काठमाडौं । नेपाली कांग्रेस नेता डा. शेखर कोइराला पक्षीय भेलाले नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको नभइ गठबन्धनको सभापति भएको आरोप लगाएको छ ।
शुक्रवार सकिएको कोइराला पक्षीय बैठकबारे जानकारी गराउँदै नेपाली केन्द्रीय सदस्य डा.गोविन्द पोखरेलले सभापति देउवाले नेपाली कांग्रेसका नेता र कार्यकर्तालाई समेट्न नसकेको बताउनुभएको हो ।
बैठकमा सरकार सञ्चालन, गठबन्धन, पार्टीको आगामी कार्यदिशा, आगामी निर्वाचन र परराष्ट्रनीतिका बारेमा सरकारले बनाइरहेको धारणा लगायतका विषयमाथि छलफल भएको केन्द्रीय सदस्य पोखरेलले बताउनु भयो ।
उहाँले सरकारले आफूले गरेका वाचा अनुसार जनतालाई राहत दिन नसकेको, सुशासन सम्बन्धी गरेका राजनीतिक प्रतिवद्धता पूरा गर्न नसकेको पनि बताउनु भयो ।
उहाँले राजश्व अनुसन्धान, सम्पती शुद्धिकरण, राष्ट्रिय अनुसन्धान विभाग लगायत प्रधानमन्त्रीको मातहतबाट हटाउने प्रतिवद्धताको प्रधानमन्त्रीले अवज्ञा गर्नुभएको, बजेट बनाउनेदेखि चरमरुपमा आर्थिक सुशासनको खिल्ली उडाइएको पनि निस्कर्ष निकालेको छ । उहाँले सरकारले व्यापकरुपमा नीतिगत भ्रष्टाचार गरेको बताउनु भयो ।