नयाँ दिल्ली । भारतको गुजरातमा व्यक्ति हत्याको झुठा आरोपमा फसाइएका नेपाली बाबु छोरालाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले हिरासतमुक्त गरेको छ । कैलालीको लम्कि चुहा नगरपालिका वडा नं ३ घर भएका केशर बहादुर वरविजय र छोरा रुद्रलाई मूल प्रवाहले उद्धार गरेको हो ।
यस्तो थियो घटना
केशर बहादुर वरविजय राजकोट गुजरातमा प्रविन पटेल बिजनेसमेनको अफिसमा ९ वर्ष पहिला ५ वर्ष वाचमेन जागिर गरी नेपाल फर्किएका थिए । केही वर्ष घर बसि पुनः नोकरी गर्नु पर्ने बाध्यताका कारण फेव्रुअरीमा राजकोट पुगी पुरानै मालिकसँग सल्लाह गरि १५ फेव्रुअरी २०२२ का दिनदेखि पुरानै अफिसमा चौकिदारी गर्न लागेका थिए ।
काममा लागेको करिब ८० दिन पछि त्यो अफिसको रेखदेख गर्ने सुपरवाइजरले वाचमेनको कामको साथै सरसफाइ गर्ने व्यक्ति छुट्टीमा गएको बेला त्यो काम पनि गर लगाएका थिए । पैसा बढाएर दिएमा बिहान बेलुका मिलाएर सरसफाइको काम गर्ने केशरले प्रतिवद्धता गरेका थिए । तर सुपरवाइजरले छुट्टै पैसा नमिल्ने, दिउँसो नै त्यो काम पनि गर्नुपर्ने दबाव दिएका थिए ।
एउटै तलबमा दुईवटा काम गर्न नसक्ने भएकोले अर्को मान्छे खोज्न केशरबहादुरले सल्लाह दिए । त्यसपछि सुपरवाइजरले अर्को चौकिदार भर्ती गरे र केशरलाई ६ मे २०२२ दिन चौकिदारीबाट हटाए ।
केशरले नातामा भतिज पर्नेसँग कोठामा बसि नोकरी खोज्न लागेका थिए । नोकरी पनि चाँडै नमिलेको र आफ्नो छोरो होटेलमा काम गर्ने भएकोले खाना खर्चको समस्या त्यति नभएपछि बिस्तारै नोकरी खोज्न लागेका थिए ।
२४ मे २०२२ का दिन काम छोडेको अफिसमा सुपरवाइजरको कसैले हत्या गरेछ । विवादित भई काम छोडेको शंकाको आधारमा राजकोट क्राइमब्रान्चले केशर बहादुर वरविजय र छोरा रुद्र वरविजयलाई पाँच दिनदेखि हिरासतमा लिएर सोधपुछ गर्नुको साथै केशर बहादुरका नजिकका नाता पर्ने धेरैलाई कसैलाई एक दिन कसैलाई २ दिन गरि हिरासतमा लिएर सोधपुछ गरेको थियो । प्रहरीले अनावश्यक दुःख दिएपछि केशरबहादुरले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई गुहारे ।
सो बारेमा एकता समाज दमन नगर अध्यक्ष शेर बहादुर विकले क्षेत्रीय पश्चिम भारत क्षेत्रीय समितिमा जानकारी गराउनुभयो । २९ मई मे २०२२ का दिन पश्चिम भारत क्षेत्रीय समितिका अध्यक्ष वेद बहादुर कार्की र दमन नगर अध्यक्ष शेर बहादुर विक तथा केशर बहादुरका नातागोतासहित राजकोट पुगी राजकोट क्राइमब्रान्चसँग छलफल गरेको थियो ।
लामो छलफलपछि केशर बहादुर वरविजय र छोरा रुद्र वरविजय निर्दोष भएको भनी प्रहरीले हिरासतमुक्त गरेको छ । यस्तै, पुलिसले जफत गरेको मोबाइ र नेपाली नागरिकताको प्रमाणपत्र फिर्ता गरेको छ ।
सुपरवाइजरको हत्या सोही अफिसमा सरफाइ गर्ने करिब २० वर्षको राजस्थानी युवकले गरेको प्रहरी अनुसन्धनले देखाएको छ । प्रहरीले हत्यामा संलग्न व्यक्तिलाई राजस्थानबाट पक्राउ गरेको र उसले गुनाह कबुल गरेको प्रहरीले एकता समाजलाई जानकारी दिएको छ ।