्ने हुन्छ । त्यो आक्रमणका तारो मित्रशक्ति नै हुने गर्दछन् । ती मित्रशक्तिका दुश्मन पक्षसित आक्रमणका लागि सहकार्य हुन सक्ने भएकाले अस्वाभाविक रूपले दुश्मन पक्षसित समेत साँठगाँठ हुन सक्दछ । यसका साथै कम्युनिस्ट आन्दोलनको माक्र्सवादी–लेनिनवादी मान्यताबाट उछिट्टिएपछि भड्कावको शिकार हुने पक्षले आफूलाई सही प्रमाणित गर्नका लागि तथ्य प्रस्तुत गर्नुपर्ने हुन्छ । तर दुःखको कुरा, उनीहरूका लागि त्यो सम्भव हुँदैन । उनीहरूले या त माक्र्सवाद–लेनिनवाद बेठिक छ भनेर पुँजीवादको खेमामा गएर आफ्नो हैसियत प्रष्ट पार्नुपर्छ । तर त्यो कार्य उनीहरूले गर्न सक्दैनन् । किनभने उनीहरूले आफूलाई खाँटी क्रान्तिकारी र कम्युनिस्ट भनेर जनताको बिचमा वयान पनि दिनुपर्दछ ।
त्यस प्रकारको अवस्थामा उनीहरूले माक्र्सवाद–लेनिनवादको आवरणमा आफ्नो ‘क्रान्तिकारी’ चरित्र प्रदर्शन गर्नुपर्ने हुन्छ । त्यो कुराका लागि उनीहरूलाई वास्तविक क्रान्तिकारी र माक्र्सवादी–लेनिनवादीले सम्भव हुन दिँदैन । त्यो अवस्थामा भड्कावमा गएको पक्षले अपनाउने भनेको नीति भौतिक आक्रमण हो । विभिन्न ढङ्गले आरोपित गर्ने र मित्रशक्तिका कार्यकर्ता, नेता र समर्थकमाथि आक्रमण गर्नुका साथै हत्यासमेत गर्न सक्ने नीति उनीहरूले लैजान्छन् । मित्रशक्तिको उपस्थिति उनीहरूका लागि असह्य वा अवाञ्छनीय हुन जान्छ । त्यो शक्तिलाई उनीहरूले आफ्नो विकासको बाधाको रूपमा अथ्र्याउन थाल्दछन् । त्यसैले उनीहरूको आलोचना गर्ने जति सबै उनीहरूका वर्गीय दुश्मन हुन पुग्दछन् र आक्रमणको नीति अपनाउन पुग्दछन् । उनीहरूले संयुक्त मोर्चाको नीति, मित्रशक्तिसितको सम्बन्ध, विशेष परिस्थितिमा दुश्मनशक्तिसित समेत गरिने कार्यगत एकता, ठोस स्थितिको ठोस विश्लेषण आदि प्रश्नलाई पूरै अस्वीकार गरेर आफ्ना तथाकथित समर्थकबाहेक अरू केही पनि देख्न सक्दैनन् । मित्रशक्तिलाई आक्रमण गर्ने काम खालि उग्रवामपन्थी तत्वले मात्र गर्दैनन्, दक्षिणपन्थी तत्वले पनि गरिरहेका हुन्छन् ।
उनीहरूले माक्र्सवादको आवरणमा संसदीय बाटो अपनाएर पुँजीवादी वा प्रतिक्रियावादी वर्गसित समेत शान्तिपूर्ण प्रतिष्पर्धाको नीति लिएको बेला त्यसको विरोध क्रान्तिकारी मित्रशक्तिबाट हुन जान्छ । त्यो बेलामा उनीहरूले पूरै क्रान्तिको विरोध गरेर वा सशस्त्र सङ्घर्षप्रति वितृष्णा पैदा गरेर जनताको न्यून चेतनाको फाइदा उठाउन प्रयत्न