(स्थानीय तह निर्वाचन–२०७९ को अनुभूति)
गिरीप्रसाद बुढा
यसपालिको चुनावमा पनि रुकुम पश्चिमका स्थानीय तहमा राष्ट्रिय जनमोर्चाको उपस्थिति दर्साउनु थियो । त्यसैले केही समय सुर्खेत जिल्लामा पार्टीको काम गरिसकेपछि म आफ्नो गृहजिल्ला रुकुम पश्चिम फर्किएँ ।
देशमा प्रतिगमनको खतरा बढेर गएको राष्ट्रिय परिस्थितिलाई मूल्याङ्कन गरेर यसपटकको स्थानीय निर्वाचनमा पार्टीले पाँचदलीय गठबन्धन बनाएर अगाडि जाने निर्णय गरेको थियो । सोहीअनुरूप यस जिल्लामा पनि पाँचदलीय गठबन्धनको नियमित बैठक चलिरहेका थिए । यस जिल्लामा पाँच दलभित्रका क्रियाशील पार्टीहरू नेकपा (माओवादी केन्द्र), नेपाली काङ्ग्रेस, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाबिच नियमित बैठक भइरहेको थियो तर यस जिल्लामा पाँचदलीय गठनबन्धनबिच समझदारी बन्न सकेन । विशेष गरी माओवादी केन्द्र र नेपाली काङ्ग्रेसबिच तालमेलमा सहमति हुन नसकेपछि अन्तिम अवस्थामा रुकुम जिल्लामा पाँचदलीय गठबन्धनको सहकार्य टुट्न पुग्यो र पार्टीहरू आआफ्नै तरिकाले निर्वाचनमा उत्रिनुपर्ने परिस्थिति सिर्जना भयो ।
अब नेपाली काङ्ग्रेस र माओवादी दुवैले कसरी हुन्छ, चुनाव जित्ने रणनीति बनाएर अगाडि बढ्न थाले । चुनाव जित्नकै लागि यिनीहरूले पाँचदलीय गठबन्धनको तर्फबाट आफ्नै पार्टीका नेताहरूले हस्ताक्षर गरेर पठाएको नीति–निर्देशनसमेत उल्लङ्घन गर्न तयार भए । नेपाली काङ्ग्रेसले एमालेसँग गठबन्धन गर्याे भने जनता समाजवादी, एकीकृत समाजवादी र माओवादी केन्द्रबिच पनि छुट्टै गठबन्धन बन्यो ।
यस्तो परिस्थितिमा राष्ट्रिय जनमोर्चाको तर्फबाट हामीले पनि हाम्रो साङ्गठनिक अवस्थाअनुसार निर्वाचनमा अगाडि बढ्ने योजना बनायौँ ।
सोहीअनुरूप राष्ट्रिय जनमोर्चाको उम्मेदवार र चुनावचिह्न गिलासको प्रचार कार्यका लागि म मुसिकोट नगरपालिकामा खटिए ।
करिब २०५४ सालदेखि हो, म मुसिकोट बजारमा बस्न थालेको । राजनीतिक यात्राले मलाई मुसिकोटे बनाइदिएको पनि २५ वर्ष भइसकेको छ । म मुसिकोट आउँदा नेपालमा बहुदलीय व्यवस्था थियो । बजारमा हिजोआजको जस्तो ठुला ठुला भवन थिएनन् र बजार पनि निकै सानो थियो । कच्ची मोटरबाटो भेट्नलाई पनि सल्यानको श्रीनर पुग्नुपर्दथ्यो । पछि २०६२–६३ सालको जनआन्दोलनपश्चात् मोटरबाटो मुसिकोटसम्म नै आइपुग्यो । बाटो सँगसँगै डोजर नामको यन्त्र पनि आएपछि मुसिकोटमा ठुला ठुला भवन बन्न सुरु भए । एकाएक बजार विस्तारले गति लिन थाल्यो ।
