टेकराज भुसाल (टेकु) बुटवल ।
सडक मै खाउ, सडक मै नाचौ र सडक मै रमाउ भन्ने नारालाई आत्मा साथ गर्दै होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले बुटवलमा दोस्रो सडक खाना महोत्सव आयोजना गर्नेभएको छ । गतवर्ष पहिलो महोत्सवको आयोजना गरेको संघले यसवर्ष यही पुस १४ देखि १६ गतेसम्म दोस्रो सडक खाना महोत्सवको आयोजना गर्ने भएको हो ।
बुटवल उपमहानगरपालिका वडा नम्बर नौ को कालिकापथमा खाना महोत्सव सञ्चालन गरिने छ । तीन दिनसम्म चन्ले सडक खाना महोत्सवबारे मंगलबार विभिन्न राजनीतिक दल, जनप्रतिनिधि, समामाजिक संघसंस्थाका अध्यक्ष, स्थानीय समाजसेवी, पर्यटन व्यवसायी र टोल विकास संस्थाहरुबीच छलफल गरिएको छ ।
खाना महोत्वलाई कसरी सफल बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । खानको माध्यामबाट बुटवललाई देश विदेशमा चिनाउने उद्वेश्यले सडक खाना महोत्सवको आयोजना गरिएको संघका अध्यक्ष समुन्द्र जीसीले बताए ।छलफलमा सहभागिहरुले खाना महोत्सव मानवीय सम्वेदनासंग जोडिएकाले खानाको शुद्वता, गुणस्तरीयता, सरसफाई र उचित व्यवस्थापनमा ध्यान दिन सुझाव दिएका छन् ।
खाना महोत्सव होटल व्यवसायी संघले आयोजना गरेपनि यसको सफता र असफलतासंग बुटवल जोडिएकाले महोत्सवलाई पूर्णरुपमा सफल बनाउन सहयोग गर्ने प्रतिवद्वता जनाएका छन् ।
छलफल कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले महोत्सव सफल पार्नु सबै साझा दायित्व भएको बताउंदै सहयोग गर्ने प्रतिवद्वता जनाए । स्थानीय उत्पादनलाई महोत्सवमा समावेश गराएर बुटवलको पहिचान दिन आग्रह गर्दै नागरिकको मन जित्नका लागि शर्भसुलभ र गुणस्तरीय खानाका परिकार उपलब्ध गराउनु पर्ने बताए ।संघका पूर्व अध्यक्ष तथा भ्रमण वर्ष २०७६ प्रदेश पाँचका सहसंयोजक माधवप्रसाद नेपालले खाना महोत्सव बुटवलकै गौरव भएकाले सबै साथ सहयोग आवश्यक पर्ने बताए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीका सचिवालय सदस्य तेजेन्द्र केसी, नेपाली कांग्रेस बुटवल नगर सचिव ज्योती भण्डारी, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, यातायात मजदुर भलाई कोषका अध्यक्ष दिनेश फुल्लेल, रुपन्देही व्यापार संघका उपाध्यक्ष डिल्लीराज भण्डारी, उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका उपाध्यक्ष तेजकुमार पाठक, मिलनपार्क विकास समितिका अध्यक्ष सावत्रा रेग्मी लगायतले बोल्दै महोत्सव सफलताका लागि सहयोग गर्ने प्रतिवद्वता जनाएका छन् ।
संघका अध्यक्ष समुन्द्र जीसीको अध्यक्षता र महासचिव माधवप्रसाद खनालको सञ्चालनमा कार्यक्रम भएको थियो । प्रदेश ५ सरकारले मनाई रहेको लुम्बिनी भ्रमण वर्ष तथा नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सफल बनाउने लक्ष्यसहित संघले अग्रेजी नयां वर्षको अवसरमा दोस्रो सडक खाना महोत्सव आयोजना गरेको हो ।
खाना महोत्सवमा २ लाख दर्शकले अवलोकन गर्ने र ३ करोडको आर्थिक कारोवार हुने आयोजकहरुको लक्ष्य छ । मंगलबार सम्म १ सय स्टल दर्ता भैसकेको संघका महासचिव माधवप्रसाद खानालले जानकारी गराउनुभएको छ । महोत्सवको प्रदेश पांचका मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