गर्नुका साथै प्रतिक्रियावादी वर्गसित मिलेर मित्रशक्तिलाई समाप्त पार्ने योजनासमेत बनाउन सक्दछन् । कम्युनिस्ट आन्दोलनमा आएका भड्काव र त्यसमा सामेल भएका पक्षले विश्वभरि नै मित्रशक्तिमाथि गरेका सयौँ दुव्र्यवहार हेर्न सकिन्छ । उनीहरूका ती व्यवहारलाई हेर्न टाढा जानु पर्दैन, नेपालमा नै हेर्न, बुझ्न र पढ्न सकिन्छ ।
७. सिद्धान्तको उल्लङ्घन वा उपेक्षा
कम्युनिस्ट आन्दोलनमा सैद्धान्तिक पक्षलाई धेरै नै महत्व दिइन्छ । उपदेशात्मक वा शास्त्रीय मान्यता मात्र बोक्ने भएको भए सैद्धान्तिक पक्षहो महत्व हुने थिएन । कम्युनिस्ट सङ्गठन, कम्युनिस्ट सदस्य आदिले आचरण गर्ने व्यावहारिक जीवनदेखि युग परिवर्तनसम्मका मार्गनिर्देशन गरिएका सैद्धान्तिक पक्ष कम्युनिस्ट आन्दोलनमा प्रयोगमा आउने भएकाले तिनको महत्व हुन्छ । जस्तै– वर्गसङ्घर्षको मान्यता, अन्तर्विरोधको सिद्धान्त, लेनिनवादी सङ्गठनात्मक प्रणाली, राजनीतिक शक्तिको विश्लेषण, ठोस स्थितिको ठोस विश्लेषण गरेर रणनीतिक तथा कार्यनीतिक प्रश्नबारे निर्णय, सम्पूर्ण निर्णयमा द्वन्द्ववादी तरिकाको प्रयोग आदि ।
त्यस्तै, जीवन संस्कार, परम्परासम्बन्धी दृष्टिकोण, इतिहासको व्याख्या गर्ने तरिका, विश्व दृष्टिकोणको प्रश्न आदिबारे माक्र्सवादी–लेनिनवादी सिद्धान्तले दिशानिर्देशन गर्दछ । माक्र्सवाद–लेनिनवाद मानव व्यवहारलाई सही ढङ्गले प्रस्तुत गर्न लगाउने वैज्ञानिक र व्यावहारिक सिद्धान्त हो । क्रान्तिको विषयमा, सङ्गठन सञ्चालनको विषयमा, आचरण निर्माण गर्ने विषयमा, मानिसको बिचमा कायम गरिने व्यावहारिक सम्बन्धको बारेमा तथा जगत् र जीवनलाई बुझ्ने, व्याख्या गर्ने र परिवर्तन गर्ने विषयमा माक्र्सवाद–लेनिनवाद कम्युनिस्ट जीवनको मार्गदर्शन हो । यी सबै कारणले सैद्धान्तिक पक्षको महत्व भएको हो । यदि यी कुरा आचरण गर्न सकेन भने न कुनै व्यक्ति कम्युनिस्ट हुन सक्दछ, न कुनै सङ्गठन नै कम्युनिस्ट हुन सक्दछ ।
तर भड्काव भनेको यिनै कुराबाट विचलित भएर अर्को प्रकारले प्रस्तुत हुने प्रक्रिया हो । सैद्धान्तिक पक्षका निश्चित शर्तमाथि धावा नबोलेर भड्काव आउन सक्दैन । त्यसका लागि क्रान्तिका नियम, अन्तर्विरोधको अवस्था, ठोस स्थितिको ठोस विश्लेषण आदि कैयन सैद्धान्तिक विषयलाई उल्लङ्घन गर्नु वा तिनको उपेक्षा गर्नु भड्कावमा जाने पक्षका लागि बाध्यता बन्न जान्छ । त्यो पक्षको सोचाइमा नै विचलन आउने भएकाले सैद्धान्तिक पक्षको अतिमूल्याङ्कन वा अवमूल्यन गर्नु वा उपेक्षा गर्नु उनीहरूको जीवनशैली बन्न जान्छ । यस्ता घटना प्रथम इन्टरनेसनल, दोश्रो इन्टरनेसनल, सोभियत सत्ता, विश्वका विभिन्न कम्युनिस्ट पार्टी र नेपालमा पनि प्रशस्त मात्रामा देख्न सकिन्छ ।
