काठमाडौँ । मदन भण्डारी स्पोर्टस एकेडेमीले आफ्नो एकहत्तरौँ मदन जयन्तीको अवसरमा विभिन्न विधामा राष्ट्रव्यापी खेलकुद प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
एकेडेमीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहकार्यमा क्रिकेट, भलिबल, रेस्लिङ, बुद्धिचाल, बास्केटबल, फुल कन्ट्याक कराते र तेक्वान्दो प्रतियोगिताको आयोजना गर्न लागिएको २०७९ असार ५ गते आयोजित पत्रकार सम्मेलनमा एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार भैरहवा, दमक, वीरगन्ज र जनकपुरमा ट्यालेन्ट हन्टसहित यु–१४, यू–१६ र यु–१८ क्रिकेट प्रतियोगिता हुने छ । क्रिकेट यही असार २० गतेसम्म सञ्चालन हुने छ । क्रिकेटको विजेताले रु ३० हजार पाउने छ भने दोस्रो हुने टोलीले रु २० हजार हात पार्ने छ ।
त्यसैगरी खुला कलेज स्तरीय भलिबल प्रतियोगिता असार ८ देखि १३ गतेसम्म काठमाडाँैमा र बुटवलमा असार ११ देखि १३ गतेसम्म हुने छ । झापामा असार १८ गते रेस्लिङ प्रतियोगिता हुने छ ।
बुटवल र काठमाडौँमा असार ११ देखि १६ गतेसम्म विद्यालय स्तरीय बुद्धिचाल प्रतियोगिता सञ्चालन गरिने छ । यस्तै अन्तर कलेज उपत्यका स्तरीय बास्केटबल असार १५ देखि १७ गतेसम्म काठमाडौँमा हुने छ ।
असार १७ र १८ गते राष्ट्रिय स्तरको फुल कन्ट्याक्ट कराते काठमाडौँमा हुने छ भने असार २० र २१ गते उपत्यका स्तरीय तेक्वान्दो प्रतियोगिता ललितपुरमा हुने छ । त्यस्तै, असार २२ गते काठमाडौँमा विभिन्न खेल विधाका प्रशिक्षक एवम् व्यवस्थापकलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

