काठमाडौं । काठमाडौँको मदन भण्डारी मेमोरियल कलेजबाट पिकनिक मनाउन गएका विद्यार्थी बोकेको बस दुर्घटनामा परेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडामा ऋद्धिसिद्धी यातायातको बा५ख ४२८६ नम्बरको बस दुर्घटना हुँदा २२ विद्यार्थी घाइते भएका छन्।
कलेजबाट घ्याम्पेडाँडामा पिकनिक मनाउन जाने क्रममा साँघुरो सडकबाट बस बाटोबाट खसेर दुर्घटना हुँदा दुई विद्यार्थी गम्भीर घाइते भएका छन् । अन्य २० घाइते खतरामुक्त रहेका महानगरीय प्रहरीबृत्त जगातीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।
पिकनिकका लागि ११ गाडीमा कलेजका विद्यार्थी र शिक्षक गएका उक्त बस पाइलट बाबा आश्रम नजिकै सडकबाट खसेर रुखमा अड्केपछि ठूलो दुर्घटनाबाट बचेको उनले बताए । दुर्घटनाका घाइतेमध्ये दुईको भक्तपुर अस्पतालमा र अरुको सल्लाघारीस्थित डा इवामुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।