८. सङ्गठनात्मक नीतिको उल्लङ्घन
सङ्गठनात्मक नीतिको विषयलाई लिएर बोल्सेभिक र मेन्सेभिक धार निर्माण भएका थिए । त्यो नीतिका कारणले बोल्सेभिक शक्तिले क्रान्तिको बेग्लै इतिहास निर्माण ग¥यो भने मेन्सेभिकको पतन हुन पुग्यो । प्रष्ट छ कि कम्युनिस्ट पार्टीले आत्मसात गर्ने सङ्गठनात्मक नीतिको धेरै ठुलो महत्व छ । यसमा आबद्ध भएर नै कम्युनिस्ट पार्टीले क्रान्तिका लागि काम गर्ने हो र गर्न सक्दछ । तर जब यसमा आबद्ध हुन नसक्ने वा यसबाट विचलित हुने अवस्था सृजना भयो भने पार्टी र सङ्गठनको विघटन गर्नेसमेतको भड्काव आउन सक्दछ । त्यसरी पार्टी वा सङ्गठनमा आउने भड्कावको दुष्परिणामले सम्पूर्ण आन्दोलनमा समेत सङ्गठनात्मक नीतिको उल्लङ्घन गर्ने भड्काव निम्त्याउन सक्दछ । सङ्गठनात्मक नीति भन्नाले कम्युनिस्टका लागि लेनिनवादी सङ्गठनात्मक नीति हो र त्यसका आधारमा निर्माण गरिएका संस्थागत नियम, विधि, विनियम र निर्णय हुन् । यस्ता नीतिको उल्लङ्घन गर्ने कार्य सबै प्रकारका भड्कावले गर्दछन् ।
उग्रवामपन्थी भड्कावमा, दक्षिणपन्थी भड्कावमा वा पार्टीभित्र पनि अतिजनवाद वा केन्द्रीयतावाद खोज्ने कतिपय पक्षले सङ्गठनात्मक नीतिको उल्लङ्घन गर्न रुचाउँछन् । उनीहरूका यससम्बन्धी विभिन्न तर्क अगाडि आएको पाइन्छ । संस्थागत रूपमा भड्काव आएको पक्षले त या त यी नीति त्याग्दछ या पार्टीभित्र अतिजनवाद वा केन्द्रीयतावादको नीति अगाडि सार्दछ । त्यसले माक्र्सवादी–लेनिनवादी सङ्गठनका रूपमा त्यसलाई विकास हुन दिन्न । त्यसैले भड्काव आउने कुरा केवल एउटा पक्षमा मात्र नभएर विविध पक्षमा आउने हुन्छ र सङ्गठनका नीतिको उलङ्घन हुन जान्छ । निर्णय कार्यन्वयन नहुने, गोपनीयता बच्न नसक्ने आदि घटना घट्दै जान्छन् । त्यसले पार्टी सङ्गठनलाई छिट्टै नै समाप्त पार्नका लागि आधार तयार पार्दछ, जो कम्युनिस्ट सङ्गठन भएर रहन सक्दैन ।
ग. भड्कावका परिणाम
१. क्रान्ति र परिवर्तनप्रति जनसमुदायको नकारात्मक दृष्टिकोण
