काठमाडौँ । बर्दियामा प्रहरीको गोली लागेर एक युवतीको मृत्यु भएको छ । मानिसलाई आक्रमण गर्ने बाघ नियन्त्रणको माग गर्दै सडकमा उत्रिएका स्थानीयमाथि प्रहरीले चलाउँदा मधुवन नगरपालिका २ स्थित आरोली बजारमा एक युवतीको मृत्यु भएको छ।
घटनामा मधुवन नगरपालिका २ की करिब २० वर्षीया नविना थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ । उनी १२ कक्षाकी विद्यार्थी भएको स्थानीयले बताएका छन्।
बर्दियाको खाता जैविक मार्ग क्षेत्रमा बाघसहित वन्यजन्तुको आक्रमण बढेको भन्दै सोमबार दिउँसो स्थानीयले गुलरिया–राजापुर सडक खण्डको ओराली बजारमा सडक बन्द गरेका थिए। स्थानीयले अवरुद्ध गरेको सडक खुलाउन परिचालन भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थानीयमाथि बल प्रयाग गर्दा घटना भएको हो।
स्थानीयको ढुंगा प्रहारबाट १८ जना प्रहरी घाइते भएका प्रहरीले जनाएको छ । घाइतेमध्ये प्रहरी हवल्दार पार्वता खड्काको अवस्था गम्भीर छ। उनलाई उपचारको लागि नेपालगञ्ज लगिएको छ। प्रदर्शनमा उत्रिएका स्थानीय दुई जना घाइते भएका छन्। उनीहरुलाई पनि गोली लागेको स्थानीयले बताएका छन्।
सोमबार बिहान मधुवन नगरपालिका–२ छोट्की सोनाहाका ४१ वर्षीया अस्मिता थारुलाई चितुवाले आक्रमण गरी घाइते बनाएको थियो। उनको हाल नेपालगञ्जमा उपचार भइरहेको छ।
अस्मितालाई चितुवाले आक्रमण गरेपछि स्थानीयले बिहान साढे ११ बजेदेखि सुरक्षाको माग गर्दै हुलाकी राजमार्गमा पर्ने आरोली बजारमा सडक अवरुद्ध गरेका थिए। अवरुद्ध सडक खुलाउन पुगेको प्रहरीले बल प्रयोग गर्दा घटना भएको हो।
मधुवन २ का वडाध्यक्ष आशाराम चौधरीका अनुसार १४ दिनमा दुई जनामाथि बाघले आक्रमण गरिसकेको छ। प्रहरी र निकुञ्जको टोलीले हिंस्रक बाघको खोजी गरेको छ ।