हैदरावाद । रेलमा यात्राका दौरान निधन भएका एक नेपालीको दाहसंस्कार मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले गरेको छ ।
काभ्रेपलाञ्चोकको पतौनी नगरपालिका–३ भेंगेरी घर भएका वर्ष ४२ का यत्न बहादुर थापा (उत्तम) को रेलमै मृत्यु भएको हो ।
उनी गोरखपुरबाट रेल यात्रा हुँदै बेंगलोर रोजगारीका लागि श्रीमतीसहित हिँडेका थिए । थापालाई महाराष्ट्रको चन्द्रपुर पुग्दा हार्टअटेक भएको थियो ।
यत्न बहादुर ३८ वर्षीया श्रीमती भीमा मैनाली (गीता थापा) सहित रोजगारीको सिलसिलामा दक्षिण भारतको बेंगलोर जानको लागि ७ जुन २०२२ कादिन ट्रेन नं १५०२३ गोरखपुर यसवंतपुर एक्स्प्रेसमा यात्रा शुरु गरेका थिए । यात्राकै दौरानमा एकातिर प्रचण्ड गर्मी, अर्को तीर आफ्नो सीट निश्चित नहुँदा थापा दम्पत्तीले अत्यन्तै सास्ती खेप्नु परिरहेको थियो ।
दोश्रो दिन तथा ८ जुन २०२२ का दिन महाराष्ट्र राज्यको चन्द्रपुर आईपुग्दा थापा एक्कासी छटपटी भएर ट्रेनको मूल ढोकानेर बेहोस भएर ढल्लेको मृतककी श्रीमती गिताले बताइन् ।
ढलेपछि अचेत भएको र ट्रेनमा यात्रा गरिरहेका अन्य यात्रीहरुले समेत यत्न बहादुरलाई उठाउन र होसमा ल्याउन अनेक प्रयास गर्दा पनि होसमा नफर्किएपछि तत्काल रेल्वे पोलिस फोर्सलाई खबर गरी उनलाई नजिकै अर्को स्टेशन बल्लरशाहमा उतारेर त्यहाँ अबस्थित बल्लरशाह सरकारी हास्पिटल पुर्याउँदा डाक्टरले मृत घोषणा गरेको रेल्बे पुलिस फोर्स (आरपीएफ) ले जानकारी दिएका छ ।
नेपालीको रेलमा मृत्यु भएको र उनको साथमा श्रीमतीबाहेक अरु कोही नभएको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको केन्द्रीय कार्यालय र हैदरावादमा मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष प्रेम पौडेललाई जानकारी गराइएको थियो ।
मूल प्रवाहको केन्द्रीय कार्यालय, मध्य दक्षिण क्षेत्रीय समितिसँग समन्वय गरी उक्त घटनाको छानबिन गरी मृत यत्न बहादुर थापाको दाहसंस्कार र श्रीमती भीमालाई आवश्यक सहयोग गर्नका लागि मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष प्रेम पौडेललाई हैदराबादबाट तत्काल बल्लरशाह खटाइएको थियो ।
सोही निर्णय अनुसार ९ जुन २०२२ को मध्यन्ह प्रेम पौडेल बलरशाह पुगेर (आरपीएफ) थानामा सबै प्रक्रिया पुरागरी आवश्यक कागज पत्रसहित हस्पिटल पुगी उनको पोष्टमार्टम गराई मृतककी पत्नी र आफन्तहरुको सल्लाह अनुसार समाजकको रोहबर र सहयोगमा ९ जुन २०२२ कै दिन यत्न बहादुर थापाको दाहसंस्कार गरिएको छ ।
उनको दाहसंस्कारमा मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष प्रेम पौडेलसहित मध्य दक्षिण क्षेत्रीय उपाध्यक्ष रूपलाल जीएम, मध्य दक्षिण क्षेत्रीय सल्लाहकार प्रेम बहादुर थापा र बल्लरशाहमा रहने नेपालीहरुको उपस्थिति रहेको थियो । घटनाको प्रकृति र डाक्टरको प्रारम्भिक रिपोर्टअनुसार उनको हर्टअट्याकबाट मृत्यु भएको आशंका गरिएको छ ।
थापाको पारिवारिक आर्थिक अवस्था अत्यन्त कमजोर भएको, दैनिकी मजदूरी गरेर जीविका चलाउने परिवार भएकोले नेपाल घरसम्म जानका लागि आवस्यक खर्च समेत भीमा मैनालीसँग नरहेको जानकारी पछि केन्द्रीय उपाध्यक्ष प्रेम पौडेलले नमस्ते गुल्मी टूर एण्ड ट्रावल्सका सञ्चालक प्रेम केसी र कूल बहादुर रेशमीसँग समन्वय गरी हैदरावाददेखि उनको घर काभ्रेपलाञ्चोकसम्म सुरक्षित रुपमा यही १२ जुनको पठाउने व्यवस्था मिलाइएको मध्य दक्षिण क्षेत्रीय समितिले जनाएको छ ।