क्रान्तिले नयाँ र युक्तिसङ्गत युगको स्थापना गर्ने भएकाले कम्युनिस्ट आन्दोलनले परिवर्तनका लागि क्रान्तिलाई नै माध्यमको रूपमा स्वीकार गर्दछ । क्रान्तिको औचित्य स्पष्ट रूपले सत्ता, आर्थिक जीवन, सामाजिक मूल्य, सांस्कृतिक व्यवहार आदिको परिवर्तनको परिभाषाबाट पुष्टि हुन्छ । त्यसैले क्रान्तिलाई सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिकलगायत राज्यसत्ताको स्वरूप परिवर्तन गर्ने एक माध्यमको रूपमा कम्युनिस्ट आन्दोलनमा स्वीकृत गरिएको छ । यो एक सशक्त र अन्तिम हतियार हो, जसको औचित्यपूर्ण प्रयोग भएन भने स्वयम् प्रयोगकर्ताका लागि घातक पनि बन्न सक्दछ । कम्युनिस्ट पार्टीले क्रान्तिको हकदारका रूपमा व्यापक जनसमुदायलाई प्रस्तुत गर्नुमा युग परिवर्तनको भव्य योजना आश्रित छन् भन्ने कुरा प्रष्ट छ । होइन भने कम्युनिस्ट पार्टीसँग क्रान्तिकारी पात्रको अभाव हुँदैन, उसँग कुर्बानी गर्न सक्ने कैयौँ पार्टी सदस्य हुन्छन्, उनीहरूलाई नै अगाडि सारेर वा क्रान्तिको हकदार बनाएर कम्युनिस्ट पार्टीले जुनसुकै बेला पनि क्रान्तिको घोषणा गर्न सक्दथ्यो ।
तर कम्युनिस्ट पार्टीले त्यस्तो गर्दैन, कम्युनिस्ट पार्टीका विभिन्न क्रान्तिकारी शर्तमाथि विश्वास गरेर आफ्नो काम गर्दछ । तर विचलन आयो भने यी सबै कुराप्रति बेवास्ता हुन्छ र क्रान्तिकारी भड्काव अगाडि आउँदछ । त्यसले अपरिपक्व परिस्थितिमा आफूलाई विचरित गराउन थाल्दछ, त्यसको नकारात्मक असर पर्दै जान्छ । त्यसको पतन पनि हुन्छ तर ठुलो क्षति गराएर त्यसको नकारात्मक असर हुन्छ : क्रान्ति र परिवर्तनप्रति जनसमुदायको नकारात्मक दृष्टिकोण बन्नु । आखिरमा भड्कावबाट दुश्मन पक्ष बलियो बन्ने र क्रान्तिकारी शक्ति सङ्कटमा पर्दै जाने स्थिति सृजना हुन्छ । त्यो भनेको कम्युनिस्ट आन्दोलनको खराब समय अगाडि आउनु हो ।
२. कम्युनिस्ट आन्दोलन कमजोर
कम्युनिस्ट आन्दोलनमा भड्काव आउनु भनेको सर्वप्रथम सैद्धान्तिक पथविचलन हो । त्यसमा विचलित व्यवहारको प्रकट हुँदै जानु र पुँजीवादतिर स्खलित हुँदै जाने यात्रारम्भ हो । कम्युनिस्ट आन्दोलन समाजमा हेपिएको वर्ग, जो बहुसङ्ख्यक जनताको समूह हो, त्यसको मुक्तिका लागि अस्त्रको रूपमा विकास गरिएको एउटा साधन हो । यो साधन सैद्धान्तिक धारले धारिलो बनाइएको हुन्छ । त्यो सैद्धान्तिक धार भनेको माक्र्सवादी–लेनिनवादी सिद्धान्त नै हो । त्यसलाई त्याग गरिसकेपछि सर्वप्रथम यो साधन भुत्ते हुन जान्छ । त्यसको अर्थ हो– त्यसले क्रान्तिका कुनै पनि अभिभारा पूरा गर्न सक्दैन । कुनै देशको कम्युनिस्ट पार्टीमा आउने विचलन भनेको माक्र्सवादी–लेनिनवादी मान्यताबाट उछिट्टिएर आफ्नो शैलीबाट त्यो पार्टी व्यक्त हुनु हो ।
