कमल कार्की ##
सामान्यतया कम्युनिस्ट पार्टी सामाजिक जीवनका ज्ञान, समाज विकास र वर्गसङ्घर्षका नियमको ज्ञानबाट सुसज्जित हुन्छ ।
कम्युनिस्ट पार्टी सर्वहारा वर्गीय वर्गसचेत अगुवा दस्ता हो । त्यही कारणले गर्दा त्यसले मजदुर, किसानको नेतृत्व गर्न र वर्गसङ्घर्ष सञ्चालन गर्न सक्छ ।
कम्युनिस्ट पार्टी सर्वहारा वर्गको पार्टी हो । सर्वहारा वर्गको पार्टी हो भन्नुको मतलब कम्युनिस्ट पार्टीमा मानवजातिले आजसम्म सामाजिक जीवनबाट प्राप्त गरेका ज्ञान, समाज विकास र वर्गसङ्घर्षका नियमले ओतप्रोत सचेत व्यक्ति सङ्गठित भएका हुन्छन । यसको आफ्नै अनुशासन हुन्छ । त्यो अनुशासन प्रत्येक पार्टीसदस्यले अनिवार्य रूपमा मान्नैपर्दछ । जिम्मेवारीका हिसाबले जो जहाँ भए पनि अनुशासनमा बस्नु र चल्नु पार्टीसदस्यका लागि अनिवार्य सर्त हो ।
कम्युनिस्ट पार्टीका प्रत्येक पार्टीसदस्यहरू घोषित साझा सङ्कल्पको आधारमा सङ्गठित भएका हुन्छन । सङ्कल्प, कामकारबाही र अनुशासनको एकताबाट एकताबद्ध पार्टीका सबै सदस्यहरू कम्युनिस्ट पार्टीका भौतिक शक्ति हुन पुग्दछन् ।
कम्युनिस्ट पार्टी सर्वोत्कृष्ट सिद्धान्त, वर्गसङ्घर्षका नियम र आन्दोलनको अनुभवका आधारमा आम जनतालाई बाटो देखाउने अगुवा हुनुपर्दछ । आम जनता मजदुर, किसान, महिला, शोषण दमनमा परेका वर्ग–समुदाय, विद्यार्थी, शिक्षक, कर्मचारीलगायत सित आफ्ना बैधानिक मोर्चा र जनवर्गीय सङ्गठनमार्फत् मजबुत र कसिलो सम्बन्ध स्थापित गर्नुपर्दछ, तब मात्र कम्युनिस्ट पार्टी जीवित र विकसित हुँदै जान्छ । यदि कम्युनिस्ट पार्टी आफ्ना पार्टीसदस्यको घेराभन्दा बाहिर निस्केर आम सर्वसाधारण जनताका समस्यासँग जोडिन सकेन भने; आफूलाई उनीहरूको बिचमा फिजाउन सकेन भने; आफ्नो वर्गसँगको सम्बन्ध विस्तार गर्न सकेन भने वा तिनका समस्याको आधारमा सम्बन्ध कसिलो बनाउन चुक्यो भने त्यो पार्टी मृतप्रायः हुन्छ । पार्टीलाई कम्युनिस्ट पार्टीको रूपमा जीवित र विकसित राख्ने हो भने गैरपार्टीसदस्य रहेका आमजनतासँग सम्बन्ध बढाउनुको कुनै विकल्प हुदैन । आफ्नो वर्गका लाखौँ जनताको विश्वास जित्नैपर्दछ ।
पार्टीसदस्य सङ्गठनको मातहतमा, अल्पमत बहुमतको मातहतमा, तल्लो समिति उपल्लो समितिको मातहतमा, सम्पूर्ण पार्टी केन्द्रीय समितिको मातहतमा र केन्द्रीय समिति राष्ट्रिय सम्मेलन वा महाधिवेशनको मातहत रहने परिपाटी कम्युनिस्ट पार्टीले अवलम्बन गरेको हुनुपर्दछ । यस सिलसिलामा विभिन्न समितिका बैठक (विस्तारित बैठकसमेत), भेला, राष्ट्रिय सम्मेलन र महाधिवेशन जनवाद प्रयोगका उर्वर स्थल हुन् र हुनुपर्दछ भने त्यसबाट निर्णय भइसकेपछि तोकिएको जिम्मेवारी पूरा भएनभएको अवस्था बुझ्ने, लागु नभएका निर्णय कार्यान्वयनका लागि निर्देशन दिने, ती पुननिर्देशन पालना वा कार्यान्वयन भएन–भएको हेर्ने वा मूल्याङ्कन गर्ने, कमी–कमजोरी भए सुधार्न प्रयत्न गर्ने, अन्योल भए प्रष्ट पार्ने, स्पष्टीकरण लिने तथा सङ्गठनको हित विरुद्ध काम–कारबाही भए; नभएको यकिन गर्ने र त्यस्तो भएकोमा स्पष्टीकरण लिने, आवश्यक कारबाही गर्नेलगायतका काम अर्को बैठक, विस्तारित बैठक, राष्ट्रिय सम्मेलन वा महाधिवेशन नहुँदासम्म सङ्गठन प्रमुखले गर्ने सम्पूर्ण कामकारबाही केन्द्रीयताअन्तर्गत पर्दछन् ।
यस्तो विधि अवलम्बन गर्दा कम्युनिस्ट पार्टीले निम्न तरिका अपनाएको हुनुपर्दछ :
