गोरखा । जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले गठबन्धनमा विचार गर्नुपर्ने बेला आएको बताउनुभएको छ ।
शनिबार गोरखामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले विचार नमिल्ने शक्तिबीच गठबन्धन भनेर अघि बढ्दा गतिहिनता र अस्तव्यस्तता आएकाले अब पुनःविचार गर्नुपर्ने बेला आएको बताउनुभयो ।
‘वैचारिकरुपमा सापेक्ष ढङ्गले एकरुपमा भएका वा निकट भएका शक्ति बीचमा गठबन्धन तालमेल भयो भने दिगो हुन्छ, नीति कार्यक्रम लागू गर्न पनि सहज हुन्छ’, अध्यक्ष डा भट्टराईले भन्नुभयो, ‘जुन शक्तिका बीचमा आधारभूत नीति नै मिल्दैन, आर्थिक नीति, विदेश नीति, देशको लोकतान्त्रिक ढाँचासम्बन्धी नीति नै मिल्दैन त्यस्ता शक्ति एकै ठाउँमा बस्यो भने त्यसले क्षणिक चुनावी लाभ हुन्छ, सरकार बन्छ तर त्यसले काम गर्न सक्दैन ।’
गठबन्धनमा इमान्दारिता नभएका कारण निर्वाचनमा आफ्नो पार्टीले अपेक्षाकृत नतिजा ल्याउन नसकेको भट्टराईको भनाई छ । निर्वाचनमा पराजयको मुख्य कारण पार्टीको आन्तरिक कारण भए पनि अर्को कारण गठबन्धनमा नै भएको बताउनुभयो ।
‘विकास र विनाशको मुख्य कुरा आन्तरिक हुन्छ भन्ने सिद्धान्तमा म विश्वास गर्छु, त्यसमा केही हाम्रा सीमा पनि रहे त्यो प्रमुख कारण हो’, उहाँले भन्नुभयो, ‘जुन ढङ्गले गठबन्धन गरियो गठबन्धनमा पनि इमान्दारिता भएन ।’
डा भट्टराईले गठबन्धनको धर्मअनुसार एकपटक निर्णय गरेपछि त्यसलाई पूर्णरुपमा कार्यान्वयन गर्नुपर्नेमा त्यसो हुन नसक्दा समस्या आएको बताउनुभयो ।
गठबन्धनका दलको लोकतान्त्रिक मूल्यमान्यता र नैतिक आचारणविपरितको कार्यले गठबन्धन गरेर पनि पार्टीले अपेक्षित नतिजा ल्याउन नसकेको आरोप लगाउनुभयो । उहाँले नेपालको संविधानले नै मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरेकाले देशमा चुनावी गठबन्धन अझै पनि आवश्यक रहेको भने स्पष्ट पार्नुभयो ।