काठमाडौं । मलेसियामा जारी एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपालले पहिलो हार व्यहोरेको छ । मंगलबार भएको खेलमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १ सय १० रनको लक्ष्य हङकङले १५.५ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो । हङकङका लागि मारिको हिले सर्वाधिक ४५ रनको योगदान दिइन् । नतासा माइल्सले २८ र चान का यिङ क्यारीले १७ र बेल्ला बो यीले ९ रन थपे ।
नेपालकी संगिता राईले २ तथा सिता राना मगरले १ विकेट लिए। त्यसअघि मलेसियाको किनरारा ओभलमा टस जितेर पहिला ब्याटिङ गरेकोे नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९ रनको योगफल तयार पारेको थियो।
कप्तान रुविना क्षेत्री बेलबासे ३२ र अप्सरी बेगम २२ रनमा नटआउट रहे । ३६ बलको सामना गरेकी कप्तान रुविनाले ४ चौका प्रहार गरिन्। अप्सरी बेगमले १६ बलमा २ चौका हानिन् ।
सातौं विकेटका लागि अप्सरी बेगम र रुविनाले ४४ रनको अविजित साझेदारी गरे। ओपनर विन्दु रावलले २३ रन थपिन् । हङकङकी बेट्टी चानले २ तथा एलिसा हब्र्बाड र मर्याम बिवीले समान १ विकेट लिए ।
नेपालले पहिलो खेलमा भुटानलाई ५० र कुवेतलाई २५ रनले तथा बहराइनलाई ८ विकेटले हराएको थियो । च्याम्पियनसिपको फाइनल खेल्ने दुई टोलीले एसिया कपमा स्थान बनाउनेछन् ।

