काठमाडौं । चलचित्र विकास वोर्डका अध्यक्ष केशव भट्टराईको हृदयघातकका कारण निधन भएको छ। चाबहिलस्थित ओम अस्पतालमा आइतबार राति उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
४५ वर्षीय भट्टराईको हृदयघातका कारण निधन भएको ओम अस्पताल स्रोतले जनाएको छ । वैवाहिक कार्यक्रमबाट निवास फर्कंदै गर्दा बाटोमा बेहोस भएका भट्टराईलाइ उपचारार्थ ओम अस्पताल लगिएको थियो।
अहिले महाराजगञ्जस्थित त्रिभूवन विश्वविद्यालय, शिक्षण अस्पतालमा भट्टराईको शव परीक्षण भइरहेको बोर्डका सदस्य नरेन्द्र महर्जनले जानकारी दिए। उनका श्रीमती र एक छोरा छन्। भट्टराईको आजै अन्त्येष्टि गरिने छ।
भट्टराई चलचित्रका निर्देशकका साथै जनपक्षीय चलचित्रकर्मी मञ्चका पूर्वअध्यक्षसमेत थिए। ४ चैत २०७५ मा सरकारले भट्टराईलाई वोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो। अध्यक्ष हुनुअघि उनी लामो समयदेखि चलचित्र निर्माण तथा अभिनयमा सक्रिय थिए।
भट्टराईले दर्जनौँ चलचित्रहरु तथा टेलिसिरियलहरुमा अभिनय गरेका थिए। उनले ‘आफ्नो मान्छे’, ‘छोडी गए पाप लाग्ला’, ‘देवर बाबु’, ‘कर्मयोद्दा’, ‘सो सिम्पल’, ‘ब्रासलेट’, ‘यात्रा’ लगायतका चलचित्र निर्माण गरेका छन् । पछिल्लो पटक २१ चैतमा उनले निर्माण गरेको नयाँ चलचित्र ’यात्रा’ प्रदर्शन भएको थियो ।