काठमाडौं । नेपाल—इजरायल सम्बन्ध ६२ औं वर्षमा नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६२ वर्ष पुरा भएको छ ।
बुधबार विपी संग्रहालय, सुन्दरीजलमा एक कार्यक्रम आयोजना गरी सम्बन्धका विविध पक्षबारे चर्चा गरियो ।
दुई देशबीच सन् १९६० जुन १ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । तत्कालीन प्रधानमन्त्री विपी कोइराला र इजरायलका प्रथम प्रधानमन्त्री डेभिड बेन गुरिअनको पहलमा दुई एसियाली मुलुकबीच कूटनीतिक सम्बन्ध जोडिएको थियो ।
६२ औं वार्षिकोत्सवका अवसरमा आयोजित ‘विपी कोइराला र नेपाल—इजरायल सम्बन्ध’ विषयक अन्तरक्रियामा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले इजरायलसँग मिलेर द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्न चाहेको बताउनुभयो ।
कार्यक्रममा एमाले नेता तथा पूर्व परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले इजरायलको अखण्डताका पक्षमा नेपालले समर्थन गर्दै आएको बताउनुभयो ।
‘नेपालले सदैव इजरायलको स्वतन्त्रता र सावैभौमसत्ताका लागि समर्थन गर्दै आएको छ । इजरायलले नेपालबाट बहुपक्षीय मामिलामा सहयोग चाहेको छ’ उहाँले भन्नुभयो, ‘इजरायलसँगका संवेदनशील मामिलालाई नेपालले सकारात्मक रुपमा लिने गरेको छ । इजरायलसँग बहुपक्षीय मामिलामा अझ बढी सहकार्य गर्न चाहन्छ ।’
कार्यक्रममा नेपालका लागि इजरायलका राजदूत हनान गोदरले नेपाल र इजरायलबीको सम्बन्धका द्विपक्षीय र बहुपक्षीय आयाम रहेको बताउनुभयो । तर राजदूत गोदरले बहुपक्षीय मामिलामा नेपालबाट इजरायलले सहयोग नपाएकोप्रति असन्तुष्टि जनाउनुभयो ।
राजदूत गोदरले संयुक्त राष्ट्रसंघीय मञ्चहरुमा नेपालले इजरायलका विपक्षमा मतदान गर्ने गरेकोमा दुःख व्यक्त गर्दै राष्ट्रसंघीय मञ्चमा इजरायलका पक्षमा मतदान हुँदा नेपाल तटस्थ बसिदिए हुन्थ्यो भन्ने चाहना व्यक्त गर्नुभयो ।