डोटी । केही समयअघि राष्ट्रिय जनमोर्चाबाट एमाले प्रवेश गरेका युवा नेता प्रशान्त थापा मूल घरमै फर्कनुभएको छ ।
अखिल नेपाल युवक संघका तत्कालिन केन्द्रीय सदस्य थापाले आफू राष्ट्रिय जनमोर्चामा फर्किएको जानकारी दिँदै यही नै आफ्नो मूल घर रहेको र अरु पार्टीमा गएर ‘अपनत्व महसुस’ गर्न नसकेको बताउनुभयो ।
‘म कारणबस केही महिनाअघि एमालेमा प्रवेश गरेको थिएँ । त्यो मेरो जीवनकै भूल थियो’ थापाले भन्नुभयो, ‘राष्ट्रिय जनमोर्चामा जस्तो वर्गीय माया र अपनत्व अरु पार्टीमा हुँदो रहेनछ । त्यसैले आफ्नो गल्ती स्वीकार गरेर पार्टीमै फर्किएको हुँ ।’
थापाले नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चाले लिएको नीतिबाट मात्रै समाज परिवर्तन हुने कुरामा आफू स्पष्ट रहेको बताउनुभयो । वर्ग संघर्षको माध्यमबाटै गरिखाने वर्गको व्यवस्था आउने कुरामा आफू दृढ रहेको उल्लेख गर्दै उहाँले नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चाबाहेक अन्य दलले सर्वहारा वर्गको नेतृत्व गर्नै नसक्ने बताउनुभयो ।
राजमो छोडेर अन्य पार्टीमा प्रवेश गर्नेहरु भित्रभित्रै पछुताउने गरेको उहाँको अनुभव छ ।
‘हाम्रो पार्टी छोडेर अन्य पार्टीमा जानेहरु भित्रभित्रै पछुताउने गरेको मैले अनुभव गरेको छु’ आफ्नो विचार, सिद्धान्त, नीति सबै कुरा त्यागेर आफैले विरोध गरेको दल र विचारमा समाहित हुनु भनेको आफूले आफैलाई धोका दिने कुरा मात्रै हो ।’
नेता थापाले आवेशमा आएर वा सामान्य स्वार्थको लागि पार्टी परित्याग गरेर अरु दलमा सामेल भएका साथीहरुलाई मूल घरमै फर्केर एकतावद्ध हुन आह्वान पनि गर्नुभयो ।