काठमाडौं । नेकपा (एमाले) का नेता डा. भीम रावलले पालैपाले ६ महिने मन्त्री हुन दल र नेताहरु निर्वस्त्र मैदानमा देखिएको टिप्पणी गर्नुभएको छ ।
माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले मन्त्री परिवर्तन गरेकोप्रति व्यंग्य गर्दै उहाँले यस्तो प्रवृति ‘देश, जनता र लोकतन्त्रको लागि अत्यन्त घातक हो’ भन्नुभएको छ ।
एकीकृत समाजवादीले आफ्ना चार जना मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाएको छ ।
अमुक व्यक्तिहरूलाई पालैपालो ६ महिने मन्त्री बनाउन र विपरीत सिद्धान्तका दलसंग पद र सत्ताको लागि गठबन्धन गरी स्वार्थसाधन गर्न नेपालका कतिपय दल र नेता निरवस्त्र मैदानमा देखिनु देश, जनता र लोकतन्त्रको लागि अत्यन्त घातक हो। देश र जनताको निस्वार्थ सेवाको राजनीति व्यवहारमा देखिनु पर्छ।
— Bhim Rawal, PhD (@BhimRawal179) June 6, 2022
सो पार्टीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा, सहरी विकास मन्त्री रामकुमारी झाँकी, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आले र श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएको हो ।
त्यो स्थानमा समाजवादीले जीवनराम श्रेष्ठलाई संस्कृति तथा पर्यटन मन्त्री, मेटमणि चौधरीलाई शहरी विकास मन्त्री, शेरबहादुर कुँवरलाई श्रम मन्त्री बनाएको छ ।
कानुनमन्त्री रहेका गोविन्द बन्दीलाई सोही जिम्मेवारी दिएको छ भने स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई सोही मन्त्रालयको जिम्मेवारी दिइएको छ । हीरा केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाएको छ ।