काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को पदाधिकारी कार्यालय १४० दिनपछि जेठ ३० गते आइतबारदेखि सञ्चालनमा आएको छ ।
त्रिविका उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा लगाइएको ताला आइतबारदेखि पूर्ण रूपमा खुलाएपछि सञ्चालनमा आएको हो ।
त्रिविका रजिस्ट्रार प्राडा पेशल दाहालले आइतबारदेखि नियमित कार्यालय सुरु भएको बताउनुभयो । ‘ताल्चा पूर्ण रूपमा हिजोदेखि खुलेपछि हामी हिजो पनि आएको थियौँ’ उहाँले भन्नुभयो– ‘अबदेखि हामी नियमित कार्यालयमा आउँछौँ ।’
तालाबन्दीका कारण त्रिविका पदाधिकरी कार्यालय आएर काम गर्न सकेका थिइनन् । उहाँले झन्डै पाँच महिनादेखि रोकिएका कामलाई आइतबारदेखि नै अगाडि बढाइने बताउनुभयो । नेपाल विद्यार्थी सङ्घले यही जेठ २७ गते र गत शुक्रबार आंशिक शिक्षकहरूले जेठ २९ गते ताला खोेलेका थिए । प्रतिनिधि सभाको बैठकमा पनि लामो समयदेखि लगाइएको ताला सांसदले खुलाउन माग गरेका थिए ।
त्यस्तै, अनेरास्ववियुले यही जेठ २५ गते विज्ञप्ति निकाल्दै तीन दिनभित्र त्रिविमा लगाइएको ताला खोल्न आग्रह गरेको थियो । त्रिविका उपकुलपति, रजिस्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा नेविङ्घले गत माघ ७ गतेदेखि र आंशिक शिक्षकहरूले माघ २० गतेदेखि तालाबन्दी गरेका छन् ।