त्यो सृजनात्मक विकासका नाममा पनि अगाडि आएको हुन सक्दछ, त्यो क्रान्तिकारी लफ्फाजीका रूपमा पनि अगाडि आएको हुन सक्दछ । त्यो सङ्गठनात्मक सिद्धान्त विरुद्धको मान्यतालाई लिएर पनि अगाडि आएको हुन सक्दछ । त्यो पार्टीभित्रको दुई लाइनको सङ्घर्षको रूपमा प्रकट भए पनि स्वयम् पार्टीलाई समाप्त पार्ने एउटा दुरासयका रूपमा पनि प्रकट हुन सक्दछ । ती सबै कुरामध्ये जे भए पनि कुनैले पनि सशक्त कम्युनिस्ट पार्टी निर्माणको प्रश्नलाई ध्यानमा राख्न सक्दैनन् । सिद्धान्त, सङ्गठनात्मक नीति र मजदुर वर्गलाई आधार बनाएर मात्र कम्युनिस्ट पार्टीको शक्ति निर्माण हुन्छ । तर यिनै कुरा कुनै कम्युनिस्ट पार्टीले परित्याग गरिसकेपछि त्यो पार्टी कम्युनिस्ट पार्टीको रूपमा रहन सक्दैन । त्यसरी कुनै कम्युनिस्ट पार्टीमा विचलन आएपछि कम्युनिस्ट आन्दोलन कमजोर बन्न जान्छ ।
३. सङ्गठन विघटन
भड्काव एउटा पार्टीभित्र दुई लाइनको सङ्घर्ष रूपमा पनि देखिन सक्दछ । सही पक्षको विजय हुन सकेन भने सङ्गठन विघटन हुन्छ वा सही रूपले सञ्चालित भइरहेको साङ्गठनिक प्रक्रिया भङ्ग भएर पथविचलित हुन्छ । खासगरी लेनिनवादी सङ्गठनात्मक सिद्धान्तका विरुद्ध कुनै साङ्गठनिक निर्णय हुन पुग्यो भने सङ्गठन विघटनको स्थिति अगाडि आउँदछ । बैठक नचल्ने, केन्द्रीयता प्रबल बन्दै जाने, स्थानीय सङ्गठन हराउँदै जाने, आदेश र निर्देशन हावी हुँदै जाने स्थिति सृजना भएपछि सङ्गठन एक प्रकारले विघटन हुँदै जाने क्रम सुरु हुन्छ । नेतृत्वको कमजोरीका कारण पनि सङ्गठन विघटनको भड्काव आउन सक्दछ । तेस्रो महाधिवेशनपछि नेकपामा त्यो समस्या आएको थियो । पार्टी बहुकेन्द्रमा विभाजित भएको थियो ।
त्यसैगरी भाकपा (माले)ले संस्थागत निर्णय गरेर केन्द्र सङ्गठन विघटन गरेको इतिहास पनि हाम्रो अगाडि छ । सङ्गठनभित्र दबिएर रहेको बुर्जुवा कुण्ठाले पनि कम्युनिस्ट सङ्गठनलाई विघटनको दिशातिर लैजान सक्दछ । सङ्गठनभित्रका अराजक प्रवृत्तिले पनि विघटनका लागि नै काम गर्दछन् । उनीहरू नीति र निर्णयको हरबखत उल्लङ्घन गर्दछन् । कुनै न कुनै बहानामा अराजक प्रवृत्तिले सङ्गठनको शक्तिलाई ध्वस्त बनाउन प्रयास गर्दछन् । उनीहरूले