काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) फुटको नजिक पुगेको छ । उपेन्द्र यादव पक्षले बाबुराम भट्टराई लगायत नेतालाई कारबाही गर्ने निर्णय गरेपछि जसपा फुटको संघारमा पुगेको हो ।
जसपा अध्यक्ष उपेन्द्र यादव पक्षको सोमबार बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, कृषिमन्त्री महेन्द्र राय यादव, केन्द्रीय कार्यकारिणी सदस्य गंगानारायण श्रेष्ठ लगायतलाई पार्टीविरुद्ध गतिविधि गरेको भन्दै स्पष्टीकरण माग्ने निर्णय गरेको छ ।
बैठकले सरकारमा रहेका चार जना मन्त्रीलाई पनि फिर्ता बोलाउने पनि निर्णय गरेको छ । प्रमुख सचेतक प्रमोद साहका अनुसार बैठकले कारबाही र मन्त्री फिर्ताको निर्णय गर्ने अधिकार अध्यक्ष यादवलाई दिएको छ।
३२ जना कार्यकारिणी समिति सदस्य मध्ये सोमबारको बैठकमा १९ जना सदस्य सहभागी थिए।
केही दिन अघि बानेश्वरमा बसेको जसपा संसदीय दलको बैठकमा कृषिमन्त्रीसमेत रहेका महेन्द्र राय यादवले अध्यक्षबाट उपेन्द्र यादवलाई हटाउनुपर्ने प्रस्ताव राखेको एक सांसदले बताएका छन् ।