यस्तैमा देशमा लिइएको सङ्घीयताले सिङ्गो रुकुम जिल्लालाई रुकुम पुर्व र रुकुम पश्चिम बनाएर टुक्राइदिएपछि मुसिकोट नराम्ररी झस्कियो, जसको कारणले मुसिकोटको सहर बन्ने रहर अलि मत्थर हुनपुग्यो । उतिबेला म यो ठाउँमा एक प्रकारले राष्ट्रिय जनमोर्चाको प्रचारक जस्तै बनेर आएको थिए । राष्ट्रिय जनमोर्चाको मातृपार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (मसाल) हो अर्थात् राष्ट्रिय जनमोर्चालाई नेपाल कम्युनिस्ट पार्टी (मसाल) को वैधानिक मोर्चाको रूपमा बुझ्न सकिन्छ । यसै पार्टीको प्रचारक बनेर आइपुगेको यो ठाउँमा अलि बाक्लो सङ्ख्यामा यिनै काङ्ग्रेस र माओवादी थिए भने त्यसपछि एमालेहरू थिए । बाँकी राजनैतिक शक्तिहरूको उपस्थिति खासै उल्लेखनीय थिएन ।
समय बित्दै जाँदा म आफ्नो गाउँको पुख्र्यौली सम्पत्ति बेचेर मुसिकोट नगरपालिका वडा नंं. ५ को स्थायी बासिन्दा बन्न पुगेँ । यसरी म मुसिकोटको स्थायी बासिन्दा बनिसकेपछि यो वडाभित्र माओवादी, काङ्ग्रेस, एमालेका बिचमा एक्लो बृहस्पति जस्तै मेरो एउटा घर बन्यो अर्थात् मुसिकोट नगरपालिकाको वडा नं. ५ मा राष्ट्रिय जनमोर्चा पार्टी समर्थककोे पनि एउटा घर ठडियो ।
नेपाल कम्युनिस्ट पार्टी (मसाल) को राजनीति बोकेर २५ वर्षभन्दा पहिलेदेखि आजसम्म यहाँको माटोमा म जसरी हिँडेको छु, यो मेरो हिडाइ सम्झेर म आफैलाई अचम्म लागिरहेको छ । यहाँको मेरो राजनीतिक यात्रा साँच्चिकै अचम्मको मृगतृष्णा जस्तै बनेको छ । यस्तो मैले किन भन्दै छु भने मैले कसैको मुखबाट मृगतृष्णासम्बन्धी एउटा कथा सुनेको थिएँ ।
कथाअनुसार एउटा मृग कुनै कारणवश एउटा विशाल मरुभूमिमा फस्न पुग्दछ । यसरी मरुभूमिमा फसेको मृगलाई विस्तारै पानीको प्यास लाग्न थाल्दछ तर प्यास मेटाउनलाई त्यो मरुभूमिमा पानी हुने कुरै भएन । उसले टाउको उठाएर आफ्नो अगाडि टाढाको स्थानतिर हेर्ने गर्दछ । यसरी हेर्दा त्यो टाढाको ठाउँमा उसले निलो क्षितिज देख्ने गर्दछ । यसरी देखिएको त्यो निलो क्षितिजलाई उसले पानीको महासागर भन्ने ठान्दछ । त्यसैले त्यो मृग त्यहाँ पुगेर पानीको प्यास मेटाउने आशा बोकेर ऊ त्यतैतिर कुड्न थाल्छ तर जतिसुकै अगाडि कुदे पनि त्यो उजाड मरुभूमि सकिँदैन । ऊ त्यो पानी भएको निलो ठाउँमा पुग्नै सक्दैन । तैपनि ऊ निरन्तर अगाडि बढिरहन्छ । ऊ जति जति अगाडि बढ्दै जान्छ, उति उति त्यो निलो क्षितिज झन् झन टाढा हुँदै जान्छ । अन्ततः ऊ पानी प्यास मेट्न नपाएरै मर्न पुग्दछ ।