सङ्गठनका पक्षमा कुनै ‘पैरवी’ गर्दछन् भने त्यो सङ्गठनको टाउको फुटाउनका लागि प्रयोग गरिने व्यङ्ग्यात्मक प्रहारबाहेक केही पनि हुँदैन । उनीहरू नेतृत्वको विरुद्धमा कम्मर कसेर लाग्नुलाई आफ्नो महत्वपूर्ण जिम्मेवारी ठान्दछन् । उनीहरूले पार्टीका निर्णय र योजनाको कार्यान्वयमा पनि वाधा उत्पन्न गरिरहन्छन् । तिनीहरू बढीभन्दा बढी षड्यन्त्रमा सामेल हुन्छन् र सङ्गठनलाई विघटन गराउनका लागि सबै प्रकारका प्रयत्न गर्दछन् । त्यो कार्य गर्नका लागि उनीहरूमा उग्रवामपन्थी, सङ्कीर्णवादी वा दक्षिणपन्थी भड्कावमध्ये कुनै पनि प्रवृत्तिले स्थान लिएको हुन्छ, जसको लक्षणका रूपमा उनीहरूका अराजकतावादी क्रियाकलाप सङ्गठनका विरुद्धमा देखिन्छन् ।
४. अन्ततः पतन
पहिले क्रान्तिको चर्को कुरा, सशस्त्र गतिविधि, शान्तिपूर्ण सामाजिक परिवर्तन आदि कुरा गर्दै भड्काव पुँजीवादमा परिणत हुन्छ । कुनै कुनै समयमा त उदारवादी पुँजीवादभन्दा घोर प्रतिक्रियावादमा भड्कावको पतन हुन्छ । भड्काव सैद्धान्तिक विचलन र गलत निर्णयको अभिव्यक्ति भएकाले यसका गतिविधि पनि गलत तरिकाले सम्पन्न हुँदै जान्छन् । त्यसरी सम्पन्न हुने गतिविधिका परिणाम पनि गलत हुन्छन् । अन्ततः भड्कावमा गएको पक्ष नै गलत सावित हुँदै जान्छ । त्सरी त्यो पक्ष पतन भएर क्रान्तिको विरोधी भएर अगाडि आउन थाल्दछ ।
यस सन्दर्भमा यो कुरा स्पष्ट छ कि कुनै किसिमले कम्युनिस्ट आन्दोलनको अस्तित्व रहे पनि त्यो सही ढङ्गले अगाडि बढ्न नसक्नुमा माक्र्सवादी–लेनिनवादी सिद्धान्तको परित्याग र कार्यव्यवहारमा बुर्जुवा पद्धतिले ठाउँ लिँदै जानु नै हो । क्रान्तिकारी कुरा वा माक्र्सवादको सृजनात्मक विकासको कुरा गरेर कम्युनिस्ट आन्दोलन सही ठाउँमा जाने भन्ने कुरा त हुनै सक्दैन । विभिन्न भड्कावको शिकार भएको पक्षले क्रान्ति र परिवर्तनको कुरा गर्नु त गफ चुट्नु मात्रै हो । त्यसरी भड्काव जुन प्रकारको भए पनि त्यो यथार्थमा माक्र्सवादी–लेनिनवादी सिद्धान्त र कार्यव्यवहारमा आएको गिरावटको परिणाम हो । त्यो जुनसुकै रूपमा देखिएपनि त्यसको अन्ततः पतन नै हुन्छ ।
सन्दर्भ सामग्री
१. स्तालिन, जोसेफ, अराजकतावाद या समाजवाद ? (२०५३), अनु. सिद्धेश्वरमान श्रेष्ठ, अक्षलोक प्रकाशन, काठमाडौँ ।
२. सिंह, मोहनविक्रम, उग्रवामपन्थी विचारधाराको खण्डन (तृतीय संस्करण, २०५१), निरन्तर प्रकाशन, काठमाडौँ ।