काठमाडौं । थाइल्याण्डसँग पराजित भएसँगै नेपालको टी–२० यू–१९ विश्वकप खेल्ने सपना अपुरो रहेको छ ।
मंगलबार मलेसियामा भएको आईसीसी यू–१९ महिला टि–२० विश्वकप एसिया छनोटमा थाइल्यान्डसँग ४९ रनले पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना सकिएको हो ।
थाइल्याण्डले दिएको ९० रनको सामान्य लक्ष्य पछ्याएको नेपाल १९.५ ओभरमा ४० रनमा अल आउट भयो। नेपालका लागि सृष्टि जैशीले बनाएको ७ रन नै सर्वाधिक रह्यो। साना प्रविनले ६ रन थपिन् ।
त्यसअघि युकेएम एसडी क्रिकेट ओभल बांगीमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८९ रनको योगफल तयार पारेको थियो।
थाइल्याण्डको लागि थिपाचा पुथावाङले २०, बनथिडा लिपाथ्थनाले १९ र सुवानान कियाटोले १६ रनको योगदान दिए।
नेपालका लागि मनिषा उपाध्यय र कप्तान कृतिका मरासिनीले समान २ विकेट लिए। स्नेहा महराले १ विकेट झारिन्।
पहिलो खेलमा कतारलाई ७९ रनले हराएको नेपालले दोस्रो खेलमा युएईसँग १० विकेटले पराजित भएको थियो। तेस्रो खेलमा भने नेपालले भुटानलाई ४ विकेटले हराएको थियो।
नेपालले विहीबार आफ्नो अन्तिम खेल मलेसियासँग खेल्नेछ।