धनगढी । सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेमा कोरोना संक्रमण देखिन थालेको छ । यहाँ थप एक जनामा कोरोना संक्रमण देखापरेको हो । शुक्रबार २१६ जनामा परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार गौरीफन्टा नाकाबाट स्वदेश आइरहेका कैलालीका एक व्यक्तिमा सीमा नाकामै एन्टीजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको हो । जेठ ३ गतेपछि १८ दिनपछि यस प्रदेशमा अर्कोमा कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।
कोरोना संक्रमण बढेपछि भारतसँग सीमा जोडिएका नाकाहरुमा सतर्कता अपनाइएको छ । सतर्कताअनुरुप सीमा नाकाहरुमा हाल पनि परीक्षण कार्य जारीे छ । यस प्रदेशका गड्डाचौकी, गौरीफन्टा, झुलाघाट र पुलघाट नाकामा कोरोना परीक्षण कार्य जारी रहेको हो ।
सीमानाकामा हेल्थ डेस्क स्थापना गरेर भारतबाट भित्रिने सबैमा एन्टीजेन विधिमार्फत कोरोना परीक्षण भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । भारतमा अझै पनि सङ्क्रमित भेटिरहेका र त्यसबाट नेपालमा पनि जोखिम बढ्नसक्ने भएकाले सीमामै परीक्षण जारी राखिएको उहाँको भनाइ थियो ।
यसैबीच सुदूरपश्चिममा हालसम्म पाँच लाख ४१ हजार ९०७ जनाको कोरोना परीक्षण गरिएकामा ५९ हजार ६४७ जनामा संक्रमण देखिएकामा हालसम्म ६३३ जनाको ज्यान गइसकेको जनाइएको छ ।
१६ जनामा कोरोना संक्रमण
कोरोना भाइरसको संक्रमण १६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार दुई हजार १८४ जनामा कोरोना परीक्षण गर्दा १६ जनामा मात्र संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ११० रहेको छ । विगत २४ घण्टामा नौजना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६७ हजार १२८ पुगेको छ । निको हुने दर ९८।८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
आज संक्रमणणबाट कसैको पनि निधन भएको छैन । शून्य सङ्क्रमित हुने ३७ जिल्ला पुगेका छन् । नेपालमा सङ्क्रमण दर १७.१ प्रतिशत छ । नेपालमा प्रतिदश लाखमा ३९३.४ को निधन भएको छ । आज एक लाख ८४ हजार ५२१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म होम आइसोलेशनमा ११० जना रहेका छन् ।