महेन्द्रनगर । अखिल नेपाल किसान महासंघ (अप्फा), कञ्चनपुरले कञ्चनपुरमा मल कारखाना स्थापना गर्न सरकारसँग माग गरेको छ ।
महासंघले शुक्रबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै मल कारखाना स्थापना माग गरेको हो ।
महासंघको प्रदेश संयोजक लालबहादुर कुँवरको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सरकारलाई नौ बुँदे ज्ञापन पत्र बुझाउँदै किसानलाई समयमै मल, बीउको व्यवस्था गर्न, सिंचाइको उचित व्यवस्था मिलाउन, भूमिहिन किसानलाई बसोबासको व्यवस्था मिलाउन, कृषि उत्पादनको बजारीकरणको व्यवस्था मिलाउन माग गरेको छ ।
यस्तै, महासंघले किसानलाई सहुलियतपूर्ण कृषि ऋणलगायतका माग पनि अघि सारेको छ । कार्यक्रममा महासंघका केन्द्रीय सदस्य गोविन्द बोहरा, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष रामबहादुर कार्की, नेकपा (मसाल) का जिल्ला प्रवक्ता लक्ष्मीदत्त बडूलगायत नेताहरुको सहभागिता थियो ।

