काठमाडौं । प्रतिनिधिसभामा राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले देशका ठूला र महत्वपूर्ण जलविद्युत आयोजना विदेशीलाई सुम्पने गरेको भन्दै असन्तोष जनाउनुभएको छ ।
शुक्रबार प्रतिनिधि सभामा विभिन्न मन्त्रालयको विनियोजन बजेटमाथि छलफलमा भाग लिँदै पौडेलले सबै ठूला जलविदुत आयोजना विदेशीलाई सुम्पने भए उर्जा मन्त्रालयको काम के हो भनी प्रश्न गर्नुभयो ।
‘राष्ट्रिय महत्वका जलविद्युत आयोजना खाली विदेशीलाई सुम्पने काम भइरेको छ । उर्जा मन्त्रालयले गर्ने काम के हो ?’ पौडेलले प्रश्न गर्दै भन्नुभयो, ‘माथिल्लो कर्णाली, अरुण तेस्रो विदेशी कम्पनीलाई दिइसकेको अवस्था छ । पश्चिम सेती पनि भारतीय कम्पनीलाई जिम्मा दिने तयारी भइरहेको छ । जलस्रोतका ठूला परियोजना विदेशी कम्पनीलाई सुम्पने, अनि यो (उर्जा) मन्त्रालयले गर्ने के हो, सरकारले गर्ने के हो ?’
उहाँले सत्तामा टिक्नको लागि र मन्त्री बनिरहनका लागि राष्ट्रिय गौरवका आयोजना विदेशीलाई दिने गरेको आरोप पनि लगाउनुभयो । जनतालाई सुविधा दिनेतर्फ सरकारले पटक्कै ध्यान नदिएको उहाँको भनाई छ ।
उहाँले अहिले पनि सिक्टा सिंचाई, रानी जमरा कुलरिया, भेरी–बबई डाइमर्सन आयोजना, सुनकोशी–मरिन डाइभर्सन आयोजना जस्ता राष्ट्रिय गौरवका आयोजना भएपनि समयमै सम्पन्न गर्नेतर्फ अगाडि नबढेको उहाँले भन्नुभयो ।
उहाँले सबै आयोजना मेलम्ची खानेपानी आयोजनाको बाटोमा गएको, झोलामा खोला राख्ने प्रवृति बढेको बताउनुभयो ।
यस्तै, उहाँले गृहमन्त्रालयले शान्तिसुरक्षाको काम प्रभावकारी बनाउन नसकेको हत्या, बलात्कार जस्ता घटना दैनिक बढिरहेको र प्रभावकारी अनुसन्धान हुन नसकेको बताउनुभयो । साथै, शान्तिसुरक्षाको जिम्मा लिएका व्यक्तिहरुबाट भ्रष्टाचार र अनियमितताका घटना दैनिक हुने गरेके बताउनुभयो ।
उहाँले विभिन्न मन्त्रालयका लागि विनियोजित बजेटमाथि खर्च कटौतीको प्रस्ताव पनि राख्नुभयो ।