काठमाडौं । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको स्वास्थ्य अवस्था सामान्य रहेको पार्टी प्रवक्ता रामप्रकाश पुरीले जानकारी दिनुभएको छ । शुक्रबार साँझ बुटवलमा पैदल हिँड्दै गर्दा सडक पेटीमा एक्कासी लडेका महामन्त्री सिंहको सबै रिपोर्ट सामान्य रहेको प्रवक्ता पुरीले बताउनुभएको छ ।
‘केही सञ्चार माध्यममा यसबारेमा खबर आएपछि देश विदेशबाट धेरै जनाले उहाँको स्वास्थ्य अवस्थाबारे चासो राख्नुभएको छ’ प्रवक्ता पुरीले भन्नुभयो, ‘महामन्त्री सिंहको अवस्था सामान्य हो, उहाँ आज (शनिबार) पनि पार्टी काममै ब्यस्त हुनुहुन्छ ।’
यस्तै, बुटवलमै रहनुभएका महामन्त्री सिंहकी पत्नी एवं राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले पनि सिंहको सबै स्वास्थ्य रिपोर्ट नर्मल भएको बताउनुभयो । ‘सडक पेटीमा केही चिजमा अल्झेर लड्नुभएको हो । निधारमा अतिकति चोटबाहेक अरु केही भएको होइन’ पौडेलले भन्नुभयो ।
शुक्रबार साँझ सडक सडक पेटीमा लडेपछि महामन्त्री सिंहलाई बुटवलको कालिकानगरस्थित चौराहा हस्पिटल लगिएको थियो । उहाँको सिटीस्क्यान लगायतका परीक्षण गरिएको थियो ।
यसैबीच नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले शनिबार एक वक्तव्य प्रकाशित गरी महामन्त्री सिंहको स्वास्थ्य अवस्था सामान्य रहेको र उहाँ पार्टी काममै ब्यस्त रहनुभएको जानकारी दिनुभएको छ ।
