काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानको पैसट्ठिऔँ वार्षिकोत्सवको अवसर पारेर पठन संस्कृतिको विकास गर्ने उद्देश्यले १५ दिने पुस्तक प्रदर्शनी आयोजना गरिएको छ ।
प्रदर्शनीमा प्रतिष्ठानले २०३० सालदेखि २०७९ को जेठसम्म प्रकाशन भएका पुस्तक बिक्रीमा राखेको हो । रु तीनदेखि रु दुई हजार ७० सम्म मूल्यका पुस्तक प्रदर्शनीमा राखिएको छ ।
२०७९ असार ५ गतेदेखि सुरु भएको प्रदर्शनी असार १९ गतेसम्म प्रतिष्ठानको भानुभक्त कक्षमा चल्ने छ । प्रदर्शनीमा भाषा, साहित्य, बाल साहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान, अनुवाद र दर्शनलगायत विषयसँग सम्बन्धित पुस्तक र कविता, प्रज्ञा, समकालीन साहित्य, थायभू, आँगनलगायतका धेरै विषयका पठनीय एवम् अति उपयोगी करिब ५०० थरिका पुस्तक एवम् पत्रपत्रिका समावेश गरिएको छ ।
नेपाली बृहत् शब्दकोश र प्रज्ञा–नेपाली अङ्ग्रेजी शब्दकोशलगायत शब्दकोषमा १५ प्रतिशत छुटको व्यवस्था रहेको छ । प्रतिष्ठानबाट प्रकाशनका सुरुखि २०७९ सालसम्मका पुस्तकमा ४० प्रतिशतसम्म छुटको व्यवस्था रहेको जानकारी पनि व्यवस्थापक सुधीर ढुङ्गेलले दिनुभयो । (रासस)