यसरी मृगतृष्णाको यो कथा जस्तै मैले पनि रुकुम जिल्लाको मरुभूमिमा नेकपा (मसाल) को विशाल सङ्गठन प्राप्तिका लागि निरन्तर यात्रा गरिरहेको छु । कम्युनिस्ट मूल्यमान्यता र आदर्शको प्रचारक बनेर पाइला खियाइरहेको छु । मेरो यो यात्रा चाहे बालुवामा पानी हालेको जस्तै किन नहोस्, मलाई यही यात्रा झन्पछि झन् प्यारो लाग्न थालेको छ । एक दिन मरुभूमिमा पनि बहार ल्याउने दर्शनले प्रेरित यो शरीरले कठिनाइ पचाउन सक्ने भइसकेको छ । एक दिन यो ठाउँमा पनि नेपाल कम्युनिस्ट पार्टी (मसाल) को सङ्गठनलाई विशाल बनाउने मृगतृष्णा ममा झन् झन् बढेर गइरहेको छ । त्यसैले अचेल हजारौँ मानिसको भिडअगाडि एक्लै पनि थिङ्ग उभिने बानी बसिसकेको छ । मैले यस्तो किन भनिरहेको छु भने २५ वर्षसम्म अनवरत प्रयास गर्दा पनि म बसेको समाज वरिपरि मेरो पार्टी फस्टाउन सकिरहेको छैन । कहिलेकाहिँ त मैले सोच्ने गर्दछु, मुसिकोटे मानिसहरूले पार्टी हेरेर व्यवहार गरे भने म मरेको दिन मलाई चिहानसम्म पुर्याउनका लागि एउटा पनि मलामी हुनेवाला छैनन् ।
यो समाज र यहाँका मानिसहरू पनि मलाई विचित्रको लाग्न थालेको छ किनभने मैले आजसम्म भेटेका कुनै पनि मानिसले तेरो पार्टी नराम्रो भयो भनेर कसैले भन्दैनन् । तेरो पार्टीले बोकेको नीतिसिद्धान्त ठिक छैन भनेर कसैले विरोध गर्दैन बरु हरेक मानिसले यो पार्टी त पवित्र छ ।
निष्कलङ्क र स्वच्छ छविको छ भन्छन् । सबैले यो पार्टी त राम्रो हो भनेर प्रशंसा नै गर्दछन् । यो पार्टीेका नेता चित्रबहादुरको कुरा सधैँ सुनिरहौँ जस्तो लाग्छ भन्छन् तर पार्टीको यस्तो राम्रो बखान गर्नेहरू यो पार्टीमा किन लाग्दैनन् ? चुनावको बेला यो पार्टीलाई किन मतदान गर्दैनन् ?
आफैले राम्रो भनेको नीति र सिद्धान्तको पछाडि नलाग्नुको खास कारण के छ ? यी प्रश्न बारम्बार मेरा मनमुटुमा घुमिरहन्छन् ।
उता, यिनै मान्छेहरू आफैले जुन पार्टीलाई गलत भनिरहेका हुन्छन्† भ्रष्टाचारी, जालीझेली, निच भनेर रातदिन निन्दा गरिरहेका हुन्छन्† त्यही पार्टीलाई निर्वाचनमा बारम्बार मतदान गरिरहेका हुन्छन् । घरिघरि, दोहो¥याई तेहे¥याई उही पार्टीलाई सरकारमा पु¥याइरहेका हुन्छन् ।
होइन, यो मुसिकोटका मानिसलाई के भएको हो ? जसलाई बेस्सरी गालि गरिरहेका हुन्छन्, त्यसैको वरिपरि चुम्बकमा फलाम टासिए जस्तै किन तासिइरहेका होलान् ? अनि, जसलाई राम्रो भन्छन्, उसैलाई किन सधैँ सधैँ कमजोर तुल्याइरहेका होलान् ?
