काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले काठमाडौंको फोहोर विसर्जन गर्ने सिसडोलमा केमिकल हालेर दुर्गन्ध हटाउने प्रतिवद्धता जनाउनुभएको छ ।
शुक्रबार बिहान उपमेयर सुनिता डंगोलसँगै सिसडोल पुगेका शाहले प्रभावित क्षेत्रका बासिन्दाको गुनासो सुन्नुभएको थियो ।
स्थानीयले काठमाडौंका ५० औँ लाख मानिसले फालेको फोहोर र दुर्गन्धको सिकार आफूहरु हुनुपरेको गुनासो गरेका थिए । त्यसपछि मेयर शाहले तत्कालका लागि केमिकल हालेर दुर्गन्ध नआउने बनाउने र त्यसको लागि एक हप्ता लाग्ने बताउनुभयो ।
‘एक हप्तामा गन्ध नआउने बनाउन सकिन्छ । हाल्नलाई यहाँ केमिकल आउनुपर्यो है फेरि । केमिकल आउन ट्रक रोक्न भएन है’ मेयर शाहको भनाई थियो ।
मेयर शाहले दीर्घकालिन रुपमा फोहोरबाट मल बनाउने र ड्रिल गरेर ग्यास निकाल्ने आफ्नो योजना रहेको उल्लेख गर्दै यी सबै काम गर्न तीन–चार महिना लाग्नसक्ने बताउनुभयो ।
स्थानीय जनताले मानव र फोहोर एकै ठाउँमा बस्न नसक्ने भएकाले फोहोर वा स्थानीयको उचित व्यवस्थापन हुनुपर्ने माग राखेका थिए । आफूहरुले स्वस्थ्य वातावरणमा बस्न पाउनुपर्यो भनेर माग गर्दा प्रहरी प्रशासन लगाएर दमन गरिएको उनीहरुको गुनासो थियो ।
काठमाडौंको फोहोर विसर्जन गर्ने स्थान सिसडोलका बासिन्दाले विभिन्न माग राखी अवरोध गर्दा फोहोर विसर्जनमा समस्या पर्ने गरेको छ ।