काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र शृङ्खलाबद्ध रूपमा चोरी गर्ने समूहका चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दोलखाको शैलुङ्गेश्वरी गाउँपालिका–८ घर भई हाल काठमाडौँको चन्द्रागिरी नगरपालिका थानकोट बस्ने ३५ वर्षीय लीलानारायण श्रेष्ठ, सोही स्थायी ठेगाना भई हाल थली नगरपालिका–५ बस्ने वर्ष ३९ को वीरबहादुर श्रेष्ठ, हाल खुशिबु बस्ने वर्ष २६ को सागर भन्ने पुन नारायण श्रेष्ठ र खोटाङ कोपिलासगढी–२ का ४० वर्षीय सौराज गजमेर रहेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।
उनीहरूले दिनको समयमा मानिसहरू घरमा नभएको मौका पारी ढोका फोरी नगद, मोबाइल तथा सुन चाँदीका गरगहना चोरी गर्ने गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरूले चन्द्रागिरी नगरपालिका–१४ नयाँ नैकापस्थित पीडितको घरमा कोही नभएको मौका पारी घरको मुलढोकाको ताला फोरी कोठाभित्र रहेको दराज फोडी सुनका विभिन्न गरगहना चोरी गरि लगेका थिए ।
त्यस्तै, यही असार २ गते नयाँबजार भ्याली कोल्ड स्टोरपछाडि रहेको घरमा भाडा लिई बस्ने पीडितको डेराकोठाबाट नगद तथा मोबाइल सेट चोरी गरी लगेका थिए ।
सोही दिन म्हैपी जनमार्ग स्थित वीरेन्द्र सुनारको घरमा भाडामा बस्ने पीडितको डेराकोठाबाट नगद तथा सुनचाँदीका गरगहना चोरी गरी लगेको, गत चैत १७ गते दिउँसोको समयमा टोखा सूर्यदर्शन मार्गमा घरमा कोही नभएको मौका पारी मुल ढोकाको ताला फोरी नगद, सुन तथा मोबाइल सेट चोरी गरी लगेको प्रहरीले जनाएको छ । त्यसबाहेक अन्य स्थानबाट पनि चोरी गरेको आशङ्कामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट प्रहरीले मोबाइल थान ५, तिलहरी थान २, सिक्री थान १, मङ्गलसूत्र ३ थान, रानीहार २ थान, औँठी थान १, फुली १२ थान, टप १ जोर गरी सुनका गरगहना पोतेसहित तौल गर्दा अन्दाजी ५५९ ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।