यिनै प्रश्नका चाङलाई बोकेर विगतमा जस्तै यसपालि पनि पार्टीको नाम राष्ट्रिय जनमोर्चा, अनि चुनाव चिह्न गिलास लिएर केवल एकदुई जना साथीको साथमा गाउँघर चाहारियो । गाडी चढेर होइन, पैदल हिडेर ठाउँ ठाउँमा पुगियो । गिलास चिह्नको पर्चा हातमा लिएर जनताका घर घरमा बाँडियो । दुईचार जना मानिसहरू जम्मा भएको ठाउँमा कम्युनिस्टको विचार सुनाइयो । सर्वहारा वर्गको हित गर्ने राजनीतिमा लाग्नुपर्छ भनियो । एक शब्द पनि झुट कुरा कसैसँग गरिएन । सत्य, चोखो र भएको कुरा गरियो । पर्चा निकाल्दाबाहेक फजुल खर्च एक पैसा पनि गरिएन । झोलामा मकैको खाजा बोकेर हिडियो । जनताले माया गरेर दिएको रोती, भात जे हो, त्यसैले पेट भर्दै काम गरियो ।
दिउँसोबाहेक रातीको समयमा कहिँ कतै चुनाव प्रचार गर्न गइएन । दिनभरि प्रचारकार्यमा लागिन्थ्यो तर बेलुका समयमा नै आफ्नो बासस्थानमा फिर्ता भइन्थ्यो । यसरी मुसिकोटमा राष्ट्रिय जनमोर्चाको चुनाव प्रचार भड्किलो र खर्चिलो थिएन । यो पार्टीको चुनाव प्रचार बिल्कुल शान्त, सौम्य र भद्र प्रकारको थियो ।
एकातिर, राष्ट्रिय जनमोर्चाको चुनाव प्रचार यस्तै शान्त र सौहार्दपूर्ण थियो भने अर्काेतिर नेपाली काङ्ग्रेस, माओवादी जस्ता ठुला पार्टीको चुनाव प्रचार खर्चिलो, भड्किलो र आतङ्कपूर्ण थियो । कुन बेला कुन ठाउँमा यिनीहरू दोहोरो झडपमा उत्रिने हुन् भन्ने जगजगी थियो । शक्ति प्रदर्शन, ठुला ठुला नारा, जुलुस र सभा गर्दै गाउँबस्तीमा तरङ्ग पैदा गर्ने गर्दथे । लखेटालखेट, कुटाकुट गरेर एकले अर्कालाई घाइते बनाएको समाचारले प्राथमिकता पाउँथ्यो । घाइतेहरू कोही हेलिकप्टरमा त, कोही गाडीमा उपचारका लागि अस्पताल पु¥याइएका घटनाले फेसबुक भरिएका हुन्थे । मासुभातको कतै कमी देखिँदैनथ्यो ।
कतै कुनै पार्टीको त, कतै कुनै पार्टीको ठुला ठुला भोजभतेर चलिरहेका हुन्थे । युवाका लागि खानलाई होटेल फ्री, बाइक चढ्नलाई तेल फ्री, फोन गर्नलाई रिचार्ज फ्री, अनि लगाउनलाई टोपी, भेस्ट फ्री—एक हिसाबलले पार्टीहरू चुनावको प्रतिस्पर्धामा होइन, मनी र मसलको प्रतिस्पर्धामा उत्रिएको प्रतीत हुन्थ्यो । साम, दाम, दण्ड, भेदको कडा प्रतिस्पर्धा चलिरहेको मैदानमा हामी भने भेडाहरूको बथानमा बकुल्लो जस्तै बनेर उत्रिएका थियौँ अर्थात् हामीसँग प्रतिस्पर्धा गर्नका लागि न मनी (पैसा) थियो न मसल (मुढेबल) नै थियो, थियो त केवल हृदयमा आस्थाको धड्कन र आँखामा विचारको झिल्को । यही आस्थाको धड्कन र विचारको झिल्को बोकेर हामीले मुसिकोट नगरपालिकाको चुनावमा भाग लिएका थियौँ । वास्तवमा अरूले चुनाव लडिरहेका थिए तर हामीले भाग लिइरहेका थियौं । अरू भोट सङ्कलनको प्रतिस्पर्धामा थिए । हामी आफ्नो आस्था र विश्वासको प्रचारमा थियौँ ।
यसरी गाउँघर दुल्दै गर्दा मुसिकोटका मान्छेहरूले हामीसँग भनेका केही प्रतिनिधिमुलक कुरा यस्ता थिए :
“पार्टी त राम्रो हो तर सङ्ख्या बढ्न सकेन ।”
“गिलासमा भोट दिन त मन छ तर के गर्ने ? मेरो एक भोटले के पो हुन्छ र ? अहिले यो पार्टीको पक्षमा वातावरण छैन । वातावरण बन्यो भने लाग्ने विचार गरेको छु ।”
“हामीलाई कतिसम्म आर्थिक हिसाब मिलाउन सक्नुहुन्छ ? हामीले १५ देखि २० भोटसम्म ग्यारेन्टी खसाल्न सक्छौँ ।”
“खालि एकदुई जना हिडेर पनि चुनाव प्रचार हुन्छ र ? अघिपछि मान्छे लगाउनुपर्छ । गाडी घुइँकाउनुपर्छ । खानपिन, दायाबाया सब गर्नुपर्छ । दुईचार लाख खर्च नगर्नेले के चुनाव लड्नु ?”
