बुटवल । भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा यात्रुबाहक बस खस्दा नौ जनाको मृत्यु भएको छ । दुर्घटनामा २५ जना घाइते भएका छन्, जसमध्ये १६ जनाको अवस्था गम्भीर छ।
ट्राफिक प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नंको बस आज बिहान करिब पौने ५ बजे रोहिणी पुलबाट खोलामा खसेको हो ।
चौतीस जना यात्रु सवार बस खोलामा खस्दा घाइते भएकाहरूको भैरहवास्थित मेडिकल कलेज र भीम अस्पताल भैरहवामा मृत्यु भएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो ।
ज्यान गुमाउने ९ जनामध्ये चार जनाको सनाखत भएको छ। दुर्घटनामा ज्यान गुमाउने रुपन्देही ओमसतिया गाउँपालिका ४ का ६५ वर्षीय राजेन्द्र पाण्डे, रुपन्देहीकै तिलोत्तमा नगरपालिका २ योगिकुटी ५६ वर्षीय विष्णु पौडेल, रौतहट चन्द्रनिगाहापुरका २० वर्षीय दिनेश दास र बुटवल ११ कालिकानगरका ४८ वर्षीय कृष्णप्रसाद बस्यालको सनाखत भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकामध्ये ५ जनाको भैरहवास्थित मेडिकल कलेज र ४ जनाको भिम अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
रोहिणी पुलको रेलिङ भाँच्दै बस खोलामा खसेर दुर्घटना भएको हो।दुर्घटनाग्रस्त बस पश्चिम नेपाल बस व्यवसायी प्राली अन्तर्गतको हो।
अहिले बुटवल–नारायणगढ सडक विस्तारको क्रममा रहेको छ। राजमार्गको सडक खाल्डाखुल्डी भएकाले पूर्वबाट भैरहवा आउने कतिपय गाडी नवलपरासीको भुमहीबाट परासी भएर आउने गर्छन्।