रौतहट । महिलालाई प्रेम जालमा पारेर गरगहना लुटपाट गर्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका–४ खुटवा प्रसौनी बस्ने वर्ष ३६ को महमद रफिक रायभट रहेका छन् ।
रायभटले रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित चपुर पराठा एण्ड गेष्ट हाउसमा महोत्तरीकी एक महिलालाई लगि महिलाकै नाममा कोठा बुक गर्न लगाई रेडबुल खान दिई बेहोस बनाई उनले लगाएका सुनका गरगहनाहरु लुटेर फरार रहेका थिए ।
उनले कानको ४ आनाको सुनको रिङ थान थान २, कानमा लगाएको ३ आनाको सुनको मुन्द्रा थान ४, सुनको तिलहरी ४ आनाको थान १, मंलगसुत्र १ तोलाको थान १ र पर्समा रहेको रकम रु.१० हजार गरी जम्मा २ लाख ९० हजार बराबरको धनमाल लुटेका थिए ।
अनुसन्धानका क्रममा प्रहरीले मंगलबार (असार १४ गते) पक्राउ गरेको हो । रायभटले महिलाहरुलाई फोन तथा सामाजिक सञ्जालको माध्यमबाट प्रेमजालमा पारी बाहिर घुम्न जाने बहानामा घरबाट बाहिर बोलाइ होटेलमा लगि निजकै नामबाट होटेलको कोठा बुक गर्न लगाई पेय पदार्थमा लठिने नसालु पदार्थ मिसाई खुवाई बेहोस पारी गरगहना लगायत रकमसमेत लुट्ने गरेको प्रहरीले बताएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।