“तपाईहरुलाई भोट त दिन मन छ तर के गर्ने दिएर पनि तपाईंहरूले जित्ने होइन ।”
जनस्तरबाट उठेका यी विचारबाट हामी ढुक्क थियौँ कि हामी अहिले नै भोट पाउनेवाला छैनौँ । फेरि पनि भोट त तिनै मनी र मसल प्रदर्शन गर्ने पार्टी र मान्छेले नै पाउनेवाला छन् किनकि जनताका यी विचारमा निम्न पुँजीवादी चिन्तन गिजोलिएको छ । उनीहरू अवसरवादद्वारा प्रभावित छन् । उनीहरू अझै पनि झुटा आश्वासनमा नै मदमत्त भई लट्ठिरहेको अवस्था छ । यो दलदलबाट जनता उन्मुक्त नबनुन्जेल आस्था र विचारको आधारमा मात्रै हामीले भोट पाउने कुरा दिवासपना जस्तै हो भन्ने कुरामा हामी स्पष्ट थियौँ ।
अन्ततः हामीले जे सोचेका थियौँ, त्यस्तै भयो । मुसिकोटे जनताको भोट हामीले पाएनौँ । हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाले पाएन । भोट उनै मनी र मसलवाला पार्टी र मान्छेले पाए ।
जे होस्, २०७९ वैशाख ३० गतेका दिन निर्वाचन सम्पन्न भयो । केही दिनमै मुसिकोट नगरपालिकाको मत परिणाम पनि बाहिर आयो । २०७४ सालको निर्वाचनमा मुसिकोट नगरपालिकाबाट राष्ट्रिय जनमोर्चाले पाँच भोट प्राप्त गरेको थियो र अहिले सार्वजनिक भएको मत परिणाममा पनि त्यही पाँच भोट दोहोरियो । यसपटक पनि मुसिकोटे जनताले राष्ट्रिय जनमोर्चालाई चोट दियो । पिर दियो । तैपनि यसमा राष्ट्रिय जनमोर्चाले गुनासो गर्ने कुनै कारण छैन किनकि जनताको चोटमा गिलास चिह्नको झन्डालाई माथि उठाउने भव्य तागत छिपेको हामीले महसुस गरिरहेका छौँ । जनताको मनभित्र राष्ट्रिय जनमोर्चाप्रतिको असीम ममता लुकेर रहेको हामीले प्रष्टै देखिरहेका छौँ ।
हामी आशा गरिरहेका छौँ, कुनै दिन जनताभित्र लुकेको त्यो भव्य तागत हाम्रो अगाडि अवश्य पनि प्रकट हुने छ । जनताको हृदयभित्र लुकेर रहेको हामीप्रतिको ममता एक दिन अवश्य पनि दुनियाँले देख्न पाउने छ । हामीमा यो अटल विश्वास छ कि सधैँभरि मुसिकोटे जनता यसरी अफिमको नशामा लट्ठिए झै लट््ठिएर बस्ने छैन । एक दिन अवश्य पनि मुसिकोटे जनता निद्राबाट ब्युँझिने छ । न्याय समानता र क्रान्तिको बिगुल बजाउँदै राष्ट्रिय जनमोर्चाको झन्डालाई माथि उठाउने छ । त्यो दिन हरेक कोणबाट राष्ट्रिय जनमोर्चा सशक्त हुने छ । अनि, मेरो यो अचम्मलाग्दो मृगतृष्णाले सार्थकता पाउने छ ।