काठमाडौँ । गृहमन्त्री एवम् बिपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिका अध्यक्ष बालकृष्ण खाणले मनसुनजन्य बिपत्का घटनाबाट जनधनको क्षति न्यून गर्न पूर्वतयारी तथा प्रतिकार्यमा गम्भीर भएर लाग्न विषयगत निकाय एवम् सुरक्षा अधिकारीहरूलाई निर्देशन दिनुभएको छ ।
बिपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको जेठ ३० गते बसेको तेह्रौँ बैठकमा मन्त्री खाणले यो वर्षका लागि भएका तयारी, जनशक्तिको अवस्था एवम् साधनस्रोतको विवरणसहितको विस्तृत कार्ययोजना आजै लिखित रूपमा मन्त्रालयमा पेस गर्न पनि निर्देशन दिनुभयो ।
बैठकमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०७९ लगायतका एजेन्डामा विस्तृत छलफल भएको छ । बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले प्रतिकार्यमा जिम्मेवार निकायको आपत्कालीन सम्पर्क नम्बर सर्वसाधरणसम्म पुग्ने गरी सञ्चार गर्न सुझाव दिनुभयो ।
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एकीकृत विकासमा बिपत्सम्बन्धी विषयवस्तुलाई समावेश गरिनुपर्ने धारणा राख्नुभयो ।
मुख्यसचिव शङ्करदास बैरागीले उद्धार र राहतमा तलदेखि माथिसम्मका निकायबिच समन्वय तथा रणनीतिक स्थानमा पर्याप्त मात्रामा उपकरणको व्यवस्था गर्न आवश्यक रहेकामा जोड दिनुभयो ।
बैठकमा विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी एवम् नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिले बिपत् पूर्वतयारीको अवस्था तथा प्रतिकार्यको योजनाबारे जानकारी गराउनुभएको थियो ।