१) सङ्गठनले तोकेको योग्यता पुगेकामध्येबाट सबैभन्दा सक्षम र सबल नेतृत्व हरेक समितिमा चुनिएको हुनुपर्छ ।
२) समस्याबारे सम्बन्धित समितिमा व्यापक छलफल गर्नुपर्छ ।
३) सबै कामकारबाहीको जानकारी सम्बन्धित समितिमा दिनुपर्छ ।
४) कुनै पनि कामको योजना निर्माण गर्दा वा त्यसलाई कार्यान्वयन गर्दा समितिमार्फत् मात्रै गर्नुपर्छ ।
५) समस्याको सङ्कलन गरी समितिको बैठकमा मात्र छलफल गरी निचोडमा पुग्नुपर्छ । यसरी भएको निर्णयलाई आत्मसात गरी दृढतापूर्वक कार्यान्वयन गर्नुपर्छ ।
६) समाजमा हुने हरेक कामकुराको जानकारी राख्नुपर्छ तर कुनै एक विषयमा आफूलाई विशेषज्ञ बनाउनुपर्छ ।
७) गरिएका निर्णयले ल्याउन सक्ने परिणामबारे पहिल्यै अनुमान लगाउन सक्नुपर्दछ ।
८) सबै प्रकारका समितिले वस्तुगत परिस्थितिको मूल्याङ्कन गरी गतिशील बन्नुपर्छ ।
९) सङ्गठनमा सङ्गठित कुनै पनि व्यक्तिले अहङ्कार गर्नुहुँदैन।
१०) समितिमा छलफलको क्रममा फरक विचार आएमा अनुशासित तबरले अन्तरपार्टी सङ्घर्षको माध्यमबाट सम्बोधन गरिनुपर्दछ ।
११) निर्णय कार्यान्वयन गर्दा आवश्यकताअनुसार दृढता र लचकता दुबै अपनाउनुपर्दछ ।
१२) समितिभित्रको छलफल पूर्ण स्वतन्त्रताका साथ गर्नुपर्दछ ।
१३) निर्णय कार्यान्वयन गर्दा पूरापूर एकरूपताका साथ गर्नुपर्दछ ।
१४) सम्भावित परिणामलाई मूर्त रूप दिन भरमग्दुर प्रयत्न गर्नुपर्दछ ।
१५) जस्तोसुकै असहज परिस्थितिमा पनि नम्र, शिष्ट, सभ्य भाषामा बोल्नु र लेख्नुपर्दछ ।
१६) पार्टीसदस्यले रहनसहन आम व्यक्तिसरह र ज्ञान एउटा असल शिक्षकसरह राख्नुपर्दछ ।
१७) हरेक विषयमा तथ्यबाट सत्य प्रमाणित गर्ने दिशामा आफ्नो सम्पूर्ण तागत लगाउनुपर्दछ ।
१८) पारदर्शी हुनुपर्दछ । छलछाम र षड्यन्त्र कसैले कहिल्यै गर्नुहुँदैन ।
१९) पार्टी निर्णयानुसार प्रत्येक कामकारबाही अगाडि बढाउदा सचेत, संयमित तर चनाखो हुनुपर्छ ।
२०) आफूले लिएको जिम्मेवारी कुन अवस्थामा छ ? ठिक ठिक जानकारी आफ्नो समितिलाई ठिक समयमा दिनुपर्छ ।
२१) आफूलाई लागेको सबै प्रकारका विषय इन्चार्जमार्फत् माथिल्लो समितिमा पठाउनुपर्दछ र समितिमा भएका निर्णय सम्बन्धित समितिको प्रमुखमार्फत् तल्ला समितिमा पठाउनुपर्दछ ।
२२) यी सम्पूर्ण कामकारबाही कार्यालयमार्फत् गर्नुपर्दछ । कार्यालय परिचालन गर्नु भनेको मुटुबाट रक्तसञ्चार भए जस्तै हो ।
२३) कार्यालयलाई निर्जीव टेबुलकुर्सीको रूपमा मात्र बुझ्नुहुँदैन । खासमा समिति प्रमुख र उनको सहयोगीबिचको सम्बन्ध नै मूलतः कार्यालय हो ।
२४) सकेसम्म भौतिक रूपमा नै कार्यालय सञ्चालन गर्नुपर्दछ ।
२५) कार्यालय भौतिक र मानवीय शक्तिको समन्वयमा प्रभावकारी व्यवस्थापन गरेर सधैँ चुस्तदुरुस्त सञ्चालन गर्नुपर्दछ ।
जब कम्युनिस्ट पार्टी जनवादी केन्द्रीयताको आधारमा सङ्गठित हुन्छ; एउटै नियमावली र अनुशासनद्वारा निर्देशित हुन्छ; तब पार्टी आधिकारिक भावविचारको शक्तिमा फेरिएको हुन्छ ।
पार्टीलाई एकताबद्ध राखिराख्ने हो भने नेता र पार्टीसदस्य कसैलाई अनुशासन लागु हुने र कसैलाई अनुशासन लागु नहुने दुई खाले पार्टीमा आधिकारिक भावबिचारको शक्तिमा फेरिएको हुन्छ । पार्टीलाई एकताबद्ध राखिराख्ने हो भने नेता र पार्टीसदस्य समान रूपले लागु हुने व्यवस्था गर्नुपर्दछ । त्यसको भयो भने पार्टीएकता जोगाएर राख्न सम्भव हुन्छ । यसमा नेतृत्व सधैँ चनाखो रहनुपर्छ, तब मात्र पार्टी एकढिक्का भएर आन्दोलनको नेतृत्व गर्न सक्षम र समस्याको समाधान गर्न सबल हुन्छ ।

